आर्थिक

हाम्रो नेपाल साकोस र ओमसाई हस्पिटलबीच सम्झौता, सदस्यलाई उपचारमा सहुलियत

हाम्रो नेपाल साकोस र ओमसाई हस्पिटलबीच सम्झौता, सदस्यलाई उपचारमा सहुलियत


बिर्तामोड – वित्तीय कारोबारका साथै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) लाई उच्च प्राथमिकतामा राख्दै आएको झापाको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूको स्वास्थ्य उपचारमा विशेष सहुलियत दिने व्यवस्था मिलाएको छ ।

सदस्यहरूको स्वास्थ्य र सामाजिक सुरक्षालाई ध्यानमा राख्दै संस्थाले भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटल प्रा.लि. सँग विभिन्न उपचार सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । आगामी दुई वर्षसम्म लागू हुने उक्त सम्झौतापत्रमा मिति २०८३ असार १५ गते सहकारीका तर्फबाट कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतम र हस्पिटलका तर्फबाट निर्देशक बालकुमार पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार हस्पिटलले संस्थाका शेयर सदस्य तथा उनीहरूका एकाघरका परिवारका सदस्यलाई सबै प्रकारका शल्यक्रिया (अप्रेसन), ल्याब परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, बेड भर्ना, इन्डोस्कोपी र आँखा परीक्षण तथा उपचारमा १५ प्रतिशत छुट सुविधा उपलब्ध गराउनेछ । यसैगरी, चस्मा खरिद र फिजियोथेरापी सेवामा १० प्रतिशत सहुलियत दिइने सम्झौतामा उल्लेख छ ।

साकोसका बजारीकरण तथा प्रवर्द्धन विभाग प्रमुख वेदप्रकाश दवाडीका अनुसार यस सुविधाबाट शेयर सदस्यका साथै उहाँहरूका आश्रित परिवार (बुबा, आमा, श्रीमान्/श्रीमती र छोराछोरी) समेत प्रत्यक्ष लाभान्वित हुनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि साकोसका सदस्यले अस्पतालमा सेवा लिँदा संस्थाको आधिकारिक सदस्य परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यद्यपि, स्वास्थ्य बीमा वा सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीले भने अस्पतालको छुट र बीमामध्ये कुनै एक सुविधा मात्र लिन पाउनेछन् । त्यसैगरी, अस्पतालको ओपिडी, आईसीयू , अक्सिजन, शल्यक्रियामा प्रयोग हुने इम्प्लान्ट, डायलासिस तथा दन्त र सौन्दर्य उपचारका क्षेत्रमा भने यो छुट लागू नहुने सम्झौतामा स्पष्ट पारिएको छ ।

झापा जिल्लामै सर्वसुलभ तथा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको ओम साई पाथीभरा हस्पिटलले सामान्यदेखि जटिल प्रकृतिका सबै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । हाल सो हस्पिटलमा ४४ भन्दा बढी विशेषज्ञ चिकित्सक र ५१० भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर र इलामबाट उल्लेख्य बिरामीहरू आउने उक्त हस्पिटल झापा, मोरङ र भारतको पश्चिम बङ्गालका बिरामीहरूको विश्वासको केन्द्रबिन्दु बन्न सफल छ ।

झापा, इलाम र मोरङ जिल्लाभित्र ३१ वटा सेवाकेन्द्रमार्फत वित्तीय सेवा प्रवाह गरिरहेको हाम्रो नेपाल साकोसमा हाल करिब ४२ हजार शेयर सदस्य आबद्ध छन् । दुई अर्ब ३३ करोडभन्दा बढी कुल सम्पत्ति रहेको यस संस्थाले आफूलाई बचत र ऋणको कारोबारमा मात्र सीमित नराखी सदस्यहरूको स्वास्थ्य, शिक्षा र सामाजिक उत्थानका क्षेत्रमा समेत निरन्तर सक्रिय रहँदै आएको छ । संस्थाका यस्ता सामाजिक कामले सहकारी अभियानप्रतिको जनविश्वासलाई थप बलियो बनाउने सरोकारवालाहरूले बताएका छन् ।

शेयर गर्नुहोस :

216
Shares