झापा । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तीव्रता दिएको छ । नगरपालिकामा आज बसेको स्थानीय भू–उपयोग परिषदको बैठकले केहि दिनभित्रमा जग्गा वर्गीकरणको काम सक्ने गरिका विषयमा छलफल गरेको हो ।
बैठकले बिहीबार देखि तालिका बनाएर प्राविधिक टोली सहित नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने सबै वडामा पुग्ने निर्णय गरेको छ । बिहीवार विहान वडा नम्बर २ देखि छलफल तथा बाँकी रहेका कामलाई अघि बढाउने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले सबै वडामा यसअघि देखिनै प्राविधिक टोली पठाएर जग्गा वर्गीकरणको काम गरिरहेको छ । नगरपालिकाले सबै वडामा स्थानीय भू–उपयोग परिषदको वडा समितिसमेत यसअघि नै गठन गरिसकेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली –२०७९ जारी गरेसँगै जग्गा वर्गीकरणको कामअघि बढाउन देशभरका पालिकाहरुलाई निर्देशन दिएको थियो ।
नियमअनुसार अब नेपालका जग्गाहरू विभिन्न १० खाले समूहमा वर्गीकरण हुने छन् । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र रहेका छन् ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया