Banner news

कृषिमा कायापलट गर्दै बिर्तामोड

कृषिमा कायापलट गर्दै बिर्तामोड

तीन वर्षभित्र बिर्तामोड नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने योजना


बिहानको १० बज्न साथ कार्यलयमा मानिसहरुको चलपहल सुरु भयो । कार्यालयभित्र पस्ने मानिसहरु सन्तोकले खुशीसाथ बाहिर निस्की रहेको देखिन्थ्यो । कार्यालयभित्रको वातावरण रोमाञ्चक छ । सेवाग्राही र कर्मचारीहरु बीचको हार्दिकता विश्वसनीय छ । सेवाग्राहीहरु कर्मचारीसँग साथीसँग गफ गरे झैँ निर्धक्क आफ्नो समस्या राखिरहेका छन् । कर्मचारीहरुले पनि छिमेकी दाजुभाइसँग कुरा गरे झैँ हार्दिकताका साथ उनीहरुको समस्या सुन्ने र समाधान गर्ने गरिरहे ।

यत्तिकैमा एक जना करीब ६० वर्षका मानिस मकैको बुट्टा बोकेर ‘सर नमस्कार ! मकैमा किरा लागेर हैरान भयो परीक्षण गरिदिनुन’ भन्दै कार्यालयमा पस्छन् । उनी थिए, बिर्तामोड १० का हरि प्रसाद भट्टराई । उनको १५ कट्ठा जमिनको मकैमा किरा लागेर उनी हैरान थिए । उनको मकैमा गबरा किरा लागेको प्राविधिकले जानकारी दिए । साथै त्यस किरालाई मार्ने बिषादी पनि नगर पालिकाले नै दियो । यो दृष्य बिर्तामोड नगरपालिकाको कृषि शाखाको हो ।

बिर्तामोड जिल्लाकै प्रमुख सहर हो । बिर्तामोड शिक्षा र स्वास्थ्यका हव पनि हो । सहरी क्षेत्रको रुपमा दिनप्रति दिन विकसित भइरहेको बिर्तामोड कृषि क्षेत्रमा पनि उत्तिकै फड्को मारिरहेको छ । बिर्तामोड चाँडै तरकारीमा जिल्लाकै पहिलो आत्मनिर्भर पालिकाको रुपमा स्थापित हुने गरि काम गरिरहेको छ ।

स्थानीय तहको स्थापना हुनु पूर्व बिर्तामोड क्षेत्रमा भारतीय मुलका नागरिकहरुले मात्र व्यवसायिक तरकारी खेती गर्थे । तर अहिले नेपाली मुलका १०७ जना व्यवसायिक किसानहरु त्यहाँ कृषि कर्म गरिरहेको नगर कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले बताएका छन् । हाल बिर्तामोडमा कृषिप्रति मानिसहरुको आकर्षण बढेको पाइन्छ ।

पाँच वर्ष अगाडि नै बिर्तामोडले कृषि सम्बन्धि आफ्नो लक्ष्य निर्धारण गरेको थियो । नगरको कृषि क्षेत्रलाई कहाँ लाने, कस्तो बनाउने विषयमा सरोकारवालाहरु र विज्ञहरुसँग छलफल गरेको थियो । त्यस छलफलले केही विषयहरुलाई प्राथमिकीमरण गरेको थियो । जसको पहिलो प्राथमिकतामा सिचाइँ परेको थियो । सिचाइँ कृषिको सबैभन्दा पहिलो आवश्यकता हो । त्यसैले बिर्तामोड नगरले पालिका स्थापना भएको पहिलो वर्षदेखि नै सिचाइँममा लगानी बढायो । हालसम्म बिर्तामोडले ६ सय बढी मोटरहरु वितरण गरिसकेको छ । यसै वर्ष पनि १४५ वटा मोटर वितरण भएको तथ्यांकले देखाएका छन् । बिर्तामोडले आफ्नो खेती योग्य जमिनको ६५ प्रतिशत जमिनमा सिचाइँ पु¥याइसकेको कृषि शाखा प्रमुख कडरियाले बताएका छन् ।

