Banner news

गौरादहमा उत्पादित बेल्ला मोही उपभोक्ताको रोजाईमा

गौरादहमा उत्पादित बेल्ला मोही उपभोक्ताको रोजाईमा


बिर्तामोड । झापाको गौरादहमा उत्पादन भइरहेको बेल्ला मोही गर्मीमा अन्य कोल्डड्रिङसको विकल्प बन्दै गइरहेको छ । कोकाकोला, स्प्राईट र पेप्सीजन्य पेय पदार्थको विकल्पमा उपभोक्ताले बेल्ला मोही पिउन थालेका छन् ।

उत्पादनको एक वर्षमा बेल्ला मोहीले झापासहित तीन जिल्लामा व्यापार विस्तार गर्न सफल भएको छ । गर्मीको समयमा अत्याधिक रुचाइएको बेल्ला मोही गौरादहस्थित इष्टर्न वेभरेज प्रालि उत्पादन गरिरहेको छ ।

स्थानीयस्तरमा उत्पादित बेल्ला मोही पछिल्लो समय सबैजसो सार्वजनिक सभासमारोह, विवाह, ब्रतबन्धमा पेयपदार्थको रुपमा उपभोग गर्न थालिएको छ ।

इजलास दैनिकको म्यागेजिन विमोचन समारोहमा सहभागीहरुले बेल्ला मोही मन पराएको प्रतिक्रिया दिएका थिए । अधिकांशले कोल्ड ड्रिङसको विकल्पमा बेल्ला मोही उपयोगी हुने बताएका थिए । सो कार्यक्रममा बोल्दै युवा व्यवसायी मिजास पोखरेलले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको अभिव्यक्ति समेत दिए ।

बेल्ला पानी उत्पादन गर्दै आएको कम्पनीले एक वर्षदेखि मोही समेत उत्पादन गर्दै आएको छ । दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको कम्पनीले बेल्लाको मोही बजारमा रुचाइएपछि बजार विस्तारमा जोड दिएको छ । सुरुमा प्लाष्टिकको प्याकेट (पाउज) मा मोही उत्पादन गरेर बजार पठाएको थियो । कम्पनीका प्रशासकीय प्रमुख भरत सेंढाई भन्छन्, – पाउजसँगै पछि बोटलमा पठाउन थालेपछि बोटलको माग झनै बढेर आयो । प्याकेटभन्दा बोटलमा पिउन सजिलो र आकर्षक भएपछि उपभोक्ताको रोजाईमा समेत बोटल परेको थियो । बोटलकै बोही रुचाएपछि कम्पनीले प्याकेटको मोही बजार पठाउन छाडेको हो ।

कोल्डड्रिङसभन्दा स्वास्थ्यवद्र्धक हुने भएपछि उत्पादनलाई जोड दिएको सेंडाईको भनाई छ । पूर्वमा अत्याधिक माग छ, उनले भने – मोहीको बजारबाट सन्तुष्ट छौं । दैनिक ५ हजारदेखि ९ हजार बोटल मोही विक्री गरिरहेको कम्पनीले दुधको खपत बढाउन पनि सहयोग पुगिरहेको जनाएको छ । उनका अनुसार मिल्क होलीडे जस्ता समस्या हुँदा कम्पनी र किसानलाई नै मार्का परिरहेको थियो, अहिले पर्याप्त दुधको खपत गर्न सहज भइरहेको छ ।

३५ भन्दा धेरै ठाउँमा चिस्यान केन्द्र स्थापना गरेको कम्पनीले झापा, मोरङ र सुनसरीमा मोहीको बजार विस्तार गरिसकेको छ । हाम्रो घ्यू काठमाडौंमा असाध्यै धेरै माग छ, उनले भने, अन्य उत्पादित वस्तुको बजार पूर्वमै स्थापित गरिसकेका छौं । झापाको राजगढ, चप्रामारी, कमलसहित रतुवामाई, टाँडी,तोरीबारी लगायतको क्षेत्रमा चिस्यान केन्द्र स्थापना गरे दुध संकलन गरिरहेको छ । कम्पनीले किसानलाई प्राविधिक ज्ञान समेत जानकारी दिदैं आएको छ ।

बेल्ला मोही बजारमा आधा लिटरको खुद्रा ४० रुपैयाँ मुल्य कायम गरिएको छ भने व्यवसायीहरुलाई ३४ रुपैयाँमा कम्पनीले उपलब्ध गराउदै आएको छ । उनका अनुसार अत्याधुनिक प्रविधि मार्फत मोहीको गुणस्तरीय प्याकेजिङलाई ध्यान दिइएको छ । कार्बोनेटेड पेय पदार्थलाई विस्थापित गरेर उपभोक्तालाई स्वास्थ्यवद्र्धक पेय पदार्थ बानी पार्नु कम्पनीको उद्देश्य रहेको छ । आफ्नै गाउँघरका किसानले उत्पादन गर्ने दुधबाट बनाएको मोही पिउँदा उपभोक्तासँगै किसानलाई समेत फाइदा पुग्ने प्रशासकीय प्रमुख सेढाईको धारणा छ ।

गौरादह – ७ मा रहेको कम्पनीले स्थानीय किसानको दुध खरिद गरेर स्वास्थ्यवद्र्धक पेय पदार्थ उत्पादन गर्दै १ सय बढिलाई रोजगारी दिइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares