शिवसताक्षी । ‘आजको सानो प्रयास, भोलिको उत्कृष्ट खेलाडी निर्माणको आधार’ भन्ने मूल नारासहित झापाको शिवसताक्षी नगरपालिका–१० स्थित केएनके स्पोर्टिङ क्लबको खेल मैदानमा ग्रासरुट फुटबल तालिम सञ्चालन भइरहेको छ ।
स्थानीय केएनके स्पोर्टिङ क्लबको आयोजनामा १० वर्षमुनिका (अन्डर–१०) बालबालिकालाई लक्षित गरी ग्रासरुट फुटबल तालिम सुरु गरिएको हो । बालबालिकामा लुकेको फुटबल प्रतिभाको पहिचान तथा विकास गर्ने, खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने र स्वस्थ, अनुशासित तथा खेलप्रेमी पुस्ता निर्माण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको के.एन.के स्र्पोटिङ्ग क्लब सचिव निरकुमार बस्नेतले जानकारी दिनुभयो ।

तालिममा शिवसताक्षी नगरपालिका वडा नं. १० का ४० जना बालबालिकाको सहभागिता रहेको छ । तालिममार्फत बालबालिकालाई फुटबल खेलका आधारभूत सीप, नियम तथा प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । क्लबका अध्यक्ष अर्जुन योङ्गहाङ्गका अनुसार क्लबले वडाका बालबालिकाहरुका लागि निशुल्क फुटबल प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणका क्रममा बल नियन्त्रण (बल कन्ट्रोल), पासिङ, ड्रिब्लिङ, सुटिङ, बल रिसिभ, खेलमा पोजिसनको ज्ञान, टिमवर्क तथा खेल अनुशासनजस्ता फुटबलका आधारभूत सीपमा विशेष जोड दिइने क्लबका सल्लाहकार सदस्य मोहन योङहाङ्गले जानकारी दिनुभयो । साथै बालबालिकाको शारीरिक तन्दुरुस्ती, खेल भावना, आत्मविश्वास र सामूहिक सहकार्यको विकासमा समेत ध्यान दिइने आयोजकले जनाएको छ ।
२०८३ साल कात्तिक १० गतेदेखि सुरु भएको तालिम कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । तालिममा प्रशिक्षकको रुपमा झापा–११ का खेलाडी मनिष योङहाङ र सन्दीप लिम्बु रहेको क्लबका सल्लाहकार तथा शिवसताक्षी नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङ्गले जानकारी दिनुभयो ।

क्लबका उपाध्यक्ष पदम कुँवरले पछिल्लो समय बालबालिकाहरू मोबाइल र टेलिभिजनमा बढी समय बिताउने प्रवृत्ति बढ्दै गएको बताउनुभयो। यसले उनीहरूको शारीरिक सक्रियता घट्नुका साथै स्वास्थ्यमा समेत विभिन्न समस्या निम्त्याउन सक्ने भएकाले बालबालिकालाई मोबाइल र टिभीको लतबाट टाढा राख्दै शारीरिक रूपमा स्वस्थ र सक्रिय बनाउन फुटबल तालिम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । साथै, यस्ता खेलकुद गतिविधिले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत सकारात्मक योगदान पु¥याउने उहाँको भनाइ थियो ।
स्थानीय स्तरबाटै बालप्रतिभाको पहिचान गरी उनीहरूलाई फुटबल खेलमा भविष्य निर्माण गर्न प्रेरित गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको क्लबले जनाएको छ । यस किसिमका ग्रासरुट कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि फुटबलप्रति आकर्षित गर्नुका साथै भविष्यमा दक्ष खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया