गणेश कोइराला
बिर्तामोड । १८ वर्षको उमेरमा धेरैको हातमा मोबाइल हुन्छ । मोबाइलमा के हुन्छ भन्ने चाहिँ फरक–फरक हुन्छ । कोही दिनभर टिकटक स्क्रोल गर्छन्, कोही भिडियो हेर्दै समय बिताउँछन् । तर झापाका दुई १८ वर्षीय युवा भने त्यही मोबाइलबाट महिनामै करिब एक लाख रुपैयाँ कमाइरहेका छन् ।
बिर्तामोड–७ पानीट्यांकी टोलका देवराज बानियाँ र सचिन बरालले एक वर्षअघि रमाइलोका लागि सुरु गरेको टिकटक पेज ‘टेस्ट अफ झापा’ अहिले उनीहरूको पहिचान र आम्दानीको माध्यम बनेको छ ।
सुरुमा आफ्नै वरपरका ठाउँ देखाउने रहर थियो । गरामनी बजार, नेत्र पार्कलगायत ठाउँका भिडियो खिचेर टिकटकमा हाल्थे । भिडियो बनाउँदै जाँदा क्यामेरा चलाउने, राम्रो दृश्य छान्ने, भिडियो सम्पादन गर्ने र दर्शकलाई मन पर्ने गरी प्रस्तुत गर्ने कला पनि आफैँ सिक्दै गए ।

एक वर्षमै उनीहरूको यात्रा यति अघि बढ्यो कि अहिले होटल, रिसोर्ट, रेस्टुरेन्ट, पसल तथा विभिन्न व्यवसायिक प्रतिष्ठानले आफ्नो प्रचारका लागि उनीहरूलाई बोलाउन थालेका छन् ।
दिनको अधिकांश समय उनीहरूको हातमा मोबाइल वा क्यामेरा हुन्छ । कहिले होटलको भिडियो, कहिले रेस्टुरेन्टको, कहिले नयाँ ठाउँको । खिच्ने, सम्पादन गर्ने र सामाजिक सञ्जालमा राख्ने—यही उनीहरूको अहिलेको दैनिकी बनेको छ ।
यसबाट दुवैले मिलेर मासिक करिब एक लाख रुपैयाँसम्म आम्दानी गर्छन् । बराबर बाँड्दा दुवैको भागमा करिब ५०–५० हजार रुपैयाँ पर्छ । तर उनीहरूका लागि कमाइभन्दा ठूलो कुरा पहिचान र आत्मविश्वास हो ।
“स्कुल पढ्दा बिर्तामोडमा हामीलाई धेरैले चिन्दैनथे । अहिले यही कामका कारण धेरै व्यवसायी र मानिससँग चिनजान भएको छ,” उनीहरू भन्छन् ।
अध्ययनरत यी दुई युवाको विदेश जानेभन्दा नेपालमै बसेर आफ्नो सीपलाई व्यवसायमा बदल्ने सोच छ । उनीहरू कन्टेन्ट निर्माणलाई अझ व्यवस्थित र ठूलो बनाउने योजनामा छन् ।
१८ वर्षको उमेरमा मोबाइललाई केवल ‘स्क्रोल गर्ने सामान’ होइन, ‘कमाउने साधन’ बनाउन सफल यी दुई युवाको कथा अहिले झापामा चर्चा गर्न लायक बनेको छ ।
गारामनी बजार र नेत्र पार्कबाट सुरु भएको सानो भिडियो यात्रा अहिले झापाका व्यवसायिक प्रतिष्ठानसम्म पुगेको छ । रहरले सुरु गरेको कामले जब आम्दानीसँगै पहिचान दिन थाल्छ, त्यसलाई सायद ‘टिकटक चलाउनु’ मात्र भन्न मिल्दैन, त्यो त भविष्य बनाउने एउटा बाटो पनि बन्न सक्छ ।








प्रतिक्रिया