बिर्तामोड क्षेत्रमा अत्याधिक मात्रामा तरकारी खेती हुने जमिन छ । तर, उत्पादन भने एकदमै न्यून थियो । त्यसैले नगरले प्राथमिकताको दोस्रो नम्बरमा तरकारी खेतीलाई राख्यो । हाल बिर्तामोडमा उत्पादनको चरण लगभग सम्पन्न भइसकेको छ । बिर्तामोडले प्रत्येक वर्ष ५० जना नयाँ किसानहरुलाई छनोट गरेर तालिम प्रदान गर्दै आएको छ । साथै उनीहरुलाई बिउ, मल, प्राविधिक सहयोग र अन्य आवश्यक सामग्रीहरु पनि प्रदान गरिरहेको छ ।

बिर्तामोडले कृषिको लागि नगरको मात्र नभएर संघीय र प्रदेश सरकारसँग पनि कार्यक्रमहरुको माग गरेर किसानहरुसम्म पु¥याउने गरेको छ । अब यो वर्ष बिर्तामोडले ‘उत्पादनसँगै बजारीकरणको वर्ष’ भनेर कार्यक्रम आगाडि बढाएको छ । कम्तिमा यो वर्ष बजारको पूर्वधारहरु निर्माण गरिसक्ने नगरको योजना छ । अर्को वर्षदेखि नगर मै उत्पादित तरकारी नगबासीलाई खुवाउने बिर्तामोडको लक्ष्य हो ।

तरकारी उत्पादन हुने मुख्य क्षेत्रको रुपमा २, ६, ७, ८, ९ र १० नं. वडाहरु रहेको कृषि शाखा प्रमुख कडरियाले बताएका छन् । उनले यी वडाहरुमा संकलन केन्द्र निर्माण गर्ने बताएका छन् । ‘हालसम्म सब्जी कसरी बेच्ने भन्ने तनाव पनि किसानले आफैं लिइरहेका छन् । संकलन केन्द्रको अवधारणा किसानलाई बिक्रिको चिन्ताबाट मुक्त गर्न अगाडि सारिएको हो । किसानहरुले संकलन केन्द्रमा तरकारी पु¥याए पछि कसरी कहाँ लगेर बेच्ने भन्ने चिन्ताबाट मुक्त हुन्छन् । बिक्री सम्बन्धि सम्पूर्ण जिम्मा संकलन केन्द्रले लिन्छ । हामीले संकलन केन्द्रमा आएका तरकारी बेच्ने बेग्लै समिति बनाएका छौं’ उनले भने ।

बिर्तामोडले ५ वटा ‘तरकारी उत्पादन समिति’ बनाएको छ । वाडहरु २, ७, ८, ९ र १० मा उत्पादन समिति रहेका छन् । बिर्तामोडले समिति बनाएर तरकारी उत्पादन गर्ने । उत्पादित तरकारीलाई उक्त समितिले संकलन गर्छ । र, तिनै समितिहरुले नगरस्तरीय ‘तरकारी उत्पादन तथा व्यवस्थापन समिति’ बनाएको छ । सो नगर स्तरीय समितिले उत्पादित तरकारीको बजारीकरणको काम गर्छ । नगरले बिर्तामोडको कृषिथोकमा आफ्नै तरकारी बेच्ने ठाँउ लिएको कृषि शाखा प्रमुख कडरियाले बताएका छन् । उनी भन्छन्, ‘वडामा उत्पादन भएको तरकारीलाई कृषियोकमा ल्याएर बिक्रि गर्ने । साथै नगरका विभिन्न भागमा ५ देखि ७ वटा आफ्नै बिक्री केन्द्र पनि खोल्दैछौँ । जसले नगरमा उत्पादित तरकारी उपभोक्ताकोमा पु¥याउन सजिलो हुन्छ ।’

