काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरिएको घटनाले शाही शासनकालको झल्को दिएको बताएका छन्।
प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा पुगेर संवाददाता तथा अन्य पत्रकारहरूलाई पक्राउ गरेको घटनाप्रति प्रतिक्रिया दिँदै अध्यक्ष मिश्रले यस्तो कार्य उचित नभएको बताएका हुन्।
उनले प्रेसमा गलत सामग्री प्रकाशित वा प्रसारित भएको भए त्यसको कानुनी उपचार खोज्ने छुट्टै प्रक्रिया रहेको उल्लेख गर्दै पत्रकारमाथि धरपकड, हिरासत र गिरफ्तारीको बाटो अपनाउनु समस्याको समाधान नभएको बताए।
‘प्रहरी विभिन्न सञ्चारमाध्यमको समाचार कक्षमा गएर संवाददाता र अरू पत्रकारहरूलाई पक्राउ गरेको खबर भर्खरै थाहा पाएँ। यो शाही शासनकालको झल्को दिने घटना हो,’ मिश्रले भने।
उनले सरकार स्वयं यस्ता धरपकडजन्य गतिविधिमा उत्रिनु उचित नभएको भन्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे। संविधान र कानुनले सुनिश्चित गरेका प्रेस स्वतन्त्रतासम्बन्धी प्रावधानको पालना हुनुपर्ने उनको भनाइ छ।
मिश्रले पत्रकारहरूलाई पक्राउ र दमन गरेर कुनै पनि सरकारले सफलता हासिल गर्न नसक्ने उल्लेख गर्दै यस्ता घटनाले लोकतान्त्रिक व्यवस्थाका लागि सकारात्मक सन्देश नदिने बताए।
उनका अनुसार प्रेस जगत लोकतन्त्रको प्राण सञ्चार गर्ने महत्त्वपूर्ण माध्यम हो। प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै असर पार्ने उनको धारणा छ।
यस घटनाप्रति नेपाल बार एसोसिएसनले दुःख व्यक्त गरेको उल्लेख गर्दै अध्यक्ष मिश्रले पक्राउ परेका तथा हिरासतमा राखिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।
‘पत्रकारहरूलाई पक्राउ र दमन गरेर सरकार सफल भएको उदाहरण विश्वभर कतै पनि भेटिँदैन। यो राम्रो संकेत पनि होइन,’ उनले भने।








प्रतिक्रिया