Banner news

मल,विऊ र मुल्य सधैको समस्या : के गर्दैछन् झापाली किसानका नेता ?

मल,विऊ र मुल्य सधैको समस्या : के गर्दैछन् झापाली किसानका नेता ?


बिर्तामोड । हिउँदे बाली लगाउन खेत जोतेर बसेका किसान मल अभावले बाली लगाउन सकिरहेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी मार्फत वितरण गर्ने कोटाको मलले किसानलाई अचार पनि पुगिरहेको छैन ।

धान धन्क्याएर मकैं, गहुँ,तोरी र आलु लगाउन तयारी थालेका किसानलाई हरेक वर्ष मल कै चिन्ता हुने गर्छ । किसानलाई सधैंको समस्या बनेको छ, मल, विऊ र पानी । यहि किसानको नेता बनेका नेतृत्वहरु पनि उनीहरुको समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको अवस्था छ । दलका भातृ संस्था जो किसानको नेतृत्व गर्छन्, उनीहरु नै यसै समस्याबाट पीडित छ ।

एमालेको अखिल नेपाल किसान किसान महासंघ झापाका अध्यक्ष गोपाल चुडालले किसानका समस्या समाधानका लागि पाँच दिनको अल्टिमेटम सहित आन्दोलनमा रहेको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मुख्य दुई वटा मागसहित ज्ञापनपत्र बुझाएको बताए ।

सरकारले तोकेको धानको मुल्य किसानले पाउनुपर्ने र आवश्यक मात्रामा मलको व्यवस्था मिलाइनुपर्ने महासंघको माग छ । सो मागसहित बुधबार ज्ञापनपत्र बुझाइएको चुडालले जानकारी दिए । सरकारले तोकेको धानको मुल्य किसानले पाउन नसकेको भन्दै आफुहरु आन्दोलनमा रहेको उनको भनाई छ । व्यापारीहरुले सरकारले तोकेको मुल्य दिनैपर्छ, उनले भने – ‘व्यापारीको मुल्यमा किसानले धान दिनु नपरोस् । किसानमारा काम गर्न पाइदैन ।’ उनका अनुसार राज्यको नीति नै किसानलाई उठ्न नदिने किसिमको छ ।

महासंघका अध्यक्ष चुडालले समयमा किसानले मल, विऊ नपाउने र उत्पादित वस्तुको उचित मुल्य नपाउने समस्या रहेको बताएका छन् । किसानले निरिह हुनुपरेको छ, चुडाल थप्छन्, – ‘यसरी किसानको जीवन कहिल्यै उठ्न सक्दैन । किसानलाई नउठाएसम्म मुलुक पनि संमृद्ध बन्न सक्दैन ।’

एकीकृत माओवादी केन्द्रको भातृ संगठन किसान महासंघ क्रान्तिकारी केन्द्रका झापा जिल्ला संयोजक शंकर सेडाई आफै मल अभाव व्यहोरिरहेको बताउँछन् । उनले मल अभावका कारण खेत जोतेर तयार गर्दा पनि बाली लगाउन नपाइरहेको बताए । सरकारको कमजोरीका कारण किसानले पर्याप्त मल नपाएको उनको भनाई छ । सेडाई भन्छन्, ‘२ करोड मेट्रिक टनले एक तिहाई किसानलाई पनि मल पुग्दैन । सरकारले समयमा टेण्डर नगर्ने, पर्याप्त मल आयात नगरेका कारण किसानमा मारमा छौं ।’

किसान महासंघ क्रान्तिकारी केन्द्रका झापा जिल्ला संयोजक सेडाईले रसायनिक भन्दा प्राङ्गारिक मल उत्पादनमा जोड दिए । हरेक वर्ष हामीले मलको दुख झेल्नुपर्छ, उनले थपे – मलको समस्याबाट समाधान खोज्न आफै प्राङ्गारिक मल उत्पादनमा जोड दिऊ, त्यो संभव पनि छ ।

झारपात कुहाएर मल उत्पादन गर्न सकिने भन्दै सेडाईले गड्यौले मल उत्पादन गर्दै कृषिलाई विषादिमुक्त गर्नुपर्ने उनको भनाई छ । आफ्नो संगठनले किसानहरुलाई प्राङगारिक मल उत्पादनमा सचेतना फैल्याएको सेडाई बताउँछन् । उनले किसानलाई हौसला दिने गरी सरकारले परिवन्ध मिलाउनुपर्ने बताएका छन् ।

यस्तै, नेपाली कांग्रेसको किसान संघ झापाका सभापति राजेन्द्र भट्टराईले अस्थिर सरकारका किसान सधैं मारमा परेको बताएका छन् । उनले किसान संघले किसानहरुका लागि केहि गर्न नसकेको स्वीकार गरे । वास्तविक किसानका लागि केहि गर्न सकेको अवस्था छैन, सबै दलका किसान नेतृत्व मिलेर सहजीकरण गर्न आवश्यक छ, उनले भने । भट्टराईले किसान सधैं मल, विऊ र सिंचाईको समस्या भोगिरहेको बताए ।

शेयर गर्नुहोस :

0
Shares