Banner news

‘कृषकहरु बिचरा हैनन् प्रणदाता हुन्’

‘कृषकहरु बिचरा हैनन् प्रणदाता हुन्’


केही समय संस्थागत विद्यालयमा शिक्षण गरेकी वेदकुमारी लुइँटेलले लामो समय कस्मेस्टिक पसल पनि सञ्चालन गरेकी थिइन् । काठमाडौंमा बसेर शिक्षण र व्यापार गरिरहेकी उनी बुधबारेको आफ्नो जमिन बाँझै रहेको देख्दा चिन्तित हुन्थिन् । गाउँमा जमिनलाई बाँझै राखेर काठमाडौंमा साग, सब्जी र अन्न किनेर खाइराख्न उनलाई खासै मन लागेन । सरकारी विद्यालयमा स्थायी शिक्षक रहेका श्रीमानलाईसमेत जागिरबाट राजीनामा गराएर उनीहरु बुधबारे फर्के ।

कृषि व्यवसायी हुन गाउँ फर्केका उनीहरुलाई केही मान्छेहरुले जागिर छाडेर बहुलाएर गाउँ फर्केसम्म भन्न भ्याए । हुँदा खादाको जागिर छाडेर गाउँ फर्केर खेती किसानी गरेको देख्दा केही मानिसहरु त अचम्ममा समेत परे । अरु जागिर खोज्न सहर पस्छन् । तर, लुइँटेल दम्पती जागिर छाडेर कृषि गर्न गाउँ पस्दै थिए ।

सहरको जागिर छाडेर गाउँको कृषिमा रमेकी वेदकुमारी लुइँटेल नगर सरकार र वडा कार्यालयले किसानलाई उचित सम्बोधन गरेको बताउँछिन् । साथै, जिल्ला कृषि ज्ञान केन्द्र, प्रदेश सरकार र संघीय सरकारले चाहिँ उत्रो वास्ता नगरेको उनको गुनासो छ ।

बुद्धशान्ति गाउँपालिकले आफ्नो क्षमता अनुसार कृषिमा राम्रो लगानी गरिरहेको छ । गाउँपालिकाको बजेट यसै पनि थोरै हुन्छ । तर, पनि पालिकाले कृषकहरुलाई सकेसम्म धेरै समेट्न प्रयास गरिरहेको छ । पालिकाले कृषि औजार, बिउँ वितरण, कृषि तालिम र सिचाइँ कार्यक्रम मार्फत सकेसम्म धेरै किसानहरुलाई समेटि रहेको छ । त्यति मात्र होइन पालिकाले विभिन्न किसिमका कृषि अनुदान मार्फत पनि किसानहरुलाई समेटेने गरेको लुइँटेलले बताउँछिन् ।

बुद्धशान्तिले किसानलाई सम्बोधन गर्ने कार्यक्रमहरुबाट साँच्चैका वास्तविक किसानलाई नै समेटि रहेको छ । तर, सरकारका पालिकाभन्दा माथिका अन्य निकायहरुले भने वास्तविक किसानलाई समेट्न नसकेको लुइँटेलको भनाई छ । उनी भन्छिन्, ‘ज्ञान केन्द्रको कार्यक्रममा कागजात पु¥याउनै गाह्रो । फेरि पटक–पटक गरेर कागजात पुराए नि काम हुँदैन । कहाँ कहिले के सूचना निस्कियो, हामी किसानलाई थाहा पाउनै मुस्किल छ । त्यसैले किसानले सरकार खोज्दै जानुभन्दा पनि सरकार आफैं किसान खोज्दै गाउँ पस्दा मात्रै वास्तविक किसानको समस्यासम्म पुग्न सकिन्छ ।’

