विराटनगर । एलपी ग्यासको वितरण व्यवस्थापन र बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि मोरङ जिल्ला प्रशासन कार्यालयले ग्यास उद्योग र पसललाई जरिबाना गराएको छ ।
साउन २७ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
सो क्रममा बुढीगङ्गा गाउँपालिका–५ मा रहेको रिजालको भान्सा ग्यास उद्योग प्रा.लि. मा अनुगमन गर्दा ग्यास बुलेटको अभावमा उद्योग सञ्चालनमा नरहेको पाइएको थियो । तर उद्योग परिसरमा रहेका १९ वटा रिफिल गरिएका सिलिन्डरहरू तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा २४० ग्राम कम तौल भेटिएको थियो ।

त्यस्तै सिलिन्डरमै उल्लेखित म्याद गुज्रिसकेका दुई वटा सिलिन्डरमा ग्यास रिफिल गरी सिलसमेत लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको थियो । म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्न राखेको र तौलमा समेत ठगी गरेको पाइएपछि प्रशासनले रिजालको भान्सा ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गराएको छ । साथै म्याद गुज्रेका ती दुई सिलिन्डरको सिल तोडी नष्ट गर्न लगाइएको छ ।
त्यस्तै सोही दिन गरिएको अनुगमनका क्रममा विराटनगर महानगरपालिका–३ स्थित कन्चनेश्वर ग्यास पसलले अनुगमन टोलीको जाँचबुझ तथा निरीक्षण कार्यमा सहयोग नगरेपछि १५ हजार रुपैयाँ जरिबाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।







प्रतिक्रिया