Banner news

बिर्तामोडमा विवाह गर्ने मात्र हैन सम्बन्ध बिच्छेद गर्नेको संख्या पनि धेरै

बिर्तामोडमा विवाह गर्ने मात्र हैन सम्बन्ध बिच्छेद गर्नेको संख्या पनि धेरै


प्रदीप परियार

बिर्तामोड । बिर्तामोडको साई पार्टी प्यालेस विवाहका लागि असारको १७ देखि २० गतेसम्मका लागि बुक भइसकेको छ । बिर्तामोडमा धेरै विवाह हुने साई पार्टी प्यालेसमा असारको २७ गते पनि विवाहकै लागि बुक भइसकेको सञ्चालक विनम प्रसाई बताउछन् ।

सञ्चालक प्रसाईका अनुसार हरेक वर्ष लगनका दिन विवाहका लागि पार्टी प्यालेस भाडामा लाग्ने गरेको छ । बिर्तामोडमा दर्जनौं पार्टी प्यालेस भएपनि बेलाबेखत ठाउँ अभावले विभिन्न मन्दिर र कोटीहोम रोज्ने गरिएको छ । विवाह मन्दिरमा गरेपनि प्रीतिभोजका लागि पार्टी प्यालेस नै रोज्ने गरिएको प्रसाईको भनाई छ ।

एउटा गाउँ एउटा नगरमा कति मानिसहरुले वार्षिक रुपमा विवाह गर्छन् होला ? हामीले खासै अनुमान लगाएका हुदैनौ । आफन्त र साथीभाइको विवाहको निम्तो मान्न जान्छौं तर आफैंलाई याद हुदैन कि एक वर्षमा कति जनाको विवाहको निम्तो मान्न गइयो भनेर । झापाको बिर्तामोड नगरपालिकामा यस वर्ष मात्र ६३४ जोडी विवाह बन्धनमा बाँधिएका छन् । पछिल्लो पाँच वर्ष करिव ४ हजार जोडीले विवाह विवाह गरेका छन् भने ६०० जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।
पाँच वर्षको तथ्याङकमा सबैभन्दा धेरै विवाह २०७९ मा भएको छ । २०७९ मा ८९६ जोडीले विवाह गरेका थिए । सोही वर्ष ११६ जोडीले सम्बन्ध विच्छेद गराएको तथ्याङकमा उल्लेख छ । वितेको पाँच वर्षमा वडा नं. ५ मा मात्रै १६२ जोडी विवाह बन्धनमा बाँधिएका छन् ।

बिर्तामोड नगरपालिकाको पञ्जिकरण शाखाले उपलब्ध गराएको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को जेठ मसान्तसम्म ६३४ जोडीले विवाह गरेका छन् । सोही अवधिमा १३७ जोडी सम्बन्ध विच्छेद गरेर छुट्टिएका छन् ।

आर्थिक वर्ष ०७९-८० देखि ०८३ जेठ मसान्तसम्म ३ हजार ८ सय ३४ जोडी विवाह बन्धनमा बाँधिएका छन् । सो अवधिमा ५९० जोडीले सम्बन्ध विच्छेद गरेको विर्तामोड नगरपालिकाका पञ्जिकरण शाखाका कर्मचारी विकाश शिवाले जानकारी दिए । विर्तामोडमा अस्थायी बसोबास गर्नेहरु पनि ठूलो संख्यामा छन् । उनीहरुले यतै विवाह गरे पनि दर्ता गर्न नगरपालिकामा आँउदैनन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङक अनुसार वार्षिक ३.६ प्रतिशत जनसंख्या वृद्धि भइरहेको बिर्तामोडमा वर्षेनी विवाह गर्नेहरुको संख्या बढ्दो छ । विवाह गरेर नयाँ जीवन सुरुवात गर्नेहरुसँगै सम्बन्ध विच्छेद गरेर अलग हुनेहरुको संख्या पनि बढ्दै गइरहेको पाइन्छ ।