हाल तरकारीमा रसायनिक बिषादीको धेरै प्रकोप रहेको छ । रसायनिक विषादी परीक्षणमा ३५ प्रतिशत विषादी अरोधक छ भने त्यो तरकारी खान योग्य हुन्छ भन्ने अन्र्तराष्ट्रिय मान्यता छ । तर, बिर्तामोड नगरपालिकाले आफ्नो बिक्रि केन्द्रहरुमा १५ प्रतिशतभन्दा माथि विषादी अवरोधक भएको खण्डमा उक्त तरकारी नराख्ने योजना बनाएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर बनाउन तल्लिन् बिर्तामोड नागरिकको स्वास्थ्यमा पनि उत्तिकै सचेत रहेको बुझियो ।

बिर्तामोडमा बिषादी परीक्षण गर्ने आफ्नै ल्याब रहेको छ । नगरले किसानहरुको तरकारी बारीमा छड्के अनुगमन गरेर नमुना ल्याउने र बिषादी परिक्षण गर्ने गरेको कृषि शाखा प्रमुख कडरियाले बताए । उनी भन्छन्, ‘छड्के परीक्षण गर्दा कसैकोमा १५ प्रतिशत भन्दामाथि बिषादी अरोधक पाइएमा उक्त किसानको तरकारी हामी खरिद गर्दैनौं । हामी बिषरहित तरकारी नागरिकलाई खुवाउन चाहन्छौं ।’ बिर्तामोडमा किसानलाई तरकारीमा आवश्यक पर्ने सम्पूर्ण बिषादी नगरले आफैं निःशूल्क प्रदान गर्दै आएको छ । तर, व्यवसायिक भइसकेको किसानहरुलाई अब क्रमशः बिउ र विषादीको मूल्य लिने बिर्तामोडको योजना छ । बिर्तामोडका व्यवसायिक किसानलाई जथाभाबी बिषादी खरिद गरेर तरकारीमा हाल्न निषेध गरिएको छ । जसकारण बिषादी नियन्त्रण भएको कृषि शाखा प्रमुख कडरियाको दावी छ ।

पर्याप्त उत्पादन नभएको कारण हाम्रो बजारमा भारतीय तरकारी आएको कृषि शाखा प्रमुख कडरियाको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो कुनै पनि तरकारीलाई बजार समस्या देखिएको छैन । बिर्तामोडमा हामीले किसानहरुलाई उत्पादन प्लान दिने गरेका छौं । जस अनुसार उत्पादन गर्दा बजारको कहिल्यै समस्या हुँदैन ।’

बिर्तामोडले कृषि क्षेत्रमा आकर्षण गर्नका निम्ति निःशूल्क रुपमा आवश्यक तालिम बिउ, विषादी र प्राविधिक सहयोग पनि निःशूल्क रुपमा उपलब्ध गराउँदै आएको छ । तरकारीमा नगरलाई आत्मनिर्भर बनाउन कृषिमा आकर्षण गर्नुपर्ने कृषि शाखा प्रमुख कडरियाको भनाइ छ । किसान व्यवसायिक नभएसम्म बिर्तामोडले आफैं किसानलाई काँध हालिरहेको छ ।

बिर्तामोडले कृषिमा आकर्षणको निम्ति बेर्ना निकाल्ने प्लास्टिक, टनेल र कृषि औजारहरुमा गोड्ने, ड्याङ बनाउने, मकै छोडाउने, मिनि टेलर र हाते ट्याक्टर आदि प्रदान गर्ने गरेको छ । बिर्तामोडले औजारहरुमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिदंै आएको छ । बिर्तामोडले आफू कुनै पनि औजार खरिद गर्दैन । किसानले बजारमा गएर आफैं औजार खरिद गर्छन् र पछि नगरले उक्त सामग्रीमा आफूले तोकेको रकम किसानलाई दिन्छ । यो औजार प्रक्रिया सम्भवत देश कै नौलो प्रक्रिया हो ।