उनले भक्ति कृषि नर्सरी तथा जैविक मल उत्पादन केन्द्र फर्ममा गाउँपालिका मार्फत सिचाइँमा एक लाख र टनेलको कार्यक्रम मार्फत एक लाख २५ हजार गरेरर हालसम्म दुई लाख २५ हजार अनुदान प्राप्त गरेकी छिन् । तर, कृषि ज्ञान केन्द्रमा तीन पटक फारम बुझाउँदा पनि केही नपाएको उनको गुनासो छ । किसानले कहिल्यै आफ्नो पेशालाई छाड्न सक्दैन । अरु व्यवसायमा जस्तो उसको छुट्टी हुँदैन । हप्तामा एक दिन पसल व्यवसायीको पनि बिदा हुन्छ । तर, हाम्रो बिदा हुँदैन हामी हरेक दिन खेतमा काम गर्दा मात्र सबैको भान्सामा अन्न र सब्जी पाक्छ । त्यसैले किसानले पटक–पटक कागजात बनाउन र जिल्ला धाउन सक्दैन उनले बताइन् ।

राज्यलाई मात्र किसानहरुले दोष लगाएर नहुने उनको भनाई छ । तर, राज्यले अनुदान प्रदान गर्दा कागजी किसानलाई दिने कि वास्तविक किसानलाई दिने भन्ने बारे मापदण्ड तयार गर्न पर्ने देखिन्छ । कागजी किसानलाई एक पटक दिनुभन्दा असल किसानलाई नियमित रुपमा हरेक वर्ष केही न केही प्रोत्साहन स्वरुप अनुदान दिन जरुरी छ ।
हाम्रो समाजमा किसान भनेको अशिक्षित र गरीब भन्ने बुझाई छ । तर, खासमा संसारका सबैभन्दा धनी मानिस किसान हुन् । किसानले अन्न नफलाईदिने हो भने सबै जना भोकै मर्न पर्ने अवस्था हुन्छ । त्यसैले किसानप्रतिको हाम्रो दृष्टिकोण फेरिनु पर्ने उनले बताएकी छिन् । वास्तवमा किसान हामी सबैको प्राणको स्रोत हो । हाम्रो प्राणको स्रोतलाई हामीले सम्मान गर्नुपर्छ ।

नेपाली किसानलाई सबैभन्दा धेरै मार पार्ने भनेको भारतीय बजारसँगको प्रतिस्पर्धाले हो । नेपाली किसानले फलाएको साग सब्जीले भारतीय बजारबाट आएको सब्जीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो छ । भारतमा सस्तो खर्चमै धेरै उत्पादन हुन्छ । तर, नेपालमा तिनै बीऊ, मल र औैषधिहरुको मूल्य मंहगो छ । त्यसले गर्दा पनि प्रतिस्पर्धा गर्न कठिन भएको हो । नेपाली कृषिजन्य बजारमा भरतीय सामान नआउने हो भने यहाँका किसानहरुलाई धेरै फाइदा हुने लुइँटेलले बताएकी छिन् । राज्यले नै नीतिगत रुपमा भारतीय तरकारी नेपाली बजारमा निषेध गर्नुपर्छ ।

नेपालमा किसानहरुलाई कमजोर र बिचाराको दृष्टिकोणले हेरिने गरिएको छ । किसानहरुलाई बिचरा ठान्नु नै हाम्रो सबैभन्दा ठूलो भुल हो । सबैको अन्नदाता किसान बिचरा नहुने उनको बलियो तर्क छ ।

सबै व्यवसायमा आफ्नो सामानको मूल्य स्वयम् व्यपारीले तोक्ने गर्छन । तर। कृषि व्यवसायमा किसानले आफ्नो श्रमको मूल्य आफैं तोक्न नपाउने परिपाटी रहेको उनको गुनासो छ । उनी भन्छिन्, ‘जबसम्म हाम्रो श्रमको मूल्य बिचौलियाले निर्धारण गर्छन्, तबसम्म कृषि क्षेत्रमा सोचेजस्तो बिकास हुँदैन ।’

उनी सम्पूर्ण युवाहरुलाई कृषि क्षेत्रमा लाग्न र देशमै बसेर केही गर्न आव्हान गर्छिन् । अरु तिर गएर गर्ने दुःख आफ्नै बारीमा गरे सहजै जीवन चल्ने उनको विश्वास छ । प्रस्तुति – गगन ढकाल

शेयर गर्नुहोस :

0
Shares