बिर्तामोड । झापा बिर्तामोड–९ का दिलेन्द्र कार्कीले विधार्थीकालमा जीवन बीमा गरेका थिए । चिनेजानेको साथीबाट जीवन बीमा गरेका कार्कीलाई बीमामा गरेको लगानी दोब्बर हुन्छ भन्ने थाहा थियो । दोब्बर हुने भएकाले उनले साथीको आग्रहलाई स्वीकार गर्दै लगानी पनि गरे ।
उनले तत्कालिन अमेरिकन लाइफ इन्स्योरेन्समा २ लाखको जीवन बीमा गरेका थिए । त्यतिबेलाको अमेरिकल लाइफ इन्स्योरेन्स अहिलेको मेट लाइफ इन्स्योरेन्स भएको छ । १५ वर्षमा २ लाख ८७ हजार प्रिमियम बुझाएका कार्कीले बीमा वापतको भुक्तानी दावी गर्न जाँदा उनले जम्मा ३ लाख ११ हजार प्राप्त गरे ।

डेढ दशकको लगानीमा जम्मा प्रिमियमभन्दा २४ हजार रकम बढि आयो । सो रकम लिएपछि उनले सामाजिक सञ्जालमा लेख्दै भने – एजेण्टहरुको भ्रममा परेर उनीहरु र कम्पनीलाई मात्रै फाइदा हुने काम नगर्न आग्रह गर्दछु । उनले लामो समय बीमामा लगानी गर्नुको कुनै औचित्य नरहेको गुनासो पोखे ।
इजलाससँग कुरा गर्दै भने – ‘बीमा गर्नुहोस् भन्दै आउनेहरु दलाल हुन् । हामीले तिरेका रकमबाट उनीहरुले वर्षौसम्म कमिशन खाने रहेछन् । लगानी कर्ता उल्टै घाटामा जाने देखियो ।’ बैंकको व्याज समेत नबोक्ने बीमा गर्नुको औचित्य मैले देखिन, उनले थपे । उनले बीमा कम्पनीहरुले घुमाइफिराई ठगी रहेको आरोप समेत लगाएका छन् ।







प्रतिक्रिया