Banner news

विराट आविभित्र भद्रगोल : प्रअ–शिक्षक द्वन्द्वले ‘मियोँ विनाको दाँयी’

विराट आविभित्र भद्रगोल : प्रअ–शिक्षक द्वन्द्वले ‘मियोँ विनाको दाँयी’


बिर्तामोड । झापाको बिर्तामोड–१० मा अवस्थित विराट आधारभूत विद्यालय गत वर्षयता विवादै विवादमा घेरिएको छ । प्रधानाध्यापक बद्रीप्रसाद बाँस्कोटा र केही शिक्षकहरुको आपसी द्वन्द्वका कारण विद्यालयको शैक्षिक वातावरण धुमिल छ । विद्यालयको धुमिल वातावरण सफा गर्नेभन्दा पनि आरोपप्रत्यारोपको कार्य रोकिएको छैन ।

विद्यालयभित्रको द्वन्द्वलाई विर्सिएर बिहीबार इजलास दैनिकका प्रतिनिधिले करिव दुई घण्टा त्यहाँको अवलोकन गरेका छन् । बिहान ९ः५७ बजे विद्यालयका कर्मचारी निर्मल पराजुुलीले घण्टी बजाए । त्यो बेलासम्म विद्यार्थी र शिक्षकहरु आउने क्रम जारी थियो । १० बज्नै लाग्दा पनि केही शिक्षकहरु विद्यालय परिसरमा प्रवेश गरिसकेका थिएनन् ।

सो समयभित्र विद्यालयमा गुरुआमा भद्रकला प्रसाईसँग भेट भयो । उनले आफू साढे ९ बजे विद्यालय आइसकेको जानकारी दिइन् । उनले इजलासको प्रतिनिधिलाई सोधिन्, कसले बोलाएर आउनु भएको ?
९ बजेर ५९ मिनेट जाँदा रेणुका नेपालको विद्यालयमा प्रवेश भयो । शिक्षक इन्द्र बाँस्कोटा १० बजे विद्यालय प्रवेश गरे । प्रअ बाँस्कोटा ९ बजेर ५५ मिनेटमा विद्यालय प्रवेश गरेका थिए । घण्टी लागिसक्दा पनि विद्यार्थीहरु लाइनमा नआइसक्दा प्रअ बाँस्कोटा आफै विद्यार्थी बाहिर ल्याउन कक्षा–कक्षामा पुगे । त्यो समयसम्म शिक्षक–विद्यार्थीहरुको ताल आ–आफ्नै थियो ।

लाइन बसेपछि विद्यार्थीहरुले राष्ट्रिय गानमा सहभागी भए । पिटी खेले । एक जना विद्यार्थीले बुद्ध जयन्तीका बारेमा वक्तृत्वकला प्रस्तुत गरे । त्यही बेला १० बजेर ९ मिनेटमा शिक्षक हेमन्त अधिकारी र १० बजेर १० मिनेटमा सावित्रा राजवंशी विद्यालय प्रवेश गरे ।

बिहीबार शिक्षक रंगलाल न्यौपाने बाहेक सबै शिक्षक कर्मचारी विद्यालयमा उपस्थित भए । न्यौपाने दिदीको सासुको निधनका कारण उनी विद्यालय नआएको भद्रकला प्रसाईले जानकारी दिइन् । न्यौपानेले सोहि सूचना प्रअ बाँस्कोटालाई जानकारी दिएनन् । उनको बद्लामा प्रसाईलाई जानकारी दिए । प्रसाईले प्रअ बाँस्कोटालाई सुनाइन् ।

शिक्षिका चन्द्रकला पाठक उप्रेती १० बजेर ३० मिनेटमा मात्रै विद्यालय आइन् । उनले आफूलाई ढिला हुने बारे प्रअलाई जानकारी गराएको बुझियो । एकाध बाहेक शिक्षक कर्मचारी विद्यालयमा आफूखुशी आउने गरेको पाइयो ।

