बिर्तामोड । झापामा एक दशकदेखी सडकमा गुञ्जिदै आएका दृष्टिबिहीन गायक जेठा मुर्मू सधैंका लागि अस्ताएका छन् । गायन कै क्रममा सुनसरी क्षेत्रमा बसोबास गर्दै आएका दृष्टिबिहीन गायक मुर्मूको शुक्रवार राती उपचारको क्रममा निधन भएको छ । दृष्टिबिहीन अगुवा दिलकुमार राजवंशीले जेठा मुर्मूको उपचारका क्रममा निधन भएको जानकारी दिए ।
सुनसरीस्थित इटहरी र धरान क्षेत्रमा गाउँदै हिड्ने दृष्टिबिहीन गायक मुर्मूको इटहरीमा उपचारका क्रममा निधन भएको हो । झापाका विभिन्न गाउँदेखि शहरमा गुञ्जिदैं आएका मुर्मू केहि समयदेखि सुगर, प्रेसर र कोलस्ट्रोल सम्बन्धी स्वास्थ्य समस्या झेलिरहेका थिए । शुक्रवार दिउँसो सडकमा गाएर साँझ कोठा आएका मुर्मूलाई विरामी भएपछि इटहरीस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

झापा कचनकवल – ८ डाँगाबारी घर भई बिर्तामोडमा परिवारसहित डेरा बस्ने मुर्मू गायकीकै लागि विभिन्न शहर डुल्दै आएका थिए । सोही क्रममा उनी १ वर्षदेखि सुनसरीका बजारहरुमा गाउँदै जीवनयापन गर्दै आएका थिए । ३९ वर्षीय मुर्मू झापाका सडकमा गाउँने दृष्टिबिहीनहरुमा चर्चित र पुरानामध्येका एक हुन् ।
सडकमा गाउँने मुर्मूलाई विद्यार्थीकालमा बिर्तामोडस्थितमा कनकाई आदर्श माविले निशुल्क अध्ययनमा सहयोग गरेको थियो भने कलकत्ता मिष्ठान्न भण्डारले खाना र सयपत्री लजले बसोबासका लागि सहयोग गरेको थियो । उनी विवाह गरेर एक छोरीसहित बिर्तामोडमा डेरामा बस्दै आएका थिए । पारिवारिक जीवनयापनका लागि पछिल्लो एक वर्षदेखि उनी सुनसरी क्षेत्रमा बसेको राजवंशी बताउँछन् ।
गीत गाउँने, गाडीका आवाज निकाल्ने, पंक्षीका आवाजहरु निकालेर मनोरञ्जन दिने जेठा मुर्मू सधैंका लागि अस्ताएका छन् । प्रतिभा भएर पनि मुर्मूले अवसर नपाएको दृष्टिबिहीन अगुवा राजवंशीको भनाई छ । मुर्मूलाई मनोरञ्जनात्मक कार्यक्रमका लागि विभिन्न संघ संस्था, विद्यालयहरुमा लैजाने गरिएको थियो ।
उनका अनुसार जेठा मुर्मूको आइतवार विहान १०ः३० बजे मेचीघाटमा अन्त्येष्टी गरिने छ ।







प्रतिक्रिया