बिर्तामोड । राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा महेन्द्र गिरी सर्वसम्मत भएका छन् । प्रदेश नं १ बाट संचालकका लागि बुधबार गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि विहिबार दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएको निर्वाचन उपसमितिका सदस्य रामशरण शर्मा घिमिरेले जानकारी दिए ।
यसअघि अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेश संचालकमा राम बहादुर जिसी र मधेश प्रदेश संचालकमा विश्वनाथ मण्डलको मात्रै उमेदवारी परेपछि निर्विरोध भइसकेका छन् । यस्तै योग्यता नपुगेको भन्दै लेखा समिति संयोजक राजु पुरीको उम्मेदवारी खारेज भएपछि लक्ष्मीप्रसाद उप्रेती पनि निर्विरोध बनेका छन् ।
अब प्रदेश संचालकमध्ये बागमतीमा ५ जना र कर्णालीमा ३ जनाको उमेदवारी छ । महिलाका लागि छुट्याइएको लुम्बिनी र सुदुरपञ्चिम प्रदेश संचालकमा पनि ४ जनाको उमेदवारी रहेको छ ।
यसैगरी खुल्ला सदस्यमध्ये ४ जनाको लागि ३३ जनाको उम्मेदवारी परेकोमा युगेश पौडेलको खारेज भएसँगै ३२ जना बाँकी छन् । महिला खुल्ला ३ पदका लागि ७ जनाको उमेदवारी रहेकोमा विमला शाहाको पनि खारेज भएपछि ६ जना बाँकी रहेका छन् । यस्तै लेखा समिति सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उमेदवारी छ ।
निर्वाचन उपसमितिले उम्मेदवारी फिर्ता लिनका लागि विहिबार ५ बजेसम्म समय दिएकाले सर्वसम्मतको प्रयास भइरहेको स्रोतले जनाएको छ ।
बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।







प्रतिक्रिया