बिर्तामोड । झापाको बिर्तामोडमा व्यवसायीहरुले निजी शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएका छन् । आइतवारबाट सहकारी, होटल व्यवसायीहरुले धमाधम सार्वजिनक रुपमा प्रयोग गर्न दिने घोषणा गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रभावले यहाँका व्यवसायी समेत उदार रुपमा प्रस्तुत भएका छन् । बालेनले काठमाडौंका होटल, रेष्टुराका शौचालयलाई सार्वजनिक प्रयोगका लागि अपिल गरेका थिए । सोही प्रभावले बिर्तामोडमा समेत शौचालय प्रयोग गर्न दिने घोषणा गर्न थालिएको छ ।
सोमवार बिर्तामोडमा पश्चिम बसस्टेन्ड नजिकै रहेको सेन्टर पोइन्ट (सिपी) होटल तथा पार्टी प्यालेसले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा सर्वसाधरणको लागि खुला गरिएको सञ्चालक रितेन खरेलले जानकारी दिए । बसबाट ओर्लिने तथा बस चढ्न पर्खेका यात्रुहरुलाई ध्यानमा राखेर सो सुविधा व्यवस्था गरिएको खरेलको भनाई छ ।
आइतवार मात्रै शिखर सहकारीले भद्रपुर रोडमा रहेको आफ्नो कार्यालयको शौचालय सर्वसाधारणका लागि खुला गर्ने घोषणा गरेको थियो । लामो समयदेखि झापाको मुख्य बजार बिर्तामोडमा सार्वजनिक शौचालयको समस्या रहँदै आएकाले अब समाधान हुने आशा गरिएको छ ।







प्रतिक्रिया