Banner news

बिलबिजक भएको सामान उठाएर झापा प्रहरीले ज्यादती गर्यो : व्यवसायी

बिलबिजक भएको सामान उठाएर झापा प्रहरीले ज्यादती गर्यो : व्यवसायी


झापा । झापाको भद्रपुरमा प्रहरीले गोदामबाटै उठाएको ‘चाइनिज खरबुजाको बीयाँ’ आयात गर्ने व्यवसायीले बिल बिजक सार्वजनिक गरेका छन् । मंगलवार भद्रपुरमा पत्रकारसँग कुराकानी गर्ने क्रममा व्यवसायी राजु थापामगर (राजन) ले बिल सार्वजनिक गरेका हुन् ।

तेस्रो मुलुकबाट कानुनी प्रक्रिया पूरा गरी आयात गरिएको दावी गरेका थापामगरले प्रहरीबाट ज्यादती भएको गुनासो गरेका छन् । उनले आफू बाहिर भएको बेला प्रहरीले बिल बिजक समेत नहेरी सामान उठाएकोमा आपत्ति जनाएका छन् । पत्रकारसँग कुरा गर्दै उनले ३-४ घण्टामा भद्रपुर आइपुग्ने जानकारी दिँदा पनि प्रहरीले जवरजस्ती सामान उठाएर लगेको बताए । ‘म नआउञ्जेलसम्म बरु शिल गरेर राख्नुहोस्’ उनले भने – आएर बिल बिजक देखाउँछु भन्दा झापा प्रहरीलेम मानेन ।

झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनालीसहित भेला भएका व्यवसायीले झापा प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । एलसीमार्फत आयात गरिएको उक्त खरबुजाको बीयाँ थापामगरले खुद्रा विक्रीका लागि ल्याएको जानकारी दिए ।

उनले कुवेर एक्जिम प्रालिबाट आफ्नो माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरले खरबुजाको बीयाँ खरिद गरेको जानकारी दिए । अनलाईन बिल गरेर ल्याएको सामानमा प्रहरीले विना आधार गोदामबाट उठाउनु जायज नभएको स्पष्ट पारे ।

झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेले बिल बिजक नहेरी सामान उठाएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । गरेर खानेलाई अनावश्यक दुख नदिन आग्रह गरेका छन् । वैधानिक रुपमा आयात गरिएको सामानलाई आवश्यक प्रक्रिया नै नपुराई भन्सार बुझाउनु गलत भएको उनको तर्क छ । गोदाममा भएको सामान शिल गर्न पाइन्छ, आवश्यक सोधपुछ गर्न सकिन्छ, तर चोरी गर्ने उद्देश्य भनेर भन्सार लगेर बुझाउन पाइदैन । सकारात्मक सोच कम भएकै कारण व्यवसायीमाथि यो हदसम्म व्यवहार भएको घिमिरेको भनाई छ । उनले भने, बिल बिजक भएको सामान यसैगरी उठाउने हो भने व्यवसायीहरु आतंकित हुने अवस्था बन्छ । राज्यको तर्फबाट यस्ता काम गर्दा गम्भीर हुन उनको सुझाव छ ।

यस्तै, व्यवसायीका नेता उमेश डालमियाले नियम कानून अनुसार व्यवसाय गर्न पाउनुपर्ने बताएका छन् । भद्रपुरमा जुन किसिमको व्यवहार भयो यो राम्रो भएन, डालमिलाले भने – पहिलो चरणमा बिलबिजक जाँच गरेर अघि बढ्नुपर्नेमा व्यवसायीको अनुपस्थितिमा सामान उठाउनु बेठिक भयो ।

यो घटनामा प्रहरीले भन्सार देखाउने, भन्सारले प्रहरीलाई देखाएर निकास नआउने डालमियाको भनाई छ । डालमियाले नियम कानून बमोजिम प्रहरीले काम गर्नुपर्ने धारणा राखेका छन् ।

झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनालीले व्यवसायीमाथिको व्यवहार ठिक नभएको बताए । उनले प्रहरी र भन्सार कार्यालयले व्यवसायीमाथि गरिएको अन्याय निजी क्षेत्रका लागि स्वीकार्य नभएको स्पष्ट पारेका छन् । उनले व्यवसायी थापामगरलाई न्याय दिलाउन वाणिज्य संघले आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् ।

