कनकाई । झापा जिल्ला अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतवार सम्पन्न क्वार्टरफाइनल चरणका चार खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलमा शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका, अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वार्टरफाइनल खेलमा शिवसताक्षी नगरपालिकाले बिर्तामोड नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यसैगरी दोस्रो खेलमा अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा अर्जुनधारा नगरपालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
तेस्रो खेलमा गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत भएको निर्णयमा गौरीगञ्ज गाउँपालिकाले जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको छ ।
अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको कनकाई नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै शानदार जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने चार टोलीको टुङ्गो लागेको छ । सोमवार सेमिफाइनल चरणका दुई खेल सञ्चालन हुने आयोजक कनकाई नगरपालिकाले जनाएको छ ।
पहिलो सेमिफाइनल शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिका, दोस्रो कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिकाबीच खेल हुने आयोजक कनकाई नगरपालिकाले जनाएको छ ।
जिल्लाभित्रका विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।








प्रतिक्रिया