Banner news

झापाका १०२ विद्यालय अनुदानबाट बञ्चित हुँदै

झापाका १०२ विद्यालय अनुदानबाट बञ्चित हुँदै


बिर्तामोड । झापाका १०२ वटा सामुदायिक विधालय सरकारी अनुदानबाट बञ्चित हुने भएका छन् । सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधाबाट वञ्चित गर्ने भएपछि झापाका समेत १०२ विधालय सो सुविधाबाट बञ्चित हुने निश्चित भएको हो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी बेरुजु राख्ने विद्यालयको सूची वेवसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।

त्यस्तै बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्यौट नगरेसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदान कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको छ । बेरुजु भएका विद्यालयका प्रधानाध्यापकहरुलाई बेरुजु फर्छ्यौट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न पनि केन्द्रले निर्देशन दिएको हो ।

झापामा बेरुजु देखिएका विधालयहरुलाई फस्र्योटका लागि शिक्षा इकाईले ताकेता गरिरहेको छ । शिक्षा समन्वय इकाईले सूचना सार्वजनिक गर्दै विधालयहरुलाई विवरण समेत पेश गर्न भनिरहेको इकाईले जनाएको छ ।

समग्रमा १८-१९ हजार विद्यालय भवन निर्माणको रकम बेरुजु रहेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका लेखा नियन्त्रक विनोद गेलालले अनुमान गरे । यद्यपि यो अनुमानित भएकाले यकिन तथ्यांक लिन जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिइएको उनले बताए ।

साविकका जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि बजेट लिएका विद्यालयले भवन निर्माण सुरु नगरेको भए सो बजेट बेरुजु खातामा दाखिला गराउन पनि केन्द्रले निर्देशन दिएको छ ।

विभिन्न आर्थिक वर्षमा भवन निर्माणका लागि विधालयहरुले गरेको खर्चमा बेरुजु देखिएकाले गत आर्थिक वर्ष ५७ विधालयले कार्यसम्पन्न प्रगति प्रतिवेदन पेश गरेका थिए । ४५ वटा विधालयहरुले अहिलेसम्म प्रगति प्रतिवेदन समेत नबुझाएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । प्रतिवेदन बुझाउने र बुझाउन बाँकी जम्मा १०२ वटा विधलायले हालसम्म हिसाव बुझाएका छैनन्, झापाका इकाई प्रमुख राजकुमार विकले भने – सूचनामा सार्वजनिक गरिएका विधालयहरुदलाई तत्कालै बेरुजु फस्र्यौट गर्न भनिएको छ । प्राविधिक नापजाँच गरेर बिल भरपाई सहितको प्रतिवेदन बुझाएपछि महालेखालाई पठाइन्छ, उनले भने – महालेखाले हिसाव बुझेर प्रमाणित गरेपछि मात्रै बेरुजु फस्र्याैट हुन्छ ।

विधालयहरुलाई भवनहरुमा के कस्ता क्रियाकलाप सञ्चालन भइरहेका छन्, जानकारी दिन पत्राचार गरेको छ । इकाईले विधालय भवन , शौचालय, कम्पाउण्ड वाल निर्माण तथा मर्मत सुधारमा भएको खर्चमा बेरुजु देखिएपछि फस्र्यौटका लागि प्रधानाध्यापकहरुसँग छलफल समेत गरेको थियो ।

शिक्षा इकाई झापाको तथ्याङक अनुसार कार्यसम्पन्न प्रतिवेदन बुझाउन बाँकी २५ विधालयले शौचालय निर्माणका लागि ६ लाखका बजेट प्राप्त गरेका थिए । २ विधालयलाई ४ कोठे भवन निर्माणका लागि १८ लाख, ३ विधालयलाई २ कोठे भवनका लागि १६ लाख, २ विधालयलाई नयाँ कक्षा कोठा, १ विधालयलाई ८ कोठे भवन निर्माणका लागि २४ लाख, बृहत मर्मतका लागि ५ देखि १५ लाख रुपैयाँसम्म विधालयहरुलाई निकासा गरिएको पत्रमा उल्लेख छ ।

शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार बेरुजु फस्र्यौट गर्न बाँकी विधालयहरुमा सिंहदेवी प्रावि पृथ्वीनगर, पाथिभरा निमावी पाँचगाछी, डोरामाडी उमावि महारानीझोडा, भद्रपुर उमावि, फुलवारी उमावी चकचकी, जनज्योती मावि, खजुरगाछी उमावि, कमला.म . आ. मावि, जनजागृति मावि गोल्धाप, जनता आवि, जनविकास आवि, कनकाई आवि,बुद्ध आवि घेरावारी, दुर्गा मावि गरामनी, शहिद धर्मभक्त मावि, अमर आवि गौरादह, लक्ष्मीप्रसाद देवकोटा मावि कचनकवल, लक्ष्मी आवि विर्तामोड र जानकी मावि बालुबाडी रहेका छन् ।

यस्तै, बेरुजु फस्र्याेट गर्न बाँकी विधालयमा मोती मावि पथरिया, भृकृटी आवि झापा, शुक्रराज आवि विर्तामोड, साधुपति प्रावि बाह्रदशी, पशसपति मावि राजगढ, नवज्योती आवि झापा, मदरशा दारुल सलाम प्रावि बाह्रदशी, माधव संस्कृत विधाआश्रम प्रावि मेनपा, विरेन्द्र मावि चन्द्रगडी, जनआदर्श मावि शिवगञ्ज, भगवती मावि शिवगञ्ज, जनविकास आवि बाह्रदशी, महारानीगञ्ज मावि अर्जुनधारा, भानु मावि अर्जुनधारा, शनिश्चरे मावि अर्जुनधारा, नविकरण आवि बुद्धशान्ति, अर्जुनधारा मावि, जानकी आवि कनकाई, लक्ष्मी मावि हल्दिवारी, सिंहदेवी मावि अर्जुनधारा र जनता प्रावि गरामनी रहेका छ ।

अन्य ५७ वटा विधलायले कार्यसम्पन्न प्रगति प्रतिवेदन बुझाए पनि बेरुजु फस्र्याैट नगरेको शिक्षा इकाई झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares