बिर्तामोड

पाँच महिनाको शुल्क र शैक्षिक सामग्री प्रदान गर्दै गौतमले मनाए जन्मदिन

पाँच महिनाको शुल्क र शैक्षिक सामग्री प्रदान गर्दै गौतमले मनाए जन्मदिन


झापा – हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमले आफ्नो जन्मदिनको अवसरमा एक जेहेनदार छात्रालाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। भोजपुरको अरुण गाउँपालिकामा जन्मनुभएका उहाँ विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ भने हाल नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य हुनुहुन्छ।

मङ्गलबार लक्ष्मी क्याम्पस, बनियानीमा आयोजित एक कार्यक्रमका बीच उहाँले सो सहयोग हस्तान्तरण गर्नुभएको हो। पछिल्लो समय तडकभडक र फजुल खर्च गरेर जन्मदिन मनाउने परिपाटी बढिरहेको अवस्थामा त्यसलाई तोड्दै कार्यवाहक अध्यक्ष गौतमले क्याम्पसमा व्यवस्थापन सङ्काय (बिबिएस) प्रथम वर्षमा अध्ययनरत जेहेनदार छात्रा मोनिका राजवंशीलाई पाँच महिना बराबरको शिक्षण शुल्क र आवश्यक शैक्षिक सामग्री प्रदान गर्नुभएको हो।

कार्यक्रममा बोल्दै गौतमले होटल तथा रेस्टुरेन्टमा गएर फजुल खर्च गर्नुभन्दा विद्यार्थीको शिक्षामा सहयोग पुर्याउँदा आफूलाई वास्तविक आत्मसन्तुष्टि मिलेको बताउनुभयो। उहाँले भन्नुभयो, “संस्थागत रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि समाज र शैक्षिक क्षेत्रमा केही सकारात्मक सन्देश जाओस् र एउटा विद्यार्थीको अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले मैले यो विकल्प रोजेको हुँ।”

सो अवसरमा मन्तव्य राख्दै हाम्रो नेपाल साकोस, बनियानी सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक शुक्रराज लिम्बु ‘किरण’ले संस्थाको नेतृत्वले व्यक्तिगत तवरबाटै समाजप्रतिको उत्तरदायित्व वहन गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो। यस्ता कार्यले समाजमा सकारात्मक ऊर्जा थप्ने उहाँको धारणा थियो।

त्यसैगरी, लक्ष्मी क्याम्पसका प्रमुख मोतीलाल राजवंशीले विद्यार्थीको उज्ज्वल भविष्यका लागि गरिएको यस प्रकारको सहयोगले समग्र शैक्षिक क्षेत्रलाई नै हौसला मिल्ने बताउनुभयो। उहाँले गौतमलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै  क्याम्पस परिवारको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायत सहकारीका कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस :

0
Shares