काठमाडौं । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ ।
कच्चा पदार्थको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर बढ्दा पनि आयात लागत वृद्धि भएको उनको भनाइ छ । ‘डलर अघिल्लो वर्षभन्दा यस वर्ष बढेको र कच्चा पदार्थको लागत पनि वृद्धि भएकाले स्रोत बजारमै पर्ने प्रतियुनिट मूल्य बढेको हो,’ उनले भने ।
ढुवानी खर्चमा भएको वृद्धिले पनि आयातित सामग्री महँगिएको छ । पौडेलका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलर थियो । अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर सहजै पाउन नसकिने अवस्था छ । ढुवानी खर्च करिब तीन गुणासम्म बढ्दा त्यसको भार अन्ततः उपभोक्ताले खरिद गर्ने सामग्रीको मूल्यमा पर्ने उनले बताए ।
चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामग्री ल्याउन नसक्दा पनि आयात लागत बढेको पौडेलले बताए । केरुङ नाकाबाट सामान ल्याउँदा तुलनात्मक रूपमा कम खर्च पर्ने भए पनि अहिले वीरगन्जलगायत अन्य भन्सार नाकाबाट घुमाएर ल्याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।
पौडेलका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति पक्ष कमजोर बनेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै व्यवसायीसँग पर्याप्त मौज्दात छैन । मूल्य बढे पनि कारोबारको परिमाण भने सोही अनुपातमा बढ्न नसकेको उनले बताए । कच्चा पदार्थ, डलरको विनिमय दर र ढुवानी खर्च बढ्नुका साथै आपूर्तिमा समेत समस्या देखिएकाले यस वर्ष तिहारमा झिलिमिली बत्तीको मूल्य गत वर्षभन्दा महँगो पर्ने व्यवसायीको भनाइ छ ।
पार्वती भण्डारी,नेपाल न्यूज बैंक







प्रतिक्रिया