बिर्तामोड । झापा जिल्ला अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत शनिवार सम्पन्न चार खेलमा अर्जुनधारा नगरपालिका, गौरीगञ्ज गाउँपालिका, दमक नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् ।
शनिवारको पहिलो खेलमा अर्जुनधारा नगरपालिका र कमल गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धात्मक खेलमा अर्जुनधारा नगरपालिकाले १–० गोलअन्तरले कमल गाउँपालिकालाई पराजित गर्दै जित हासिल गरेको छ ।
दोस्रो खेलमा मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिका आमनेसामने भएका थिए । निकै रोमाञ्चक बनेको उक्त खेलमा गौरीगञ्ज गाउँपालिकाले १–० को जित निकाल्दै अर्को चरणतर्फको यात्रा बलियो बनाएको छ ।

तेस्रो खेलमा दमक नगरपालिका र हल्दिबारी गाउँपालिका बीच खेल तय भए पनि हल्दिबारी गाउँपालिकाको अनुपस्थितिका कारण दमक नगरपालिकाले वाकओभर मार्फत जित हासिल गरेको छ ।
अन्तिम खेलमा झापा गाउँपालिका र कचनकवल गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट प्रदर्शन गरेको झापा गाउँपालिकाले कचनकवल गाउँपालिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ ।

जिल्लाभित्रका विभिन्न स्थानीय तहका कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यका साथ सञ्चालित प्रतियोगिता उत्साहपूर्ण रूपमा अघि बढिरहेको आयोजक कनकाई नगरपालिकाले जनाएको छ । प्रतियोगिताअन्तर्गत आइतवार क्वार्टरफाइनल चरणका चार वटा खेल सञ्चालन हुनेछन् ।
पहिलो खेल शिवसताक्षी नगरपालिका र बिर्तामोड नगरपालिका, दोस्रो खेल अर्जुनधारा नगरपालिका र दमक नगरपालिका, तेस्रो खेल गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिका, अन्तिम चौथो खेल कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ ।







प्रतिक्रिया