बैशाख १७, २०८१ सोमबार

नयाँ वर्षले निराशालाई आशामा बदलोस्

सम्पादकीय
केहि संभावना, केहि निराशाका बीचबाट २०८० साल विदा भएको छ । आजबाट नयाँ वर्ष २०८१ सुरु भएको छ । सर्वप्रथम देश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, विभिन्न राष्ट्रमा रहेर इजलासको पाठक बन्नु भएका व्यक्तिहरुमा सुख, शान्ति, संवृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । दिनहरु झनभन्दा झन कठिन र निराशाका बीचमा गुज्रिदै गइरहेको छ । खासगरी नेपाली राजनीतिको प्रभावले सबै क्षेत्रहरु चौपट भएको छ । राजनीतिक क्षेत्र ठिक ट्रयाकमा हिड्न नसक्दाको असर चौतर्फी क्षेत्रमा देखिएको छ । अब, यो वर्ष राजनीति क्षेत्रसँगै सबै क्षेत्रलाई सही ट्रयाकमा हिडाउन अपरिहार्य छ ।

देशका हरेक क्षेत्रमा वेथिती, अराजकता हावी भएको छ । जहाँ नेताको मात्र दोष देखाउने काम भइरहेको छ । स्वभाविक रुपमा नेताले नेतृत्व गरेका कारण दोष देखाइएको हो । तर, देशको सुन्दर भविष्यका लागि नागरिकको जिम्मेवारी र दायित्व पनि उत्तिकै छ । अर्कोलाई दोष देखाउने र पन्सिने प्रवृत्ति भनेको नेताको बद्मासी भन्दा खराव व्यवहार हो । त्यसैले बढ्दो निराशालाई आशामा परिणत गर्न आआफ्नो ठाउँबाट योगदान गर्ने प्रयास गरौं । नयाँ वर्ष नयाँ उमंगका साथ घरपरिवार, गाउँ, समाज सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउन नयाँ थालनी गरौं ।

२०८० भन्दा ०८१ लाई थप फलदायी बनाउनका लागि रचनात्मक योजना निर्माण गर्न जरुरी छ । जबसम्म व्यक्तिगत जीवनमा परिवर्र्तन ल्याउन सकिन्न, तबसम्म समाजमा परिवर्तन ल्याउन सकिन्न भन्ने सिद्धान्तको पालना गर्नुपर्छ । देशमा जमिन बाँझो छ । युवाहरु विदेश पलायन हुन रोकिएका छैनन् । देशमै केहि हुदैन भन्ने भाष्यलाई जवरजस्ती स्थापित गर्न खोजिदैछ । यसलाई गलत सावित गर्नका लागि तमाम निराशाहरुलाई आशामा बदल्नुपर्छ । आशा देखाउनैपर्छ, संभावनाहरुको खोजी गर्नैपर्छ । त्यसको नेतृत्व अब, युवाहरुले गर्न जरुरी छ । ८१ को वर्ष, परिवर्तन र आशाको वर्ष बनाउन सकियोस् । देशमै केहि गरौं भन्ने भावनाको जागृत गर्न सकियोस् । राजनीति क्षेत्रका कुरुप रुपहरु निवारण भएर जाउन्, देशमा गरिखान्छु भन्नेहरुका लागि वातावरण ठिक बनाइयोस्, शुभकामना ।

प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार  १० : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]