Banner news

झापाबाट समानुपातिकमा पूर्वमन्त्रीदेखि विधार्थी नेतृसम्म

झापाबाट समानुपातिकमा पूर्वमन्त्रीदेखि विधार्थी नेतृसम्म


बिर्तामोड । दलहरुले शनिवार समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्यको सूचि निर्वाचन आयोगलाई बुझाएका छन् । सूचिमा झापाका नयाँ अनुहार समेटिएका छन् ।

नेकपा एमालेले झापाका चार जना नेताहरुलाई समानुपातिक सांसद बनाएको छ । एमालेका पुराना नेता केआर खम्बु भद्रपुर, हर्कमाया विश्वकर्मा बिर्तामोड,सुनिता बराल चन्द्रगडी र अमृतलाल राजवंशी बिर्तामोड रहेका छन् ।

ओलीमा समकक्षी खम्बु
केआर खम्बु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक सहयात्री हुन् । झापा आन्दोलनका नेता खम्बु केहि वर्षयता सक्रिय राजनीतिमा थिएनन् । पार्टीमा लामो समय योगदान गरेका उनी आँखाको समस्याबाट पीडित छन् । तत्कालिन एमाले नेता माधव कुमार नेपाललाई पार्टीमा संगठित गर्ने खम्बु बहुदलताका एमाले झापाका जिल्ला कमिटी सदस्य थिए । लामो समय एमाले झापाको जिल्ला कमिटी सदस्य रहेर काम गरेका उनी इमान्दार र सादगी नेताका रुपमा स्थापित छन् ।

पारिवारिक रुपमा सबै मालेतिर लाग्दा पनि उनी एक्लै एमालेमा बसेर जनताको बहुदलीय जनवादको पक्षमा उभिएका थिए । उनका जानकारहरु भन्छन्, जबजमा सामिप्यता राख्दै एमालेमा कहिल्यै नडगमगाएको नेता हो । विधार्थी राजनीतिबाट एमालेको पार्टी जीवनमा आएका उनी पहिलो पटक संसद प्रवेश गर्दैछन् ।

हर्कमाया दलित समुदायको नेता
झापा बिर्तामोडकी हर्कमाया विश्वकर्मा दलित आन्दोलनबाट उठेको नेता हो । बिर्तामोड नगरपालिकाको यसअघि जनप्रतिनिधि रहेकी उनी जिल्लामा महिला नेतृको रुपमा पनि स्थापित छन् । दलित समुदायको संगठन मुक्ति समाजमा लामो समय योगदान गर्दै समुदायको हितमा क्रियाशिल उनी दलित तर्फबाट प्रतिनिधिसभा सदस्यको रुपमा संसद प्रवेश गर्दैछिन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेकी विश्वकर्मा एमालेमा पूर्णकालिन राजनीति गरिरहेकी छन् । उनी एकल महिला हुन् ।

बराल नेपाली विधार्थीको नेता
एमालेले अनेरास्ववियुको केन्द्रीय अध्यक्ष सुनिता बराललाई समानुपातिक सांसद बनाएको छ । नेपाली विधार्थी आन्दोलनलाई नेतृत्व गर्दै आएकी बराल पार्टीको केन्द्रीय कमिटी सदस्य हो । विधार्थीकालबाटै राजनीतिमा क्रियाशिल बराल प्रभावशाली नेताको रुपमा स्थापित छन् । झापा चन्द्रगडी घर भएकी उनी राजधानी बसेर राजनीतिमा क्रियाशिल छन् ।

एकवर्षमै समानुपातिकमा
झापा बिर्तामोडका अमृतलाल राजवंशी एमाले प्रवेश गरेको एक वर्षमा समानुपातिकबाट सांसद बनेका छन् । उनी यसअघि नेपाली कांग्रेसमा थिए । लामो पार्टी जीवन कांग्रेसमा बिताएका राजवंशी गत वर्ष एमाले प्रवेश गरेका हुन् । कांग्रेसबाट संविधानसभा सदस्य बनेका राजवंशीलाई एमालेले एकैवर्षमा समेटेको छ ।

राना हजारौं बालबालिको आमा
राष्ट्रिय स्वतन्त्र पार्टीले झापा अर्जुनधारा ११ निवासी इन्दिरा रानालाई प्रतिनिधिसभाको समानुपातिक सांसद बनाएको छ । बालबालिका र महिलाहरुको हेरचाहमा करिव ३ दशक विताएकी रानालाई रास्वपाले सांसद बनाएको हो ।

बन्दी सहायता नेपालको संस्थापक अध्यक्ष राना हजारौं बालबालिकाको आमाको रुपमा चिनिन्छन् । १६ वटा बालगृह र २ वटा विधालय सञ्चालन गर्दै आएकी राना जेलका बालबालिका र महिलाहरुको अधिकारको निमित्त क्रियाशिल छन् । यसअघि राजनीतिमा असंलग्न राना एकाएक सामाजिक सेवासँगै राजनीतिमा आएकी छन् । राजनीति जीवनमा प्रवेश गरे लगत्तै उनले प्रतिनिधिसभाको सदस्य बन्ने अवसर पाएकी छन् ।

यस्तै, रास्वपाले झापा भद्रपुरकी निशा डाँगीलाई समानुपातिक तर्फबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ । उनी काठमाडौं बसेर पत्रकारितामा क्रियाशिल छन् ।

पूर्वमन्त्री प्रसाई
नेपाली कांग्रेसले झापाबाट सरिता प्रसाईलाई प्रतिनिधिसभा सदस्य बनाएको छ । समानुपातिक तर्फबाट कांग्रेसले उनलाई प्रतिनिधिसभा सदस्य बनाएको हो । उनी पूर्वमन्त्री हुन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य प्रसाई विधार्थी राजनीतिबाट आएकी हुन् ।

शेयर गर्नुहोस :

0
Shares