मुख्य समाचार

पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै

पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले बिर्तामोडमा च्यारिटी कन्सर्ट गर्दै


बिर्तामोड । ‘कोही भोकै मर्न नपरोस्’ भन्ने मानवीय अभियानसहित विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना खुवाउँदै आएको केजीएफले झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्ने भएको छ। सामाजिक, सांस्कृतिक, खेलकुद, कृषि तथा मानव सेवाका क्षेत्रमा सक्रिय केजीएफले आफ्नो भोजन अभियानलाई निरन्तरता दिन तथा सामाजिक सेवाका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले आगामी ५ मंसिर शनिबार बितामाेडस्थित न्युटन स्कुलअगाडी वृहत् सांगीतिक कार्यक्रम गर्न लागेको हो।

केजीएफ अर्थात् सामाजिक सांस्कृतिक खेलकुद कृषि मानव सेवा प्रतिष्ठानले ‘हरेक दिन खाना’ अभियान सञ्चालन गर्दै आएको छ। संस्थाको मूल भावना नै मानिसलाई बाँच्नका लागि आवश्यक आधारभूत भोजनबाट वञ्चित हुन नदिनु रहेको छ। संस्थाले सार्वजनिक गरेको विवरणमा समेत ‘यो ब्रह्माण्डमा सबैलाई बाँच्ने अधिकार छ, तर कोही खाना नपाएर मर्ने अवस्था छ’ भन्ने मान्यतालाई अभियानको आधार बनाइएको छ।

यस अभियानअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रुपैयाँमा खाना उपलब्ध गराइँदै आएको संस्थाले जनाएको छ। दैनिक भोजनका लागि चामल, आलु, दाल, टमाटर, प्याज, तेल, मसला, मटन, खुर्सानी, अदुवा, सोया मसला, च्याउ, नुन, बेसार र पानीलगायतका खाद्य सामग्री प्रयोग हुने विवरण संस्थाले सार्वजनिक गरेको छ। संस्थाका अनुसार दैनिक भोजन व्यवस्थापनमा ठूलो रकम खर्च हुने गरेको छ र सहयोगी हातहरूको साथबाट अभियानलाई निरन्तरता दिइँदै आएको छ।

केजीएफका संस्थापक अध्यक्ष ये हाङका अनुसार खाना खुवाउने अभियान कुनै प्रचार वा दया देखाउने उद्देश्यले नभई भोकका कारण कसैले पनि अपमानित वा असहाय महसुस गर्न नपरोस् भन्ने सोचबाट सुरु गरिएको हो।

‘हामीले पाँच रुपैयाँमा खाना खुवाउनुको उद्देश्य पैसा कमाउनु होइन, खाना खान नसक्ने अवस्थामा रहेका मानिसलाई सम्मानपूर्वक भोजनको पहुँच दिनु हो। हाम्रो समाजमा कोही मानिस भोककै कारण मर्नुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो। त्यसैले हामीले आफ्नो क्षमताअनुसार यो अभियान सुरु गरेका हौँ,’ हाङले भने।

उनका अनुसार अभियान सुरु गर्नु सजिलो भए पनि त्यसलाई नियमित र दीर्घकालीन रूपमा सञ्चालन गर्नु चुनौतीपूर्ण छ। दैनिक रूपमा आवश्यक पर्ने खाद्य सामग्री, पकाउने तथा वितरणको व्यवस्थापन र अन्य खर्चका कारण निरन्तर सहयोग आवश्यक पर्ने भएकाले संस्थाले सामाजिक अभियानमा सर्वसाधारण, व्यवसायी, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिलाई जोड्ने प्रयास गरिरहेको छ।

‘एउटा व्यक्तिले दिएको सानो सहयोगले पनि कसैको एक छाक खाना पूरा हुन सक्छ। हामीलाई ठूलो सहयोगभन्दा पनि निरन्तर सहकार्य महत्वपूर्ण लाग्छ। यही अभियानलाई अझ व्यवस्थित र दिगो बनाउन च्यारिटी कन्सर्ट आयोजना गर्न लागेका हौँ,’ ये हाङले भने।

च्यारिटी कन्सर्टमा विभिन्न पुस्ताका कलाकार तथा संगीतकर्मीको प्रस्तुति रहनेछ। कार्तिक १४ गते आयोजना हुने कार्यक्रममा अभया एन्ड द स्टिम इन्जिन्स, यबी द गाेट, प्रशान्त शिवाकोटी तथा नेपाली आइिडयल विजेता गायक तथा संगीतकार बादल लिम्बूले प्रस्तुति दिनेछन्। सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिनुका साथै सामाजिक सेवाको अभियानसँग जोड्ने आयोजकको तयारी छ।

कार्यक्रमलाई केजीएफले सामान्य सांगीतिक कार्यक्रमभन्दा फरक रूपमा प्रस्तुत गर्न खोजेको छ। कन्सर्टबाट प्राप्त हुने रकम तथा सहयोगलाई संस्थाले सञ्चालन गर्दै आएको सामाजिक सेवामा प्रयोग गर्ने उद्देश्य राखिएको छ। विशेषगरी पाँच रुपैयाँमा खाना खुवाउने अभियानलाई निरन्तरता दिन तथा आवश्यकतामा रहेका व्यक्तिसम्म भोजनको पहुँच पुर्‍याउन कार्यक्रमबाट सहयोग पुग्ने अपेक्षा संस्थाको छ।

केजीएफले मानव सेवासँगै सामाजिक तथा सामुदायिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको जनाएको छ। संस्थाको अभियानमा मानिससँगै असहाय जनावरका लागि खाना तथा पानीको व्यवस्थासहित विभिन्न सामाजिक गतिविधिलाई समेत समेटिएको छ। संस्थाले आफ्नो कामलाई सेवाभावमा आधारित अभियानका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

हाङका अनुसार भोकविरुद्धको अभियान कुनै एक व्यक्ति वा संस्थाको मात्रै जिम्मेवारी नभई समाजकै साझा दायित्व हो।’हामीले सुरु गरेको अभियानलाई हाम्रो मात्रै भनेर सीमित गर्न चाहँदैनौँ। समाजमा कोही भोकै नबसोस् भन्ने चाहना सबैको हुनुपर्छ। च्यारिटी कन्सर्टमार्फत हामी यही सन्देश फैलाउन चाहन्छौँ,’ उनले भने।

मनोरञ्जनसँगै सामाजिक सेवाको उद्देश्य बोकेको बिर्तामोडको च्यारिटी कन्सर्टले कलाकार र दर्शकलाई एउटै मञ्चमा जोड्ने मात्रै नभई एउटा सांगीतिक साँझलाई कसैको एक छाक खानासँग जोड्ने प्रयास गर्ने आयोजकको विश्वास छ। केजीएफले कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनुका साथै आफ्नो सामाजिक अभियानमा समेत साथ दिन सबैलाई आग्रह गरेको छ।

शेयर गर्नुहोस :

54
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu