दमक – युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेका बेला झापाको दमकका दुई स्थानीय युवाहरूले स्वदेशमै व्यावसायिक यात्रा सुरु गरेका छन्। दमक–६ स्थित केडी कम्प्लेक्समा युवा व्यवसायी कमल गैरे नेतृत्वको समूहले तेजस् डेन्टल क्लिनिक र कौशल श्रेष्ठले बबल बिज क्याफे एकसाथ सञ्चालनमा ल्याएका हुन्। उक्त क्लिनिक तथा क्याफेको दमक नगरपालिकाका नगर प्रमुख राम थापाले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ।

उद्घाटनपश्चात् बोल्दै नगर प्रमुख थापाले युवाहरूले पर्याप्त अध्ययन र तयारी गरेर नै व्यवसाय सुरु गरेको विश्वास व्यक्त गर्दै पूर्ण सफलताको शुभकामना दिनुभयो। दमकमा धेरै व्यवसायीहरू भए पनि कतिपय करको दायरा बाहिर रहेको उल्लेख गर्दै उहाँले दर्ता र कर भुक्तानीमा समानता ल्याउन नगरपालिकाले स्थलगत घुम्ती राजस्व सङ्कलन अभियान चलाएको जानकारी दिनुभयो। उक्त अभियानमार्फत अघिल्लो वर्ष मात्रै ७० देखि ८० लाख रुपैयाँसम्म नयाँ करदाताबाट राजस्व सङ्कलन भएको नगर प्रमुख थापाले बताउनुभयो।
कार्यक्रममा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईँले व्यवसायमा अवसरसँगै चुनौतीहरू पनि रहने भएकाले स्थानीय व्यवसायीहरूलाई सङ्घको तर्फबाट आवश्यक सहजीकरण र सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो। त्यसैगरी आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत सूर्यबहादुर कुँवर र व्यवसायी सागर गौतमले नयाँ व्यवसायीहरूलाई व्यावसायिक मर्यादा, कानुनी मापदण्ड र कर अनुशासनमा रहेर सेवा प्रवाह गर्न विशेष आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो।
क्लिनिक सञ्चालक समितिका अध्यक्ष कमल गैरेले तेजस् डेन्टल क्लिनिकले विशेषज्ञ डाक्टरहरू मार्फत दाँत तथा मुखसम्बन्धी सम्पूर्ण परीक्षण, उपचार, अर्थोडोन्टिक्स, दाँत भर्ने, जरादेखि उपचार गर्ने, इम्प्लान्ट र शल्यक्रिया सेवा प्रदान गर्नुका साथै गाउँघरमै पुगेर दन्त सचेतना अभियान चलाउने बताउनुभयो। अर्का व्यवसायी कौशल श्रेष्ठका अनुसार बबल बिज क्याफेमा विभिन्न प्रकारका कफी, बबल्टी, आइसक्रिम, मिल्कसेक, बर्थडे केक तथा विविध चिसो पेय पदार्थहरूको गुणस्तरीय सेवा उपलब्ध गराइनेछ।







प्रतिक्रिया