बिर्तामोड । नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले नागरिकता बिधेयक प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो भुमिका निर्वाह गरेको बताउनु भएको छ ।

आज बिर्तामोडस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै नेता खरेलले प्रचण्डको दोहोरो चरित्रका कारण संसदमा पेश भएको नागरिकता बिधेयक फिर्ता भएको र विदेशी बुहारीलाई तत्काल नागरिकता दिने विषय उल्लेख भएको जिकिर गर्नुभयो । ‘संसदमा बिधेयक छलफलका क्रममा रहेको समयमा सबैभन्दा बढी बिधेयकको पक्षमा रहेको दल माओवादी केन्द्रले यतिखेर सो बिधेयक फिर्ता गर्न अग्रसरता देखाएर विदेशी बुहारी ल्याउना साथ नागरिकता दिने विषय राख्नु रहस्यमय कुरा हो’, नेता खरेलले भन्नुभयो– ‘एकातिर भारतसँग समानताको सिद्धान्त अख्तियार गरेर बिधेयक कार्यान्वयन हुनुपर्छ भन्ने अनि फिर्ता लिन र ‘बैवाहिक अंगिकृत’ नागरिकताका विषयमा यस्तो गलत कामको नेतृत्व गर्ने ?’
‘भारतमा बिवाह गरेर गएका महिलाले त्यहाँको नागरिकता प्राप्त गर्न ७ बर्षको समय लाग्छ । नेपालमा पनि समानताको सिद्धान्त अख्तियार गर्दै ७ बर्षे समयावधि राखौं भनेर संसदीय समितिमा पारित भएर संसदमा दर्ता भएको बिधेयक एक्कासी फिर्ता भएर राम्रो सन्देश गएको छैन’, नेता खरेलले भन्नुभयो– ‘माओवादी र माधब नेपालको पार्टीको अडान यसमा टिक्न सकेन ।’
नेता खरेलले विवाहको जग्गेमै विदेशी बुहारीलाई नागरिकता दिनु गलत हुन्छ भन्ने एमालेको मान्यता रहेको उहाँले उल्लेख गर्नुभयो । ‘हामीलाई थाहा छ, हाम्रो संशोधन प्रस्ताव कार्यान्वयन हुँदैन, तर पनि हामीले पार्टीको अडानस्वरुप त्यो दर्ता गरेका हौं’, खरेलले भन्नुभयो– ‘नागरिकता जस्तो संवेदनशील बिषयमा सत्ताधारी दलहरुले लापरवाही नगरिदिएको भए राम्रो हुन्थ्यो ।’
बिदेशबाट बिवाह गरेर नेपाल आउने बित्तिकै ‘बैवाहिक अंगिकृत’ नागरिकता प्राप्त हुने गरी विधेयक पास भएको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमण लगत्तै संसदमा नागरिकता जस्तो संवेदनशील विषयमा यस्तो हुनुलाई अर्थपुर्ण मानिएको छ ।







प्रतिक्रिया