तीन वर्षभित्र बिर्तामोड नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको छ । बिर्तामोडको खेती योग्य सम्पूर्ण जमिन गहिरो ठाउँमा भएको कारण बिर्तामोडमा बर्खामा तरकारी खेती गर्न सम्भव देखिदैन । त्यसैले इलामको रोङ गाउँपालिकासँग सहकार्य गरेर तरकारी खेती गर्ने योजना रहेको शाखा प्रमुख कडरियाले बताएका छन् ।

बिर्तामोडले किसानहरुलाई कृषिबाट हतोत्साही नहुनका निम्ति आउँदो वर्षबाट बालीको समर्थन मूल्य तोक्ने योजना बनाएको छ । समर्थन मूल्य भनेको पालिकाले कुनै पनि तरकारीको प्रति किलो न्यूनतम मूल्य तोकिदिने र बजार भाउ उक्त मूल्य भन्दा तल झरेमा त्यसको नोक्सानी पालिकाले बहन गर्ने योजना बनाएको छ । समर्थन मूल्य तोकिएमा बिर्तामोडमा यो योजनामा वार्षिक रुपमा १५ लाखमाथि खर्च नहुने शाखा प्रमुख कडरिया बताउँछन् ।

बजारमा सबैभन्दा धेरै बिक्री हुने तरकारीमध्ये आलु मुख्य रहेकाले बिर्तामोड नगरले आलुमा पकेट कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रम सञ्चालन गर्नका निम्ति नगरले आलुको बिउमा ५० प्रतिशत अनुदान दिएको छ । बिर्तामोडमा पछिल्लो तीन वर्ष १५० देखि २०० बिघासम्म आलु खेती हुँदै आएको छ ।

आलुको बिउ खरिद गर्दा ३० देखि ४० लाख रुपैयाँ बाहिर जाने भएकाले बिर्तामोडले आलुको बिउ पनि आफैं उत्पादन गर्न थालेको छ । हाल बिर्तामोडले आफूलाई पुग्ने र छिमेकी पालिकाहरुलाई पनि बेच्न पुग्ने गरी बिउ उत्पादन गरिरहेको छ । आलुको बिउको सुरक्षाको निम्ति बिर्तामोडले सहज नेपाल संस्था र किसानहरुको सहलागतमा ७० टन क्षमताको चिस्यान केन्द्र पनि निर्माण गरिरहेको छ । उक्त चिस्यान केन्द्रको कुल खर्च ७९ लाख हुने इस्टमिट गरएको छ । जसमध्ये ३२ लाख सहज नेपाल संस्थाले लगानी गर्ने छ भने ११ लाख किसानहरुले र बाँकी रहेको ३६ लाख नगरले लगानी गर्ने सम्झौता भएको छ ।

त्यसै गरी बिर्तामोड धानको बिउमा पनि आत्मनिर्भर बनिसकेको छ । बिर्तामोडमा रन्जित, राम र केही मसिना धानका जातहरु उपलब्ध छन् ।

बिर्तामोडले कृषिमा गरेको अर्को महत्वपूर्ण कार्यको रुपमा ‘एक समूह एक उत्पादन’ नामक कार्यक्रम पनि हो । बिर्तामोडमा यो कार्यक्रम तोरी, फापर, राजमा, मुङ दाल र आलु लगायतको बालीमा प्रयोग गरिएको छ । यस कर्यक्रम अन्र्तगत कुनै एक समूहले कम्तिमा २० बिघामा एउटा मात्र बाली लगाएको हुनुपर्छ । यसले गर्दा बिर्तामोडमा तोरी उत्पादन बढेको शाखा प्रमुख कडरियाको भनाइ छ । उनी भन्छन्, ‘बिर्तामोडमा जुन सुकै बाली लगाउन पनि सिचाइँले साथ दिएको छ । सिचाइँले साथ दिए पछि कृषिमा समस्या हुँदैन ।’