आर्थिक वर्ष २०७८-७९ मा ८५५ जोडी विवाह बन्धनमा बाधिए । सो वर्ष ८९ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । आर्थिक वर्ष २०७९-८० मा ८९६ जोडीले विवाह गरेका थिए भने ११६ जनाले सम्बन्ध विच्छेद गरेको विवरणमा उल्लेख छ ।
यस्तै, ०८०-८१ मा ७४२ जोडीले विवाह गरेका थिए भने ११४ जोडीले सम्बन्ध विच्छेद गरे । ०८१-८२ मा ७०७ जोडीले विवाह गरे भने १३४ जोडी सम्बन्ध विच्छेद गरेर छुट्टिए ।

आर्थिक वर्ष २०७८-७९ मा सबैभन्दा धेरै विवाह वडा नं. ५ मा १२२ जोडीले सम्बन्ध जोडेका थिए । १२२ जोडीले विवाह गर्दा सोही वडामा १७ जोडीले सम्बन्ध विच्छेद गरेका थिए । ०७८-७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार सबैभन्दा धेरै विवाह गर्ने र सम्बन्ध विच्छेद गर्ने वडामा बिर्तामोड नगरपालिकाको वडा नं. ५ रहेको छ । वडाहरुमध्ये सबैभन्दा धेरै जनसंख्या धेरै रहेको कारण विवाह गर्ने र सम्बन्ध विच्छेद गर्नेमा पनि अगाडि छ । विर्तामोड वडा नं. ५ को जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार २२ हजार ४ सय ८४ रहेको छ ।

कुल जनसंख्या १ लाख १६ हजार ९ सय ९२ जना रहेको बिर्तामोडमा ४८.३ प्रतिशत पुरुष रहेका छन् भने महिलाको संख्या ५१.७ प्रतिशत रहेको छ । २९ हजार ८ सय ५२ परिवार संख्या रहेको बिर्तामोड नगरपालिका पालिकामा १० वटा वडा रहेको बिर्तामोडमा वडा नं. ५ बजार क्षेत्रमा पर्दछ । बसाई सरेर आउनेहरुको संख्या पनि अन्य वडाहरुको तुलनामा धेरै छ । शिक्षा, स्वास्थ्य, खानेपानीको सुविधा र व्यापारका हिसावले पायक पर्ने वडामा सबैको आकर्षण भएको वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको भनाई छ । उनका अनुसार बसाई सरेर आउनेहरु सुविधा खोजेरै आउने हुँदा ५ नं. वडालाई रोजेको हुन सक्ने बताउँछन् ।

नयाँ दम्पतीको मन नमिलेपछि
अधिवक्ता तारामणि सापटोलाले सम्बन्ध विच्छेद हुनुका पछाडि धेरै किसिमका कारणहरु औल्याएका छन् । उनका अनुसार सन्बन्ध विच्छेदमा नयाँ जोडीमा र बालबच्चा भइसकेपछि फरक–फरक समस्या देखिएको छ ।
बालबच्चा भइसकेपछि हुने सम्बन्ध विच्छेदका घटनामा घरेलु हिंसा, कुटपिट र आर्थिक कारण देखिएको उनको भनाई छ । नयाँ जोडीहरु भने विवाह पश्चात मन नै नमिलेपछि सम्बन्ध विच्छेद गर्न थालेका छन् । उनी भन्छन्, विवाह लगत्तै २५–३० वर्ष उमेर समूहका जोडीले सम्बन्धमा एक आपसमा मन नमिलेर छुट्टिरहेका छन् । कुनै ठुलो कारण पाइदैन । ‘कुटपिट पछि छैन, आर्थिक रुपमा सम्पन्न पनि छ, तर सम्बन्ध राम्रो हुन सकेन’ भन्दै नयाँ जोडीहरु सम्बन्ध विच्छेद गरिरहेका छन्, उनले भने – सम्बन्ध विच्छेद हुनुमा वैदेशिक रोजगारी पनि समस्या बनिरहेको छ । लामो समय परिवारबाट टाढा रहेपछि माया ममता कम हुने र भेट भएपछि छुट्टिने गरेको पाइन्छ ।

