Banner news

झापामा महिला हिंसाका घटना बढ्दो

झापामा महिला हिंसाका घटना बढ्दो


गगन ढकाल
झापा । जिल्ला प्रहरी कार्यालय झापाले लैङ्गिक हिंसाका घटनाहरुको अनुपात बढिरहेको जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा महिला हिंसाका घटना बढेको तथ्याङक छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणीको उद्योग, जबरजस्ती करणी गरी मानव बेचबिखन, मानव बेचबिखन तथा ओसार प्रसार, कसूर जन्य कार्य, बालबालिकासम्बन्धी कसूर, बहुबिबाह, बाल यौन दुरुपयोग लगायतको हिंसाका १९० वटा मुद्दा दर्ता भएका थिए । चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा ५९ वटा यस्ता घटनाहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापामा अघिल्लो आर्थिक वर्षमा मात्रै ९६ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको तथ्याङ्क छ भने चालू आर्थिक वर्षको ४ महिना मै यो संख्या ४१ पुगिसकेको छ ।

मंसिर ७ गतेबाट २५ गतेसम्ममा सम्पन्न हुने महिला हिंसा विरुद्धको १६ दिने अभियान झापामा केहि ठाउँमा सञ्चालन गरिए पनि खासै प्रभावकारी रुपमा सञ्चालन भइरहेको पाइदैन । महिला हिंसा विरुद्धको अभियान जिल्लामा सशक्त नहुनुले सामाजिक संघ संस्थाको क्रियाशिलता घटेको बुझिन्छ ।

बिर्तामोड नगर पालिकाकी नगर प्रमुख पबित्रा महतरा प्रसाई हाल नगरबाट १६ दिने अभियानको कार्यक्रम सञ्चालनमा रहेको बताइन् । अभियानको समुद्घाटन गरिसकिएको छ, अभियान अन्तर्गतका कार्यक्रम गर्दै महिला सचेतिकरण गर्ने उनको भनाई छ । उनले आर्थिक वर्षको अन्त्य तिर महिला उद्यमशील तालिमहरु मार्फत नगरका महिलाहरुलाई सशक्तीकरण गर्ने योजना रहेको छ । महिलालाई आर्थिक सबल बनाएर लैङ्गिक हिंसाका घटना आफै न्यूनिकरण हुने बताइन् ।

यसै गरी गौरीगञ्ज गाउँपालिकाकी पालिका प्रमुख फुलबती राजवंशी आफ्नो पालिकामा ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका साथ विभिन्न जनचेतना मूलक कार्यक्रमहरु संचालन भइरहेको बताउँछिन् । प्रमुख राजवंशी सर्बप्रथम लैङ्गिक हिंसाको मात्र नभएर समाजमा हुने सबै किसिमको हिंसाको बिरुद्धमा आफूहरुले काम गर्ने र गरिरहेको बताउँछिन् । उनी भन्छिन् ‘मानिसलाई हिंसा भनेको के हो ? यो कसरी हुन्छ ? यसको प्रभाव के हुन्छ ? लगायतका कुराहरुमा जनचेतना जागृत गर्ने हो भने समाजमा समानता र समताको स्थापित भइ सबै किसिमको हिंसा रहित समाजको स्थापना हुने छ ।’

यसै गरी अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पबित्रा पाठकले आजै आफ्नो संगठनले बैठक बसि जिल्लाभरका सबै पालिकामा पालिका स्तरीय कार्यक्रमहरु सञ्चालन गरी यो १६ दिने अभियानमा भाग लिने बताइन् । उनी भन्छिन् ‘जिल्लाका सबै पालिकाका हाम्रा कमिटीहरुले विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरी महिला सशक्तीकरणमा भुमिका खेल्ने छौँ ।’

अध्यक्ष पाठकले महिलाहरुलाई राजनीतिक दलहरुले पनि हिंसा गर्ने गरेको बताएकी छिन् । उनी बताउँछिन् ‘हामी महिलाहरु सधै सबै ठाउँमा हिंसा भोगिरहेका हुन्छौँ, प्रदेश र प्रतिनिधि सभाको गरी यत्रो १५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा हामीलाई हाम्रो दलले एक ठाउँमा पनि प्रत्यक्ष तर्फको टिकट दिएन । यसरी प्रत्यक्ष तर्फ हामीलाई चुनावी प्रतिस्पर्धा गर्न नदिनु पनि राजनीतिक दलले पनि हामी माथि गरेको राजनीतिक लैङ्गिक हिंसा हो । हाम्रो संगठन यो राजनीतिक लैङ्गिक हिंसाको बिरुद्धमा बोलिरहेको छ र बोलिरहने छ ।’

शेयर गर्नुहोस :

0
Shares