आर्थिक

हाम्रो नेपाल साकोसको १४औं वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारी, विद्यार्थी र सेवा केन्द्र सम्मानित

हाम्रो नेपाल साकोसको १४औं वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारी, विद्यार्थी र सेवा केन्द्र सम्मानित


बिर्तामोड – झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिकोत्सवका अवसरमा दीर्घसेवी कर्मचारी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट सेवा केन्द्र तथा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ।

संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका आठ जना कर्मचारीलाई नगदसहित दीर्घसेवा सम्मान प्रदान गरिएको थियो। त्यस्तै, वर्ष उत्कृष्ट कर्मचारीतर्फ जानुका बजगाईं (बजार सहायक), भूमिका ढुङ्गेल (लेखा सहायक), चन्द्रप्रसाद दुलाल (ऋण सहायक) र दीपक श्रेष्ठ (सेवा केन्द्र प्रमुख) लाई सम्मान गरिएको थियो।

यसैगरी, आर्थिक वर्ष २०८२-०८३ मा अर्धवार्षिक उत्कृष्ट कार्यसम्पादन गर्ने सोमबारे सेवा केन्द्र, वर्ष उत्कृष्ट सेवा केन्द्रतर्फ हर्कटे सेवा केन्द्र तथा चौथो त्रैमासिक उत्कृष्ट सेवा केन्द्रका रूपमा मोरङको मङ्गलबारे सेवा केन्द्रलाई सम्मान गरिएको थियो। संस्थाले निर्धारण गरेको लक्ष्य पूरा गर्ने ४२ जना बजार सहायक तथा सक्रिय सेवा केन्द्र सञ्चालन उपसमितिका यमबहादुर अधिकारीलाई पनि सम्मान गरेको छ।

संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिका पोखरेल र सालोम प्रसन्न राजवंशी तथा कक्षा १२ मा उत्कृष्ट अङ्क प्राप्त गर्ने सुबोध पुरी र स्वेच्छा भट्टराईलाई समेत सम्मान गरेको छ। कार्यक्रममा संस्थाको नयाँ बचत योजना, १४औँ वार्षिकोत्सवको डकुमेन्ट्री भिडियो र नयाँ लोगोसमेत सार्वजनिक गरिएको थियो।
कार्यवाहक अध्यक्ष गौतमले संस्थाले सदस्यहरूको स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै ‘हाम्रो नेपाल स्वास्थ्य सेवा’, शेयर सदस्य तथा एकाघर राहत कार्यक्रम, ‘सदस्यसँग शुक्रबार’ तथा कर्मचारी साप्ताहिक सिकाइ कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो।

कार्यक्रममा संस्थाका व्यवस्थापक सरोज दाहालले आर्थिक वर्ष २०८२-०८३ को प्रगति विवरण प्रस्तुत गर्दै २०८३ असार मसान्तसम्म संस्थाको बचत मौज्दात दुई अर्ब एक करोड रुपैयाँ पुगेको बताउनुभयो। उहाँका अनुसार संस्थामा हाल ४२ हजार ८२७ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी १८ करोड ७५ लाख ६ हजार रुपैयाँ पुगेको छ।

विसं २०६९ मा ३७ जना शेयर सदस्यबाट १८ लाख ५० हजार रुपैयाँ पुँजी सङ्कलन गरी स्थापना भएको यस संस्थाले हाल ५ हजार ७०१ जना सदस्यलाई एक अर्ब ९९ करोड ४५ लाख ८८ हजार रुपैयाँ ऋण लगानी गरेको जनाएको छ। कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यसहित करिब ४५० जनाको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस :

0
Shares