Banner news

शारीरिक अशक्ततालाई जितेर अपांगता भएकाहरूकै सारथी बनेका जयप्रकाश

शारीरिक अशक्ततालाई जितेर अपांगता भएकाहरूकै सारथी बनेका जयप्रकाश


बिर्तामोड । झापा बुद्धशान्ति – १ जयप्रकाश खातीका दुई वटै खुट्टा चल्दैनन् । जन्मजात खुट्टा नचलेका खाती हातले टेकेर हिडडुल गर्ने गर्छन् । खुट्टा नचलेपछि वर्षौदेखि हातैको सहारामा जनसेवा गरिरहेका छन् । अति अपांगता भएका उनी हाल बुद्धशान्ति गाउँपालिकाको अपांगता सहायता सहजकर्ताको रुपमा कार्यरत छन् ।

हाल गाउँपालिकामा अपांगता भएका नागरिकहरुको सहजीकरणमा कार्यरत उनी यसअघि पनि सामाजिक रुपमा अपांगताकै क्षेत्रमा क्रियाशिल थिए ।

बुद्धशान्ति गाउँपालिकामा ४ वर्षअघि कम्प्यूटर अपरेटर हुँदै प्रवेश गरेका खाती हाल महिला, बालबालिका तथा समाज कल्याण शाखा मार्फत अपांगता भएका नागरिकहरुको सेवामा कार्यरत छन् । सो शाखाबाट अपांगता भएका बालबालिका, महिला तथा वृद्धवृद्धाहरुको लागि काम गर्ने गरिएको छ । लक्षित व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, परिचयपत्र वितरण र स्वास्थ्य बीमा लगायतका काम गर्ने गरिएको खातीको भनाई छ ।

कोशी प्रदेश सरकारले अपांगता भएका नागरिकहरुको सेवामा अलग्गै सहजकर्ता राखेर सेवा दिने योजना अनुरुप खातीले उक्त जिम्मेवारी पाएका हुन् । कम्प्यूटर अपरेटरमा राजीनामा दिएर उनले अपांगता सहायता सहजकर्तामा प्रतिष्पर्धा गरेका थिए । प्रतिष्पर्धाका लागि पनि अपांगता भएकै उम्मेदवार खोजिएको थियो ।

स्थानीय तहमा सहजकर्ताको व्यवस्था नहुँदा अपांगता भएका नागरिकहरुको सेवामा असहज भएको थियो । अति अपांगता भएका खातीले अपांगताकै क्षेत्रमा काम गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनी आफै निलो परिचयपत्र भएका व्यक्त हुन् । उनी भन्छन्, म आफै पनि अति अपांगता भएको व्यक्ति हुँ, म अपांगता भएका नागरिकहरुको दुख बुझ्न सक्छु ।

गाउँपालिकामा सहजकर्ताकै व्यवस्था भएपछि अपांगता भएका नागरिकहरुले सहजै सेवा पाइरहेको उनको भनाई छ । सकेसम्म अपांगता भएका नागरिकले एउटा सेवाका लागि दोस्रो पटक आउनु नपरोस् भन्ने लक्ष्यका साथ काम गरिएको खाती बताउँछन् । उनका अनुसार कतिपय स्वास्थ्य सम्बन्धी प्रमाणिकरणका लागि समय लाग्न सक्छ । उनले अपांगता भएका नागरिकहरुलाई सहायक सामग्री प्रदान गर्नुका साथै शिक्षा र स्वास्थ्य उपचारमा सहज पहुँच गराउने योजना बमोजिम काम भइरहेको बताए । उनले भने – कतिपय अपांगता भएका नागरिकहरुलाई निशुल्क शिक्षा र स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ । गाउँपालिकाका ८० प्रतिशत लक्षित नागरिकले सहायक सामग्री प्राप्त गरिसकेका छन् ।

गाउँपालिकामा अपांगता सहायता सहजकर्ताको व्यवस्था भएपछि परिचयपत्र तत्कालै दिने व्यवस्था मिलाइएको उनको धनाई छ । सहजकर्ता नहुँदा विवरण संकलन गरेर केही समयपछि मात्रै वितरण गर्ने गरिएको थियो, उनले थपे ।

सहजकर्ता खातीका अनुसार पुराना भौतिक पूर्वाधारका संरचना अपांगतामैत्री नहुँदा धेरै समस्या हुने गरेको छ । पछिल्लो समय नयाँ संरचना निर्माण गर्दा धेरैजसो कार्यालयहरुले अपांगतामैत्री भौतिक पूर्वाधार बनाउने गरेका छन् । बुद्धशान्ति गाउँपालिकाको निर्माणाधिन नयाँ भवन अपांगतामैत्री रहेको खातीले जानकारी दिए ।
खातीको क्रियाशिलता देखेर सपांगहरुले सिक्नुपर्ने सर्वसाधरणको प्रतिक्रिया छ ।

शेयर गर्नुहोस :

0
Shares