बिर्तामोड

झापामा विविध कार्यक्रम गर्दै मनाइयो अन्तराष्ट्रिय अपाङ्गता दिवस

झापामा विविध कार्यक्रम गर्दै मनाइयो अन्तराष्ट्रिय अपाङ्गता दिवस


बिर्तामोड । झापामा ३१ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाइएको छ । जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गर्दै दिवस मनाइएको हो ।

बिर्ताबजारदेखि र्याली गर्दै अपांगता भएका व्यक्तिहरुले देवि माविमा पुगेर विविध कार्यक्रम गरि अन्तराष्ट्रिय दिवस मनाएका हुन् । बिर्तामोड अपांगता स्वालम्बन संस्था, झापा नेत्रहिन संघ,मेची बहिरा संघको संयुक्त आयोजनामा ३१ औं अन्तराष्ट्रिय दिवस मनाइएको हो ।

कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले अपांगता भएका व्यक्तिको अधिकारका लागि स्थानीय सरकार जिम्मेवार भएको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई समाजले सम्मानपूर्वक समान अवसर प्रदान गर्न अग्रसर हुनुपर्ने बताएकी हुन् । अपांगता भएका नागरिकको अधिकार अन्य नागरिक सरह भएकोले गलत दृष्टिकोणबाट हेर्न नहुने धारणा राखिन् । नगर सबै नागरिकका लागि बराबर व्यवहार गर्ने उनको भनाई थियो ।
कार्यक्रममा नृत्य, नाटक, गायन प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा अपांगता भएका व्यक्तिलाई कपडा र सेतो छडी वितरण गरिएको थियो ।

सोही कार्यक्रममा भेटिएका झापा नेत्रहिन संघका कोषाध्यक्ष दिल कुमार राजवंशीले सरकारले अपाङ्गहरुको निम्ति बनाएको अपाङ्गता ऐन-२०७४ लाई अक्षरस पालन गर्नुपर्ने माग राखेका राखेका छन् ।

नेत्रहिन युवा संघ नेपालका झापा अध्यक्षसम्म रहेका राजवंशीले अपाङ्गता भएका व्यक्तिहरुको निम्ति निमार्ण भएको अपाङ्गता ऐन -२०७४ र युआरसिडिपि महासन्धिको अक्षरस पालन हुनुपर्ने माग राखेका हुन् ।

राजवंशीले थप अपाङ्गहरुको समस्या राख्दै सरकारी र व्यक्तिगत प्रायः कार्यालयहरु अपाङ्गमैत्री नभएको गुनासो राखेका छन् । उनीहरुलाई शिक्षा र रोजगारीको कम अवसर भएको उनको भनाई छ । उनी भन्छन् ‘कार्यालयहरुको संम्रचनागत वातावरण हामीसँग मैत्री छैन, झनै शिक्षा र रोजगारको अवस्था त विकराल छ ।’ उनी थप्छन् ‘हामीलाई पढ्नका लागि आवश्यक पाठ्य सामग्री कै अभाव रहन्छ । रोजगारी पनि हाम्रो क्षमता अनुरुपको छैनन् । हामीले क्षमता नै पुर्याए पनि सामाजिक विश्वास छैन ।’

राजवंशी अपाङ्गहरुले भोग्नु परेका समस्याहरु राख्दै भन्छन् ‘सरकारले हाम्रो लागि पनि आवश्यक शिक्षा र रोजगारको व्यवस्था गर्नुपर्छ, रोजगारी हाम्रो सबैभन्दा ठूलो समस्या हो ।’

शेयर गर्नुहोस :

0
Shares