Banner news

बिर्तामोडको खाद्य व्यवस्थामा चाडवाडका लागि चामल र चिनीको मौज्दात पर्याप्त

बिर्तामोडको खाद्य व्यवस्थामा चाडवाडका लागि चामल र चिनीको मौज्दात पर्याप्त


एकै उपभोक्तालाई चिनी २५ केजीसम्म, प्रतिकेजी ११० मात्र

बिर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले चाडवाडमा विक्रीका लागि पर्याप्त चामल र चिनी रहेको जनाएको छ । चाडवाड लक्षित सहुलियत पसल सञ्चालन गरेको खाद्य व्यवस्थाले हरेक उपभोक्ताहरुलाई सहुलियत सेवा लिन आग्रह गरेको छ ।

असोज १ गतेबाट खाद्य व्यवस्थाले चालम र चिनी सहुलियत मुल्यमा विक्री गरिरहेको मुख्य शाखा अधिकृत राजबहादुर राईले जानकारी दिए । उनका अनुसार खाद्यबाट स्टिम जिरा मसिनो, सोना मंसुली चामल र चिनी विक्री गरिदैं आएको छ । स्टिम जिरा मसिनो २५ केजीलाई रु २१२५, सोना मंसुलीलाई रु १४२५ र चिनी प्रति केजी ११० रुपैयाँमा विक्री गर्ने गरिएको छ । स्टिम जिरा मसिनो र सोना मंसुलीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको मुख्य शाखा अधिकृत राईले जानकारी दिए ।

शुक्रवारसम्म खाद्यले स्टिम जिरा मसिनो चामल ६५ क्विन्टल २५ केजी, सोना मंसुली ७ क्विन्टल ५० केजी र चिनी ३ क्विन्टल ५२ केजी विक्री गरिएको उनको भनाई छ । राईका अनुसार असोज १५ गतेदेखि प्रति उपभोक्ता २५ केजीसम्म चिनी विक्री गर्न थालिएको छ । यसअघि प्रति उपभोक्ता ६ केजी मात्रै विक्री गर्न पाइने व्यवस्था थियो ।

खाद्य संस्था बिर्तामोडमा ३२१३ क्विन्टल स्टिम जिरा, २०३५ क्विन्टल सोना मंसुली र ४९६ क्विन्टल चिनी मौज्दात रहेको जनाइएको छ । बजार क्षेत्रमा दुर्गममा जस्तो भीडभाड नहुने मुख्य शाखा अधिकृत बताउँछन् । बिर्तामोड शहरी क्षेत्रसँगै सीमासँग नजिक रहेको बजार भएका कारण पनि उपभोक्ताहरु खाद्यमै आउनुपर्ने बाध्यतामा नरहेको उनको भनाई छ । बजारमा सहजै खरिदका लागि पर्याप्त ठाउँ भएर पनि होला, उनले भने – यहाँ धेरै चाप नभए पनि विगतमा भन्दा खरिद गर्न आउने उपभोक्ताको संख्या राम्रो छ ।

नेपाल सरकारको मापदण्ड अनुसारकै गुणस्तरमा चामल र चिनी विक्री गरिरहेको उनको दावी छ । ‘हामी पनि यहि चामल खाइरहेका छौं, असाध्यै स्वादिष्ट छ, राई भन्छन् – ‘सहुलियतको फाइदा सबै उपभोक्ताले लिनुपर्छ । पुरानो चामल स्वाद पनि राम्रो छ, भात पनि बढ्छ ।’

शेयर गर्नुहोस :

81
Shares