पुरुष पितृसत्ताको धङधङीबाट बाहिर आउनुपर्छ – अनुसन्धाकर्ता
सम्बन्ध विच्छेद बढ्दै जानुमा आर्थिक र निर्णयअधिकार मुख्य कारण भएको अनुसन्धानकर्ता भनाई छ । मेची बहुमुखी क्याम्पस भद्रपुरका मानवशास्त्र विषयका अनुसन्धान विभाग प्रमुख सुशिल कुमार खनालले सम्बन्ध विच्छेद बढ्नुका धेरै कारणहरुमध्ये आर्थिक र निर्णय अधिकार मुख्य रहेको बताए । उनका अनुसार सम्बन्धमा आर्थिक पहिलो र निर्णय अधिकारमा सहभागिता दोस्रोे कारण भएको बताएका छन् ।

महिला पुरुषमा शिक्षामा समानता छ, उनले भने – त्यसले परिवारको निर्णय अधिकारमा महिलाहरुले हिस्सा खोजिरहेका छन् । पुरुषले आर्थिक सुविधा र निर्णय अधिकारमा महिलालाई जिम्मेवारी नदिँदा पनि सम्बन्धमा दरार आइरहेको छ । अनुसन्धान विभाग प्रमुख खनालले सम्बन्ध विच्छेद गर्नेहरुमा पुरुषभन्दा महिलाको संख्या बढि भएको जानकारी दिए । उनले भने, सम्पत्तिको अधिकारमा समेत महिलालाई अधिकार नहुँदा समस्या बढिरहेको छ ।
सम्बन्ध विच्छेद बढ्नुमा संयुक्त परिवारबाट एकल परिवार तर्फ समाज अघि बढ्नु, शहरीकरण र आधुनिक जीवन समेत भएको उल्लेख गरेका छन् । पितृसत्तात्मक धङधङीबाट पुरुष बाहिर आएर महिलाहरुलाई पनि निर्णय अधिकार दिनुपर्ने उनको सूझाव छ । आर्थिक समस्या समाधान गर्दै सम्पत्तिमा समेत अधिकार दिए सम्बन्ध विच्छेदका घटना विस्तारै कम हुन सक्ने उनको प्रतिक्रिया छ ।

बढ्दैछ बसाईसराई आउनेको संख्या
झापाको तीब्र विकसित शहर बिर्तामोडमा बसाईसराई आउनेहरुको संख्या वर्षेनी वृद्धि भइरहेका छ । वितेको आर्थिक वर्ष ०७८-७९ देखि चालु वर्षको जेठ मसान्तसम्म १३ हजार ९ सय १८ जना बसाईसरेर आएको तथ्याङक छ । बिर्तामोड नगरपालिकामा दर्ता भएको विवरण अनुसार ०७८-७९ मा ११४२ परिवारका ३७२९ सदस्य बिर्तामोड आएका थिए । ०७८ देखि चालु वर्षको जेठ मसान्तसम्म ५ हजार १ सय ५४ जना बसाईसरेर अन्यत्र गएका छन् । वितेको पाँच वर्षमा बसाईसराई सरेर जानेको संख्या घटाउँदा बिर्तामोड नगरपालिकामा ८ हजार ७ सय ६४ जनाको संख्या बढेको पाइन्छ ।
यस्तै, आर्थिक वर्ष ०७८ -७९ मा सबैभन्दा धेरै बसाई बिर्तामोड वडा नं. ५ मा आएका छन् । २२३ परिवार बसाई आउँदा ७९ परिवार अन्तत्र गएका छन् । बिर्तामोड नगरपालिकाको तथ्याङक अनुसार वडा नं. ९ मा सबैभन्दा कम बसाई आएका छन् । सबैभन्दा कम बसाई जानेमा पनि उक्त वर्ष वडा नं. ९ नै रहेको छ ।

