बिर्तामोड । आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारले सरकारी प्रतिनिधि र मानवअधिकारकर्मीहरुलाई माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन् ।
आज विहान बिर्तामोडमा मानवअधिकार सञ्जाल झापाको अगुवाईमा भएको छलफलपछि सरकारी प्रतिनिधि र मानवअधिकारकर्मीको टोलीले अनसन स्थल पुगेर दनुवारलाई भेटेको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, मानवअधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरीका झापा प्रमुख सचिन कर्माचार्य, बिर्तामोडका डिएसपी सन्तोष पाठक, अनुसन्धानका प्रमुख उमेश पाण्डेलगायतको टोलीले दनुवारलाई भेटेका थिए । उनीहरुले सरकारसँग अनसनरत युवाको माग सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।
जेनजी घाइतेका मागलाई माथिल्लो निकायमा पठाउने भनेपनि अनसनरत युवाले माग पूरा नभएसम्म अनसन नतोड्ने प्रतिक्रिया दिए । अनसनरत दनुवारले यसअघि पनि धेरै आश्वासन पाइसकेको तर पूरा नभएको बताएका छन् । उनले प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई माग पूरा भए मात्रै अनसन तोड्ने स्पष्ट पारेका छन् ।
त्यसअघि मानवअधिकार सञ्जाल झापाको संयोजनामा भएको छलफलमा जेनजी घाइतेका प्रतिनिधि मनोज कडरियासहितको टोलीले छलफल गरेको थियो । उनीहरुले प्रजिअ पोखरेलसहितको टोलीलाई स्वास्थ्य उपचार, शिक्षा निशुल्क हुनुपर्ने, रोजगारीको ग्यारेन्टी हुनुपर्ने, जेनजी घाइतेका माग सम्बोधन हुने गरी कानुन निर्माण गर्नुपर्ने, एम्बुलेन्ससहितका यातायातका साधनमा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग राखेका थिए ।
छलफलका क्रममा झापाका जेनजी घाइतेहरुको ७ दिनभित्र प्रोफाइल तयार गरेर माग सम्बोधनमा जानुपर्ने सहमति जुटेको थियो । घाइतेहरुको अवस्था अध्ययन गरेर माग सम्बोधनका लागि अघि बढ्न सकिने निष्कर्ष आए पनि घाइतेले पहिलो शर्त नै माग पूरा भएपछि मात्रै अनसन तोड्ने राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले जेनजी घाइतेका विभिन्न मागहरु सम्बोधन गर्न विषयगत मन्त्रालय र निकायहरुमा आवश्यक पहल गर्ने बताएका थिए । उनले त्यसका लागि प्रोफाइल आवश्यक पर्ने बताए ।
घाइते परिवारको सम्पूर्ण विवरण रहने गरी प्रोफाइल तयार गर्न सहमति भएको मानव अधिकार सञ्जालका सचिव दिपक दासले जानकारी दिए । अनसन बसेको धेरै दिन वितिसक्यो, दास भन्छन् – हामीले सरकारी प्रतिनिधि राखेर आवश्यक छलफल गरेका छौं । माग सम्बोधन गर्न विभिन्न चरण पूरा गर्नुपर्छ । पहिलो चरणमा प्रोफाइल तयार गरौं भन्दा जेनजीहरुबाट पहिले माग पूरा हुनुपर्ने कुरा आयो ।
छलफलपछि अनसन तोड्न सरकारी प्रतिनिधिहरुले आग्रह गरे पनि अनसनरत युवाले अस्वीकार गरेका छन् । जेनजीका प्रतिनिधि मनोज कडरियाले अनसन बस्ने व्यक्तिले अस्वीकार गरेपछि आफूहरुको केही नलाग्ने प्रतिक्रिया दिए । उनका अनुसार अहिलेसम्म कसैबाट चासो व्यक्त भएको थिएन । अब, कम्तिमा ध्यानाकर्षण भएको छ ।








प्रतिक्रिया