‘तोरी उत्पादन बढेसँगै हामीले मौरीको कार्यक्रम ल्याउन बाध्य भयौं’ कडरियाले भने । दुई वर्ष अगाडिबाट बिर्तामोडमा मौरीको कार्यक्रम पनि सुरु भइसकेको छ । नगरले मौरी किसानलाई कम्तिमा १० घार मौरी राख्न लगायो । मौरी किसानले तोरी भएको सिजनमा तोरी बारीमा र नभएको सिजनमा जङ्गलमा लगेर मौरी चराउने व्यवस्था मिलाएको छ ।

यती मात्र हैन, बिर्तामोडले धान र मकै जस्ता व्यापक रुपमा खेती हुने बालीहरुलाई ‘बाली बचाऊ’ कार्यक्रम अन्र्तगत समेटेको छ । नगरले किसानका बाली बचाउनलाई प्राविधिक सहयोग र औंषधीहरु निःशूल्क रुपमा उपलब्ध गराउने गरेको छ । यो कार्यक्रम बिगत तीन वर्ष यता सञ्चालनमा रहेको छ । यस्ता कार्यक्रमहरुले किसान र नगरपलिकामा सम्बन्ध पनि स्थापित गरेको छ ।

बिर्तामोडले सहरी क्षेत्रलाई पनि कौशी खेतीको कार्यक्रम माफ्र्त कृषिमा समेटेको छ । नगरले इच्छुकहरुलाई खोजेर कौशी खेती सम्बन्धी तालिमहरु उपलब्ध गराउँदै आएको छ । कोभिडदेखि कौशी खेतीमा मानिसहरुको आकर्षण बढेको शाखा प्रमुख कडरियाको भनाई छ ।

बिर्तामोडका जनप्रतिनिधिहरुको कृषि क्षेत्रको बिकासका लागि सकारात्मक रहेको शाखा प्रमुख कडरियाले जानकारी दिए । उनी भन्छन्, ‘जनप्रतिनिधिहरुले हामीलाई काम गर्न स्वायत्त छाडिदिनु भएको छ । कुनै पनि दबाब र हस्तक्षेप छैन । यसले गर्दा हामीलाई काम गर्न सहज भएको छ ।’ साथै बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाईंले नगरपालिकामा गरेको पहिलो निर्णय आगामी पाँच वर्षभित्रमा नगरको सम्पूर्ण खेती योग्य जमिन सिञ्चित गरिसक्ने गर्नुभएको छ । यसबाट पनि बिर्तामोडका जनप्रतिनिधहरु कृषि क्षेत्रको बिकासको निम्ति सकारात्मक रहेको सन्देश प्रबाह भएको छ ।

बिर्तामोड नगरले संघीय ऐनसँग नबाज्ने गरि कृषि ऐन पनि निर्माण गरिसकेको छ । जसले गर्दा काम गर्न थप सहज भएको शाखा प्रमुख कडरिया बताउँछन् । बिर्तामोडले कृषि क्षेत्रमा के गर्ने भनेर लक्ष्य स्पष्ट पारेको छ । जसले गर्दा बिर्तामोडमा अन्य पालिकाको तुलनामा कृषि क्षेत्रमा धेरै काम भएको पाइन्छ । बिर्तामोडले कृषि सम्बन्धी सम्पूर्ण काम किसानहरुको छलफलबाट मात्र गर्ने भएकाले चाँडै तरकारीमा आत्मनिर्भर बन्न देखिन्छ । देशैभर आर्थिक मन्दि हुँदा समेत बिर्तामोडले कृषिमा आफ्नो बजेट नघटाएको शाखा प्रमुख कडरियाले बताए । उनी भन्छन्, ‘मन्दीले बजेट बढेन । तर खस्केको पनि छैन । पोहोर हाम्रो बजेट करीब दुई करोडको थियो । अहिले पनि त्यती नै छ ।’