बिहीबार विद्यालयमा जम्मा २०१ जना विधार्थी हाजिर भए । विद्यालयको विद्यार्थी संख्या जम्मा ३४० हो । अभिभावकको कमजोर चासो र केही शिक्षकहरुको द्वन्द्वका कारण विद्यालय कमजोर बनिरहेको देखिन्छ । विद्यालयमा भएका उपकरणहरुको सदुपयोग भएको पनि पाइएन । स्मार्ट बोर्ड इन्टरनेट नभएकाले सञ्चालन नभएको बुझियो ।

यस्तै, कक्षा ६ सम्मका विद्यार्थीहरुलाई खाजामा विस्कुट खुवाउने तयारी गरिएको थियो । विद्यालयले बालबालिकाको खाजाको जिम्मा क्यान्टिनलाई दिएको छ । क्यान्टिन सञ्चालकको घरमा पुजा भएकाले बिस्कुटको परिबन्ध मिलाएको कर्मचारी निर्मल पराजुलीले जानकारी दिए । यसबारे प्रअ बाँस्कोटा भन्छन्, हामी नियमित रुटिन अनुसार खाजा खुवाउँछौ । केही दिनका लागि मात्रै विस्कुट दिएका हौँ ।

विद्यालयका प्रअ बाँस्कोटा विरुद्ध विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद विमली र शिक्षक रंगलाल न्यौपानेसहित केही शिक्षक देखिए । केही शिक्षक कर्मचारी प्रअ बाँस्कोटाका पक्षमा लागेको पाइयो । केही शिक्षकले दुबैको पक्षमा नरहेको र विद्यालयको पठनपाठनलाई प्राथमिकता दिएको स्पष्ट पारे ।

प्रअ बाँस्कोटा र अर्का शिक्षक इन्द्र बाँस्कोटा बिचको झगडाबाट विद्यालयमा द्वन्द्वको आगो सल्किएको थियो । त्यसबेला यता, विद्यालयभित्र शान्ति छैन । शिक्षकहरु बीचमै एकता नभएका कारण विद्यालय चौपटक भएको केही शिक्षकको बुुझाई छ । शिक्षक हेमन्त अधिकारी भन्छन्, हामीले विद्यालय बनाउने हो । विद्यार्थीको भविष्यप्रति सचेत हुने हो, द्वन्द्व गर्ने होइन । उनले अहिलेकै अवस्थामा शिक्षकहरु बीचमा मिल्ने अवस्था नरहेको जानकारी दिए । द्वन्द्वका कारकहरुले विद्यालय नछोडेसम्म समस्या समाधान हुने देख्दिन, उनले भने ।

प्रअ र शिक्षकहरुले विद्यालयमा पठनपाठनको वातावरण बनाउने हो । शिक्षक कर्मचारीले विद्यालयको पैसाका बारेमा ध्यान दिने होइन, आफ्नो जिम्मेवारी पुरा गर्ने हो, अधिकारी भन्छन् – केहि महिनाअघि सम्म विद्यालयको अवस्था तहसनहस भइसकेको थियो । अहिले क्रमिक सुधार भइरहेको छ । उनका अनुसार आन्तरिक द्वन्द्वको फाइदा शिक्षकहरुले लिन हुँदैन । हामीले शैक्षिक वातावरण तयार गर्नुपर्छ ।

विद्यालयभित्र शिक्षक र व्यवस्थापन समितिको चिन्ता शैक्षिक वातावरण बनाउने भन्दा पनि कसले कहाँबाट पैसा ल्यायो, कहाँ खर्च भयो, कसले पो खायो कि भन्ने चिन्ता धेरै पाइयो । विद्यालयको वर्तमान अवस्था ‘मियोँ विनाको दायी’ बनेको रहेछ ।

प्रअ बाँस्कोटालाई कतिपय शिक्षकले स्वीकार नगरेको पाइयो । प्रअ बाँस्कोटालाई नटेर्ने शिक्षक आफूखुशी गर्दै आएका छन् ।

 

शेयर गर्नुहोस :

0
Shares