बिर्तामोड । किसानहरुले मल नपाएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडलाई गुनासो गरेका छन् । कृषि सामग्रीको बिर्तामोड शाखामा किसानहरुले मल पाउन नसकेको भन्दै दिनहुँ गुनासो पोखिरहेका छन् ।
कृषि सामग्री कम्पनी बिर्तामोडले डिलरसिपको अनुमति पाएका सहकारीहरु मार्फत मल वितरण गर्दै आएको छ । बिर्तामोड शाखाका सूचना अधिकारी निरोज दाहालले किसानलाई सोझै मल दिन नमिल्ने बताए । उनका अनुसार मल वितरण व्यवस्थापन निर्देशिका –२०७७ अनुसार वितरण प्रणाली अवलम्बन गरिएको छ । सो प्रणाली अनुसार किसानले सहकारीहरुबाट मल खरिद गर्नुपर्ने हुन्छ ।

नेपाल सरकारले प्रदेशको मल वितरण समिति मार्फत जिल्ला–जिल्लालाई कोटा छुट्याए अनुसार मलको वितरण गरिदै आएको दाहालको भनाई छ । झापाले अन्तिम पटक पाएको १२५० मेट्रिक टन डिएपी र ९६२ मेट्रिक टन डीएपी वितरण गरिरहेको छ । प्रदेश मल वितरण समितिले कृषि ज्ञान केन्द्रहरु मार्फत पालिका–पालिकालाई कोटा अनुसार मल उपलब्ध गराउन कृषि सामग्री कम्पनीलाई आवश्यक सहजीकरण गर्दै आएको छ । पालिकाको मल वितरण समितिको निर्णय र सहकारीले त्यसअघि प्राप्त गरेको मलको विक्रि वितरणको प्रमाणित कागज बुझाएपछि कृषि सामग्री कम्पनीले कोटामा प्राप्त मल उपलब्ध गराउने सूचना अधिकारी दाहालको भनाई छ ।
झापाको १५ पालिकाका १८४ सहकारी संस्थाले मल खरिद गरेर विक्रि गर्दै आएका छन् । स्थानीय तहमा हुने मल वितरण समितिको निर्णय अनुसारको मुल्यमा सहकारीहरुले मल विक्रि गर्नुपर्ने हुन्छ । अधिकांस सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई प्राथमिकता दिँदा अन्य किसानले मल प्राप्त गर्न नसकिरहेको गुनासो बढेको छ । सूचना अधिकारी दाहाल भन्छन्, ‘किसानहरु मल पाएनौं भन्दै आउनुहुन्छ । उहाँहरुले सहकारीबाटै मल लैजानुपर्ने हुन्छ । त्यसको समाधान हामीसँग हुदैन ।’
कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडमा मंसिर २१ गतेको तथ्याङक अनुसार युरिया २४.३०० मेट्रिक टन, डीएपी ४२०.८०० मेट्रिक टन र पोटास ७६.७५० मेट्रिक टन मौज्दात छ । मल खरिद गरेर सहकारीहरुले धमाधम लगिरहेको कृषि कम्पनीले जनाएको छ ।
सहकारीहरुले मल खरिदपछि पारदर्शी ढंगबाट विक्रि गरे- नगरेको अनुगमन प्रभावकारी रुपमा हुन सकेको छैन । अनुगमन प्रभावकारी नहुँदा अधिकांस किसान मल पाउनबाट बञ्चित भइरहेको गुनासो बढ्दो छ । कृषि सामग्री कम्पनिले यूरिया प्रति बोरा रु ८०४, डीएपी रु २२५४ र पोटास रु १६५४ मा विक्रि गर्दै आएको छ । स्थानीय तहहरुले पालिकाहरुमा आफै मुल्य निर्धारण गर्ने गरेका छन् ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले मल पर्याप्त नभएका कारण सबै किसानले पाउन नसकेको साँचो भएको बताए । उनले मल पर्याप्त भएमा सबै किसानले सहजै पाउने बताएका छन् । बिर्तामोडमा सहकारीहरुले किसानको धनिपुर्जाका आधारमा मल विक्रि गर्ने गरेको संग्रौलाको भनाई छ । उनले भने, ‘पहिले जस्तो चिया बगानका मालिकले नै लैजाने गरिको अवस्था छैन, किसानसम्म मल पुगेको छ तर पर्याप्त छैन ।’







प्रतिक्रिया