बिर्तामोड नगरका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले कृषि क्षेत्रको बिकासको निम्ति केही सुझावहरु दिएका छन् । उनी भन्छन्, ‘जग्गा वर्गीकरणलाई थप वैज्ञानीक बनाउनु पर्छ । कृषिका धेरै सामग्री भन्सारले नचिन्ने समस्या रहेको छ । यो समाधान हुनुपर्छ । कृषि कर्जा वास्तविक किसानको पहुँचमा पु¥याउन जरुरी छ । कृषिलाई अगाडि बढाउन नीतिगत व्यवस्थापन वैज्ञानिक हुनुपर्छ ।’

….

‘बिर्तामोड नगरपालिका किसानको पक्षमा छ’

लामो समय दुबही बसेर आएका बिर्तामोड– ७ निवासी प्रदिप खनाल हाल कृषि कर्ममा मै क्रियाशिल छन् । उनले २५ बिघा जमिन भाडामा लिएर कृषि कर्म गरिरहेका छन् ।

प्रदिप बिर्तामोड नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई धेरै सहयोग गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो नगरपालिकाले बिउबिजन, टनेल, मल, विषादी र प्राविधिक सहयोग गर्ने गरेको छ ।’, उनी भन्छन्, ‘नगरपालिकाले मेयर बिषादी पकेट कार्यक्रम सञ्चालन गरेको थियो । त्यसमा समावेश भएर तालिम लिए पश्चात कृषिमा आवद्ध भएको हुँ ।’

उनी कृषिबाट राम्रोसँग जीवन गुजरा हुने बताउँछन् । उनी भन्छन्, ‘दुई वर्ष दुबही बसे केहीनकेही भो । बर्खामा आम्दानी हुँदैन । तर कात्र्तिकदेखि जेठसम्म दैनिक २० हजारको व्यापार गर्छु ।’

कृषिमा त्यत्रो ठूलो खर्च नहुने उनले बताएका छन् । बिर्तामोड नगरपालिकासँग समन्वय गरेर खेती गर्ने हो भने बजारको पनि खासै समस्या नहुने रहेछ । साथै, कृषकहरुको हकहितको निम्ति र सुरक्षाको निम्ति नगरपालिका सदैव सकारात्मक रहेको उनले सुनाए ।

उनी युवाहरुलाई जागरुक भएर इच्छाशक्तिको साथ कृषिमा लाग्न सुझाव दिन्छन् । ‘विदेशभन्दा धेरै आम्दानी यहीँ हुन्छ । जग्गा बाँझो राखेर कोही पनि विदेश नजानु । लहलहैमा विदेश जानुभन्दा यहीँ बसेर कृषि गर्नु राम्रो हो । विदेशमा खर्चने पसिना स्वदेशमै खर्चिन सम्पूर्ण युवाहरुलाई आग्रह गर्दछु ।’

कृषिमा बजारको अलि समस्या रहेको उनको अनुभव छ । तर, अब चाँडै नगरले आफैं बजार खोल्न लागेकोले बजारको समस्या समाधान हुनेमा उनी आशावादी छन् ।

उनी कृषि क्षेत्रको बिकासको निम्ति सुझाव दिँदै भन्छन्, ‘पालिका र सरकारी निकायहरुले झोलामा हुने खेती र जमिनमा हुने खेतिलाई पहिचान गरिदिए राम्रो हुन्थ्यो । किसान भन्ने बित्तिकै फाटेको लुगा लगाउने जुत्रे भन्ने हाम्रो समाजको मानसिकता छ । साथै पुस्तकहरुमा पनि किसानको तस्बीर त्यस्तै देखाइएको हुन्छ । त्यो परिवर्तन गर्न जरुरी छ ।’

प्रस्तुति : गगन ढकाल

शेयर गर्नुहोस :

0
Shares