Banner news

मोहनमाया गौरव गर्न योग्य विद्यालय : नगरप्रमुख प्रसाई

मोहनमाया गौरव गर्न योग्य विद्यालय : नगरप्रमुख प्रसाई


बिर्तामोड । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले मोहनमाया माविको शैक्षिक उपलब्धी प्रशंसा गर्न योग्य रहेको बताएकी छन् । उनले नगरको उत्कृष्ट विद्यालयको रुपमा मोहनमायाले पहिचान स्थापित गरेको बताइन् ।
बिहीवार मोहनमाया माविको ५५ औं वार्षिकोत्सव अवसरमा प्रमुख अतिथि नगरप्रमुख प्रसाईले विभिन्न उतारचढावका बिचमा विद्यालयले हासिल गरिरहेको उपलब्धी गौरव गर्न लायक रहेको धारणा व्यक्त गरिन् । विद्यालय सबैको रोजाईमा पर्ने गरेको छ, उनले थपिन् – सबैको रोजाईमा पर्नु नै विद्यालय राम्रो छ भन्ने मुख्य आधार हो ।

विद्यालयले सफलता हासिल गर्नुमा शिक्षकको मेहनत र विद्यार्थीको अनुशासन नै पहिलो भएको उनको धारणा थियो । मोहनमायामा अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुको सक्रियताका कारण विद्यालयले सधै उत्कृष्ट नतिजा ल्याइरहेको नगरप्रमुख प्रसाईको भनाई थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले विद्यालयले छोटो समयमा ठुलो प्रगति हासिल गरेको बताए । उनले भने, ‘विद्यालयको प्रगति अहिले पत्याउनै गाह्रो छ । जागिरको सुरुआतमा मैले झापा बसेर काम गर्दा देखेको विद्यालयको अवस्था जाजुक थियो । अहिले हरेक हिसावले विद्यालय विशाल भएको छ ।’ दत्तचित्त भएर लाग्ने हो भने सबै सामुदायिक विद्यालय सफल हुन सक्ने उदाहरण मोहनमाया रहेको उनको भनाई छ । अन्य विद्यालय र शिक्षकहरुका लागि प्रेरणा बनेको मोहनमायामा सबैको एकता र मेहनतबाट उत्कृष्ट भएको विश्वकर्माले बताएका छन् ।

वार्षिकोत्सवमा एसईईमा उत्कृष्ट भएका विद्यार्थी र विद्यालयका उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट विद्यार्थीहरुलाई नगर पाँच हजारसहित पुरस्कृत गरिएको थियो । मोहनमायाका विद्यार्थीले गत वर्षको एसईईमा विर्तामोडका निजी र साुमदायिक विद्यालयहरुका विद्यार्थीभन्दा उत्कृष्ट अंक ल्याएका थिए ।

पुरस्कृत हुने शिक्षकहरुमा रोहितकुमार गिरी, रागव गड्तौला, उषा संग्रौला र सुस्मा भट्टराई रहेका छन् ।
१७ सय १७ विद्यार्थी अध्ययनरत मोहनमायामा हाइड्रोपावर र इन्जिनियरिङ समेत पठनपाठन हुने गरेको छ । अहिलेसम्म बेरुजु नभएको उक्त विद्यालयमा नियमानुसार सामाजिक लेखा परीक्षण हुने गरेको बताइएकोछ ।
सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरेका थिए । विद्यालयको प्रतिवेदन सार्वजनिक गर्दै प्रअ श्रेष्ठले विद्यालयका सकारात्मक काम र समस्याबारेमा जानकारी गराए । उनले विद्यालयमा विद्यार्थीको चाप धेरै भएकाले भौतिक पूर्वाधारको समस्या भएको बताएका छन् । उनले व्यवस्थित पुस्तकालय, स्कुल बस आवश्यक भएको बताएका छन् । विद्यालयमा विद्यार्थीको चाप अनुसार दरवन्दी थप गर्न समेत आग्रह गरेका थिए ।

५५ औं वार्षिकोत्सव समारोहमा चार वटा अक्षयकोषबाट पुरस्कार समेत वितरण गरिएको थियो । प्रअ श्रेष्ठले विधालयमा विद्यार्थीको उपस्थिति दर ९० प्रतिशतभन्दा माथि रहेको जानकारी दिए । उनले शुक्रवार समेत पुरा समय विद्यालय सञ्चालन गरिरहेको बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले पिटी प्रदर्शन गर्नुका साथै नृत्य प्रस्तुत गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares