Banner news

प्रथम अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिताको उपाधि आयोजकलाई

प्रथम अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिताको उपाधि आयोजकलाई

रोहित काफ्ले


भद्रपुर – विश्वमा लोकप्रियता हासिल गरिसकेको तर नेपालमा ओझेलमा रहेको हक्की खेललाई उजागर गर्दै प्रवद्र्धन गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक आयोजना गरिएको ‘प्रथम अन्तर्राष्ट्रिय नकआउट 5s हक्की प्रतियोगिता २०८३’ को उपाधि आयोजक भद्रपुर नगर हक्की संघको टिमले जितेको छ ।

आज भएको फाइनल खेलमा भारतको आरके रोय अफ हक्की एकाडेमी भारतलाई ४–२ गोल अन्तरले अन्तरले पराजित गर्दै भद्रपुरले पहिलो उपाधिमा कब्जा जमाएको हो ।

उपाधिसँगै भद्रपुर नगर हक्की संघले रु. २ लाख नगद, शील्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाउनु परेको आरके रोय अफ हक्की संघले रु. एक लाख नगदसहित शील्ड तथा मेडल प्राप्त गरेको छ ।
भारतको वैशाली हक्की टिमले तेस्रो स्थान हासिल गरेको छ । वैशालीले नगद ५० हजारसहित शील्ड प्राप्त गरेको छ ।
विजेता भद्रपुरले सेमिफाइनलमा वैशाली भारतलाई पराजित गरेको थियो भने उपविजेता आरके रोयले विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको थियो ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको यो प्रतियोगितामा विजेताको पुरस्कार भद्रपुर ८ स्थित ओम साई पाथिभरा हस्पिटलका संस्थापक अध्यक्ष दिपक पोखरेलले सौजन्य गरेका थिए भने उपविजेताको पुरस्कार रकम झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष युवा उद्यमी राजकुमार राईले सौजन्य गरेका हुन् । यस्तै तेस्रो पुरस्कारको सौजन्य स्थानीय समाजसेवी परमानन्द मिश्रले उपलब्ध गराएका हुन् ।

विधागततर्फ फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टिम भद्रपुरका रतन विनोदले प्राप्त गरे । यसैगरी उच्च गोलकर्ताको पुरस्कार विजेता टोली भद्रपुरका सुदीप चौधरीले प्राप्त गरे । उनले प्रतियोगितामा सर्वाधिक १० गोल गरे । उत्कृष्ट गोलकिप्पर भद्रपुरकै विष्णु घिमिरे भए भने उत्कृष्ट डिफेण्डरको पुरस्कार उपविजेता टिम आरके रोयका मोहम्मद सिद्धिकी भए भने उदीयमान खेलाडीको उपाधि भद्रपुरकै आर्यन राजवंशीले हात पारे । व्यक्तिगत पुरस्कारको राशि नगद ५ हजार रहेको थियो ।

यसैगरी, फेयर प्ले टिमको पुरस्कार पोखरा गण्डकीको टिमले जित्यो । उसले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्यो ।
राष्ट्रिय कलाकार श्रीकृष्ण लुइँटेलको सांगीतिक प्रस्तुतिका साथ आयोजित समापन समारोहमा विजेता टोलीहरुलाई प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, ९ नं वडाध्यक्ष रामप्रसाद दाहाल, मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अनुज खतिवडा, पुरस्कार सौजन्यदाता ओम साई पाथिभरा हस्पिटलका प्रवन्ध निर्देशक बालकुमार पोखरेल (साईराम), राजकुमार राई, प्रमानन्द मिश्रलगातले पुरस्कार वितरण गरेका थिए ।

भद्रपुर नगर हक्की संघको आयोजनामा शुक्रबार सुरु भएको प्रतियोगिता पहिलो दिन प्रतिकूल मौसमका कारण दोस्रो दिन शनिबार उद्घाटन गरिएको थियो । आयोजक संघका अध्यक्ष सरोजकुमार वस्नेतको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले गरेका थिए ।

विभिन्न विधा समेटिएको कार्यक्रम आयोजक संघका महासचिव खगेन्द्र ढुंगाना, सल्लाहकार समितिका संयोजक अनिल ढुंगाना र प्रचार–प्रसार संयोजक रोहित काफ्लेले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा भारतका तीन, विभागीयसमेत नेपालका ६ टिम र आयोजक एक टिम गरी १० टिमको सहभागितामा थियो । खेल लिग कम नकआउट विधिमा खेलाइएको थियो ।

दर्शकको अपार साथ र समर्थन पाएको प्रतियोगितामा रमपम चाउचाउ उत्पादक एशियन थाइ फुड्सले पुरस्कार योजना सञ्चालन गरेको थियो ।
प्रतियोगितालाई रोमाञ्चक बनाउन राष्ट्रिय कलाकारहरु डम्बर नेपाली, अशोक दर्जी र श्रीकृष्ण लुइँटेलले गीत प्रस्तुत गरेका थिए भने उद्घाटनका अवसरमा विभिन्न झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतियोगिताका लागि भद्रपुर नगरपालिका, कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्ड, झापा जिल्ला खेलकुद विकास समिति, पर्यटन कार्यालयलगायतका सरकारी निकायले महत्वका साथ चासो व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाइसकेका छन् ।

बढ्दो लागुऔषधको दुव्र्यसनबाट युवाहरुलाई जोगाउँदै खेलकुदमा समर्पित गराउने उद्देश्यसमेत जोडिएको यो प्रतियोगिताले हक्की खेलप्रति आमदर्शक खेलकुदप्रेमीहरुको ध्यान आकर्षित भई हक्की प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष वस्नेतले बताए ।

शेयर गर्नुहोस :

108
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu