Banner news

‘अहिले जग्गा कसरी अर्कैको भयो ?’

‘अहिले जग्गा कसरी अर्कैको भयो ?’

??????

बिर्तामोड । ७५ वर्षकी सुजना देवी पासवान जग्गा जाने चिन्ताले निदाउन सकेकी छैनन् । खोला किनारमा सानो छाप्रो हालेर बसेको थुप्रै वर्ष भयो । उनलाई ठ्याक्कै बसेको वर्ष थाहा नभए पनि ‘निर्दल-बहुदल’ मधुरो सम्झिन्छिन् । भन्छिन्, ‘हामी बसेको थुप्रो पछाडि निर्दल– बहुदल आएको थियो ।’

सिलगुडीबाट बिबाह गरेर ल्याएकी उनलाई केही समय विराट पोखरमा राखियो । त्यसपछि सानो छाप्रो बनाएर आएका हुन्, बिर्तामोड –३ स्थित करेलाबारी । उनले दुई छोरा र छोरी हुर्काइन्, बिहे दान पनि सकिन् । अहिले त नाति पनि कमाउने भइसक्यो ।

महिना दिन अघि बस्ती अर्कैको नाममा भएको हल्ला चल्यो । पासवानको होस चेत उड्यो । पासवान मात्र होइन बिर्तामोड–३ मा पर्ने सुकुम्बासी बस्ती (करेलाबारी) का ५५ वटा परिवार त्यही चिन्तामा छ ।
करिब १५ दिन अघि दुई चार जना मान्छे आए । उनीहरूले बस्ती बसेको जग्गा वर्षाै अघि अरु नै कसैले किनेको भने । उनीहरूले भने, ‘यो जग्गाका मालिक दमकका हुन् । अब यो जग्गा खाली गर्नु पर्छ ।’

७१ वर्षका गन्धक चौधरी बस्ती बसाउँदाका दुःख सुनाउँछन् । ‘बजारबाट लास ल्याएर फाल्ने ठाउँ थियो’ उनले भने, ‘मैले पनि धेरै वटा लास हटाएर छाप्रो बनाएको हुँ ।’ खोलाले कहिले जग्गा कटाएर लान्थ्यो, कहिले सडेका लास फ्याँकेर बसिन सक्नु हुन्थ्यो । मुस्किल सहेर बसेको सुनाउँदै प्रश्न गर्छन्, ‘हामी बस्न सुरु गर्दा त यो जग्गा कसैको थिएन । अहिले कसरी अर्कैको भयो ?
शनिश्चर दास ६५ वर्षका भए । उनका बुबाले जस्तै उनले पनि मिस्त्री पेशा रोजे । उनी त्यो ठाउँमा घर बनाउन आउँदा त्यहाँ एउटा पनि घर थिएन । सैनिक जाने बाटा कै मुखमा घर बनाएर बसे । जग्गा सरकारी थियो । उनीसँग थुप्रै पटक सरकारलाई तिरेको शुल्कका रसिद छन् । नागरिकता प्रमाणपत्र छ ।

‘यो बाटो हो, पुरानो चल्तिको बाटो’ उनले बाटो देखाउँदै भने, ‘यो बाटो र खोलाको बिचमा रहेको जग्गामा घर बनाएर बसेका छौँ । हामीले जानेसम्म यो ऐलानी जग्गा हो । एक पटक भोग चलानको आधारमा जग्गा दिने हल्ला पनि आयो ।’ सँगै उनले प्रश्न पनि गरे, ‘तर, जग्गाको पुर्जा के आधारमा दिन्छ सरकारले ? यहाँ बस्दै नबसेको मान्छेलाई के आधारमा पुर्जा दिएको हो ?’

जग्गा दाबी गर्न आउनेहरूले सकभर फकाउने कोसिस गरेछन् । प्रलोभन देखाएछन्, नमानेपछि कानुनी डर छाडेर गएका रहेछन् । रेखा पासवान भन्छिन्, ‘हामीलाई ल्याप्चे हान्न भनेका थिए, के आधारमा हामीले ल्याप्चे हान्नु ?’
उनले ल्याप्चे हान्न नमानेपछि उनलाई सम्झाउने कोसिस भएको सुनाउँछिन् । भन्छिन्, ‘भाडा तिरेर बस्नु जग्गा दिन्छौँ पनि भने, कहाँबाट पैसा ल्याएर भाडा तिर्नु ?’ मलिन अनुहार बनाउँदै दुःख सुनाइन्, ‘बच्चा बिरामी हुँदा उपचार गर्ने पैसा त हुन्न, कहाँबाट तिर्नु जग्गाको पैसा ?’

श्रीमनी दासका ससुरा त्यही बिते, श्रीमान् बिते । उनको नाति पुस्ता हुर्किसक्यो । यसरी हेर्दा सो जग्गामा चौथो पुस्ता हुर्किँदै छ । श्रीमती त्यहाँ आउँदा सो क्षेत्र लास जलाउने ठाउँ थियो । घरहरू पातला थिए ।

करेला बारी टोल बिकास संस्थाका अध्यक्ष कुमार कन्दङ्वा पहिला पनि जग्गा दाबी गर्न आएको सुनाउँछन् । ‘५५ सालतिर दमकबाटै कोही आएको थियो जग्गा दाबी गर्न’ उनी भन्छन्, ‘त्यति बेला लामो विवाद गर्न सकेनन् र फर्किए ।’ उनको विचारमा जग्गा दाबी गर्ने टोली त्यही हुनुपर्छ । भन्छन्, ‘टोली त्यही हुनसक्छ, तर पात्र फरक छन् ।’

सुकुम्वासी बस्ती बसेको जग्गामा दाबी भएको यो दोस्रो पटक हो । आधारहीन दाबी गरेकामा भने कन्दङ्वा आफै अचम्मित छन् । ‘के आधारमा सरकारले जग्गाको पुर्जा दिन्छ’ उनले भने, ‘यो ठाउँमै नभएको, यो गाउँमै नभएको मान्छेले कसरी जग्गा दाबी गर्न सकेको ?’
जग्गाको दाबी दमकका घनेन्द्र देवि थापा र सरस्वती ढकालले गरेका हुन् । उनीहरूसँग वन सुदृढीकरण आयोगले जारी गरेको पुर्जा भएको दावी गरिएको छ ।

एमालेका नेता प्रवीण पोखरेलले यो जग्गा उनीहरूको हुनै नसक्ने बताउँछन् । ‘यो बस्ती बसेको नगरपालिकालाई पनि थाहा छ, वडा लाई पनि थाहा छ’ उनी भन्छन्, ‘आधारहीन तर्क गरेर मात्र जग्गा कसैको हुँदैन ।’

पोखरेलको घर बस्तीबाट नजिकै पर्छ । करेला बारी टोलमा बस्ती बसाउन सुरु गर्ने फागुनी मिस्त्रीको पुरानो घर पोख्रेलकोसँगै थियो । उनी कानुनतः प्रश्न गर्छन्, ‘जग्गाको हाल साबिक गर्दा यो बस्ती भएको पाटो सिङ्गै छाडिएको थियो, यसको कित्ता काटिएको थिएन ।’ उनी प्रश्न गर्छन्, ‘कित्ता काट नै नभएको जग्गा कसरी पास भयो ?’

शेयर गर्नुहोस :

54
Shares