काठमाडाैं, २३ भदाैं । विश्व साक्षरता दिवस हरेक वर्ष सेप्टेम्बर ८ का दिन विश्वभर मनाइदैँछ। ‘जनता, पृथ्वी र समृद्धिका लागि साक्षरता’ मुल नारामा याे दिवस संसारभरी मनाइदैँछ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्काे) ले सन् १९६६ मा यस दिवसको घोषणा गरेको थियो र सन् १९६७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो। युनेस्कोका अनुसार, सन् २०२६ को यो दिवसले साक्षरताको क्षेत्रमा भएको प्रगतिको समीक्षा गर्ने, विद्यमान तथा नयाँ चुनौतीहरू बुझ्ने र भविष्यमा साक्षरतासम्बन्धी आवश्यकताहरूबारे सोच्ने अवसर प्रदान गर्दछ। यस नाराले साक्षरतालाई मानिस, समुदाय, दिगो विकास र समृद्धिसँग जोड्छ।

साक्षरताले मानिसहरूलाई सूचनामा पहुँच पुर्याउन र उपयोगी सीपहरू विकास गर्न मद्दत गर्छ। यसले उनीहरूलाई सामाजिक, आर्थिक र वातावरणीय मुद्दाहरू बुझ्न पनि सघाउँछ।
साक्षरताको महत्त्वकाे रूपमा यस दिवस मनाइन्छ । जसअनुसार व्यक्ति, समुदाय र समाजका लागि साक्षरता र शिक्षाको महत्त्वबारे जनचेतना जगाउने, साक्षरतालाई मानव अधिकार र सम्मानको विषयका रूपमा स्थापित गर्ने र विश्वभरबाट निरक्षरता अन्त्य गर्न र समावेशी तथा गुणस्तरीय शिक्षाको पहुँच बढाउन प्रतिबद्धता जनाउने लगायतमा सम्झना गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यले सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा तथा आजीवन सिकाइका अवसरहरू प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ भने आधुनिक युगमा परम्परागत साक्षरता (लेख्न र पढ्न जान्नु) सँगै डिजिटल साक्षरता (कम्प्युटर र प्रविधिको प्रयोग) लाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। युनेस्कोले हरेक वर्ष विश्वव्यापी चुनौती र आवश्यकतालाई सम्बोधन गर्ने गरी फरक-फरक नारा तय गर्दछ।
नेपालमा पनि सेप्टेम्बर ८ का दिन राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ। नेपालले ‘साक्षर नेपाल अभियान’ मार्फत देशका अधिकांश जिल्लाहरूलाई साक्षर घोषणा गरिसकेको छ। नेपालको जनगणना २०७८ अनुसार नेपालको समग्र साक्षरता दर ७६.३ प्रतिशत रहेको छ (जसमा पुरुष साक्षरता दर ८३.६% र महिला साक्षरता दर ६९.४% छ)। औपचारिक शिक्षाबाट वञ्चित नागरिकहरूका लागि अनौपचारिक शिक्षा, प्रौढ शिक्षा र सामुदायिक अध्ययन केन्द्रहरूमार्फत साक्षरता प्रवर्द्धन गर्ने काम भइरहेको छ।








प्रतिक्रिया