नीति कार्यक्रममा बसाईसराईलाई ख्याल गरिएको छैन – उपप्रमुख संग्रौला
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सुगम भएका कारण बसाईसराई आउनेको संख्या बढिरहेको जानकारी दिए । उनले बिर्तामोडमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधाले बसाईसराई आउनेको संख्या वृद्धि भएको हो । उनले यहाँको विकास निर्माणमा बसाईसराईले समेत प्रभाव पार्ने बताए । उपप्रमुख संग्रौलाका अनुसार बसाईसराई आउनेहरु सडक पूर्वाधार, विजुली र पानीको सुविधा नभएको ठाउँमा पनि बस्न सक्छन् । उनीहरुलाई सामान्य आवतजावतका लागि ग्राभेल, विजुलीको व्यवस्थापन मिलाउनुपर्छ । बसाई सरेर आउनेहरुका कारण भौतिक पूर्वाधार निर्माण पनि बढ्ने उनको भनाई छ । उनले नीति तथा कार्यक्रम र बजेट निर्माणमा बसाईसराईलाई खासै ख्याल गर्न नसकिएको स्वीकार गरेका छन् । उनले भने, बसाईसराईलाई स्वभाविक प्रक्रिया भएको मान्यता राखेका कारण नीति कार्यक्रममा बसाईसराई प्राथमिकतामा नपरेको हो ।

अब मापदण्ड तयार गर्नुपर्छ – वडाध्यक्ष प्रसाई
बिर्तामोडमा सबैभन्दा धेरै बसाई आउने वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले काठमाडौंमा जस्तै कुनै मापदण्ड तयार गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । बसाईसराई जानेहरुलाई काठमाडौंमा अनिवार्य जग्गा हुनुपर्ने भनिएको छ, त्यस्तै कुनै मापदण्ड नबनाउने हो भने भविष्यमा अस्तव्यस्त बन्न सक्ने उनको धारणा छ । अध्यक्ष प्रसाई भन्छन्, बसाईसराई आउनेहरुको संख्या वृद्धि हुँदा वडा कार्यालयमा समेत समस्या छ । सेवाग्राहीको ठुलो चाप छ, कार्यालय सानो छ । उनका अनुसार स्वास्थ्य चौकीमा समेत बसाईसराईको असर देखिन थालेको छ । स्वास्थ्य चौकीको पूर्वाधारले धान्ने अवस्था छैन, उनले थपे । बसाईसराईका कारण मतदातासमेत वृद्धि भएको बताउदै वडाध्यक्ष प्रसाईले मतदान केन्द्र समेत अपुग हुने अवस्था रहेको जानकारी दिए । वडा नं. ५ मा देवी माविमा मात्रै मतदान केन्द्र छ ।

बसाईसराईले बजारमा माग बढाउँछ – व्यवसायी पोखरेल
बिर्तामोडस्थित वन स्टप मलका सञ्चालक युवा व्यवसायी मिजास पोखरेलले बसाईसराईले यहाँको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने बताएका छन् । बसाईसराईपछि यहाँको जनसंख्या वृद्धि हुन्छ, त्यसले माग पनि बढ्छ, उनले भने – माग बढ्नसाथ अर्थतन्त्रमा सहयोग पुग्छ ।

नेपालमा छिटो शहरीकरण भएको बिर्तामोडमा बसाईसराईले बजारमा समेत ठुलो राहत हुने गरेको छ । अस्पताल, शैक्षिक संस्था, अन्य व्यापारमा समेत बसाईसराईले सकारात्मक प्रभाव पारिरहेको हुन्छ । बिर्तामोडमा बसाई आउनेहरुले ढिलोछिटो घर पनि बनाउछन्, घर निर्माणका क्रममा ठुलो खर्च पनि स्थानीयस्तरमै गरिरहेका हुन्छन् । अन्यत्र आम्दानी गरेको बजेट बिर्तामोडमा खर्च गर्दा बजारलाई नै सहयोग हुने उनको धारणा छ ।

शेयर गर्नुहोस :

216
Shares