गत आइतबार बेलुका करिब साढे ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त प्रहरी टोलीले भीमलाल सुवेदीको घरको दुई वटा सटर गोदाममा राखिएको ९४८ बोरा चाइनिज खरबुजाको बीयाँ छापा मारेर बरामद गरेको थियो ।

प्रहरीले ३७ हजार ९२० केजी बीउ भद्रपुर भन्सार कार्यालयमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । प्रहरीले बरामद गरेको बियाँ चोरी तस्करी गर्ने उद्देश्य राखेको भन्दै भन्सार बुझाएको जनाएको छ । गोदामबाट उठाइएको बियाँ कुबेर एक्जिम काठमाडौंले शाखा कार्यालय वीरगञ्जमा वैशाख १३ गतेको मितिमा माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरको नाममा १८ सय किलो (४५० बोरा) को भ्याटसहित ३२ लाख ५४ हजार ४०० रुपैयाँ मूल्य बराबरको बिल काटेको भेटियो ।

त्यस्तै पशुपति एक्जिम काठमाडौंले जेठ १३ गतेको मितिमा माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरको नाममा २१ सय किलो (५२५ बोरा) को भ्याटसहित ३७ लाख ९६ हजार ८०० रुपैयाँ मुल्य बराबरको बिल काटेको रहेछ । यी दुवै बिल राजस्व अनुसन्धान विभागबाट अनलाइन गरेर ल्याएको माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरका सञ्चालक राजु थापामगरले बताए ।

अनलाईन बिलबिजक भएको र त्यो पनि वडा कार्यालयमा दर्ता भएको गोदामबाट प्रहरीले सामान जफत गर्नु कानुन विपरीतको काम भएको उनको भनाइ छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको जेठ महिनामै ‘मेलन सिड’ को नाममा ३ अर्ब रुपैयाँभन्दा बढीको करिब १९ हजार टन खरबुजा–तरबुजाको बियाँ तेस्रो मुलुकबाट नेपाल आयात भएको छ । जबकी गत वर्ष २०८१÷८२ को सोही अवधिमा १४ करोड रुपैयाँ बढीको मात्रै आयात भएको थियो ।

थापामगरका अनुसार प्रहरी टोली गोदाममा छापामा मार्नु अघि सम्बन्धित धनी अर्थात् माँ दुर्गा अर्डर सप्लायर्स भद्रपुरका सञ्चालक राजु थापामगरलाई फोन गरेका थिए । प्रहरी चौकी आपगाँछीका प्रहरी सहायक निरीक्षक (असई) विशाल श्रेष्ठले ३ बजेर ५० मिनेटमा सञ्चालक थापामगरलाई फोन गर्दै गोदामको चाबी मागेका थिए ।
आफू भद्रपुरभन्दा बाहिर रहेको र त्यहाँ (गोदाम) पुग्न ३-४ घण्टा समय लाग्ने भन्दै असई श्रेष्ठलाई फोनमै जानकारी गराएको सप्लायर्सका सञ्चालक थापामगरले बताउँछन् ।

व्यवसायी थापामगर जिल्ला प्रहरी कार्यालय पुग्दा एसपी बशुन्धरा खड्काले भेट्न समय नदिएको गुनासो गरेका छन् । बिहान र दिउँसो गरी दुई पटक जाँदा पनि भेट्न नमानेपछि मैले आफै एसपी फोनमै बिलबिजक भएको बारेमा जानकारी गराउन बाध्य भए । एसपीले मेरो कुरा सुन्नु भयो, तर, वास्ता गर्नुभएन । ‘चोरी तस्करीको उद्देश्य भन्दै प्रहरीले पत्र काटेर सामान भन्सार बुझाइदिनु सरासर गलत भयो,’ उनल थपे । सोही अनुसारको पत्र भद्रपुर भन्सारलाई दिएर सामान बुझाइएको छ ।
भन्सार भन्सारका सूचना अधिकारी प्रेम लामाले प्रहरीले चोरी निकासी गर्ने उद्देश्य राखेर ल्याएको प्रतिवेदनको आधारमा सामान बुझेको बताए । प्रहरीले ८९ लाख ७७ हजार ४० रुपैयाँ तोकेर सामान बुझाएको छ । भन्सारले बुझेको सामानका सन्दर्भमा आवश्यक अनुसन्धान अघि बढाइने जनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares