Banner news

‘पाँच वर्षभित्र कक्षा १२ सम्म निशुल्क गर्नेछौ’

‘पाँच वर्षभित्र कक्षा १२ सम्म निशुल्क गर्नेछौ’


बिर्तामोड सेरोफेरो
झापाको बिर्तामोड नगरपालिका आर्थिक वर्ष ०८१–८२ को बजेट तथा नीति कार्यक्रम निर्माणको तयारीमा जुटेको छ । जिल्लाको मुख्य बजारको रुपमा स्थापित बिर्तामोड नगरपालिका सामु अनेकौ चुनौतिहरुका बीच धेरै अवसरहरु छन् । नगरपालिकाले आवधिक योजना निर्माण गरेर नगरको संवृद्धि हासिल गर्ने लक्ष्य बनाएको छ । नगर समक्ष नगरबासीले उठाइरहेका विविध सवाल र हालसम्मका उपलब्धिहरुका सन्दर्भमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासँग इजलासका सम्पादक प्रदीप परियारले गरेको कुराकानी :

बुधबारे बजारको देवी हाट कहिले बन्छ ?
बिर्तामोड नगरपालिकाभित्र रहेको सार्वजनिक जग्गामध्येको देवीहाट हामीले अघिल्लो वर्ष खाली ग¥यौं । त्यो जग्गा खालीखाल्चा नगरी नगर विकास कोष (टिडिएफ) लगानी नगर्ने भएपछि हामीले त्यसलाई खाली गराएका हौं । त्यहाँ टिडिएफको ९० प्रतिशत लगानी र नगरपालिकाको १० प्रतिशतको लगानी गरेर हामीले करीव एक अर्बको प्रोजेक्ट त्यहाँ अगाडि बढाएका छौँ ।

त्यहाँ बहुतले व्यवसायिक भवन बन्दैछ । यस विषयमा हामीले पटकपटक छलफल गरेका छौँ । सम्बन्धित संस्थासँग बसेर लिखित रुपमा सहमति पनि भएका छन् । हामीले तीन तहमा देवीहाटमा डिपिआर निर्माण गर्दै छलफल गर्दैगर्दा विभिन्न कुराहरु आएका छन् ।

देवीहाटमा एकै चोटी जमिनको सबै भाग कभरेज गरेर बनाउने कि केही भागमा चाहिँ बनाएर बाँकी रहेको भागलाई ओपन स्पेस बनाउने भन्ने सन्दर्भमा हामीले पटकपटक छलफल गरेका छौँ । भवन कस्तो बनाउने भन्ने विषय मै प्लान बन्न नसेकाले गर्दा काम ढिलो भइरहेको छ । तर, यो विषयमा के बुझ्नु चाहिँ भएन भने नगरपालिकाले बजेटै छुटाएन । हामीले आफ्नो दायित्वको रकम अघिल्लै वर्ष राखेका छौँ ।

आउँदो भदौ–असोजबाट यो कामलाई अगाडि बढाउने विषयमा हामीले केन्द्रमा कुरा गरिरहेका छौँ । अब काम सुरु भइहाल्छ ।

बिर्तामोडमा महिनौदेखि सडकवत्ती बलेको छैन । किन मतलव नगर्नु भएको ?
स्थानीय सरकार बन्नुभन्दा पहिले बिर्तामोडको सडकवत्ती जडान भएको हो । सडकवत्तीमा ड्राई ब्याट्री हुँदो रहेछ । जसको आयु ४ वर्ष हुदो रहेछ । मतलव नगरेको होइन, सडकमा वत्ती नबलेपछि हामीले चासो दिएकै हो । तर, ब्याट्री फेर्नका लागि ठुलो खर्च हुने रहेछ । सुरुमा यसको आवश्यकता महसुस गरेर बिर्तामोडमा जडान भयो । त्यसैगरी अन्य पालिहरुमा पनि जडान भएको पयौं । सबै ठाउँमा व्याट्रीकै कारण बत्ती नबलेको भन्ने सूचना छ । ब्याट्री फेर्न ठुलो खर्च हुने भएपछि यसको विकल्पमा जान सकिन्छ कि भनेर केहि छलफलहरु गरेका छौं । बिर्तामोडको हकमा ब्याट्री फेर्नका लागि २९ लाख रुपैयाँ लाग्ने रहेछ । ब्याट्री फेर्नका लागि रकम पनि व्यवस्था गर्न सकिएन । किनभने, यहाँ जग्गा बर्गीकरणका कारण कर उठाउन सकिएन । जग्गा दर्ता, पास नभएपछि आन्तरिक आम्दानी भएन ।

पूर्वपश्चिम राजमार्गमा एसिएन हाइवेले आफ्नो योजना अनुसार गर्ने भएपछि दक्षिण तर्फ र उत्तर तर्फका वत्तीको व्यवस्थापन गर्नुपर्ने हाम्रो जिम्मेवारीमा छ । अब ब्याट्रीको विकल्पमा विद्युतीय वत्ती जडान गर्ने योजना छ । त्यसका लागि सोलार वत्तीकै पिल्लरहरुको प्रयोग गरेर आगामी आर्थिक वर्षबाट जडान गर्ने सोच छ । कतिपय ठाउँहरुमा सोलार वत्तीकै पनि व्यवस्थापन गर्नुपर्ने हुन सक्छ । नवीकरणीय उर्जाको बजेट पनि आइरहेको हुन्छ । जंगली हात्ती प्रवेश गर्ने ठाउँहरुमा सोलार वत्तीको आवश्यक पर्छ । पहिले सोलार जडान भएका ठाउँहरुमा आउँदा आ.वबाट विद्युतीय वत्तीहरुकै प्रयोग गरेर जाने व्यवस्थापन मिलाइनेछ ।

अस्वस्थ्यकर माछा प्रतिवन्धपछि के प्रतिफल मिल्यो ?
माइपूर्वका १० वटा स्थानीय तहको संयुक्त बैठक बसेर मरेका अस्वस्थ्यकर माछालाई प्रतिवन्ध लगाएका थियौं । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा कतिपय पालिकाहरुले काम गरिरहनु भएको अवस्था छ । खासगरी बिर्तामोड नगरपालिकाले अस्वस्थ्यकर माछा प्रतिवन्ध गर्ने सवालमा कडाई गरेकै हो । किनभने, नगरवासीको स्वास्थयप्रति स्थानीय सरकाले सतर्कता अपनाउन सक्छ । लामो दुरीबाट धेरै दिनपछि ल्याइने माछा खानयोग्य हुदैन । मिठो मानेर हुदैन, स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ । धेरैजसो मरेका अस्वस्थ्यकर माछा भारतबाट आयात हुने गरेको छ । २०, २२ दिनसम्म लगाएर बोरामा हालेर ल्याइएका अस्वस्थ्यकर माछालाई प्रतिवन्ध गर्दा नागरिकको तर्फबाट साथ पाएका छौं । भारतमा खान अयोग्य भएको माछा सस्तोमा भन्सार छलेर ल्याइन्छ । त्यसैले अस्वस्थ्यकर माछालाई बिर्तामाडमा कडाइ गरिएको छ । अवैध रुपमा ल्याइएको माछालाई नगर प्रहरी, स्थानीय सुराकीको आधारमा नियन्त्रण समेत गर्ने गरिएको छ ।

भन्सार गरेका माछा पनि महिनौदिनसम्म राखेर विक्री गर्ने गरेको पाएका छौं । अनुगमनका क्रममा त्यसरी प्रतिवन्धित माछा फेला परेमा खाल्डोमा पुर्ने समेत गरिएको छ । कतिपटक बेबारिसे माछा पनि भेटिएका छ । त्यसरी भेटिएका माछा पनि मुचुल्का उठाएर नष्ट गर्ने काम गरिएको छ । नियन्त्रणको सन्दर्भमा हामीले निर्णयलाई कार्यान्वयन गर्दै जानेर्छौ । माछा नियन्त्रणको लागि अन्य पालिकाहरुले पनि सहकार्य, समन्वय गर्न आवश्यक छ । त्यसका लागि छिट्टै संस्थागत रुपमा अघि बढ्ने योजना छ । अस्वस्थ्यकर माछा नियन्त्रणका लागि कानुनन नै बनाएर जाने पनि सोचिरहेका छौं ।

बिर्तामोडमा अघिल्लो वर्ष ११४ जनामा क्यान्सर रोग देखा परेको थियो । यो आर्थिक वर्षमा ६०-६५ जनामा क्यान्सर देखा परेको छ । क्यान्सर मात्र होइन, अस्वस्थ्यकर माछा नियन्त्रणले अन्य रोग पनि लाग्न दिने छैन । माछामा फर्मालिन मात्र होइन, सरकारले समेत थाहा नपाएका विषादीहरु माछामा प्रयोग भइरहेको छ । यसैले विषादीयुक्त माछा नियन्त्रणमा प्रदेश सरकार र केन्द्र सरकारले समेत ध्यान दिन आवश्यक छ ।

विषादीयुक्त माछा नियन्त्रण गर्न थालेपछि स्थानीय किसान पनि उत्पादनमा जोड दिइरहनु भएको छ । धेरै पोखरीहरुमा किसानले माछा पालनालाई व्यवसायिक बनाइरहनु भएको छ । त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गरिरहेको छ । किसानका हरेक पोखरीहरुमा माछा पालना भइरहेका छन् । आयात बन्द हुँदा बेलाबखत माछा अभाव पनि हुँदो रहेछ । स्थानीय व्यापारीले स्थानीय माछा खरिद गर्ने सम्झौता समेत भएको छ । व्यापारीहरुले ठुलो माछा, ठुलो टाउको भन्दा पनि नागरिकको स्वास्थ्यलाई ख्याल गर्न जरुरी छ । किसानलाई पनि स्थानीय सरकारले त्यसै गरी माछा उत्पादनमा आवश्यक सहयोग उपलब्ध गराउदै जानेछ ।

कर्मचारी नियुक्ती पारदर्शी छैन भन्ने आरोप छ नि ?
बिर्तामोड नगरपालिकाले हाल कर्मचारी नियुक्ति गरेको छैन । यहाँ अघिल्लै कार्यकालमा नगरपालिकाको आवश्यकता अनुरुप कर्मचारीहरु नियुक्त हुनुभएको छ । हामीले नगर अस्पतालमा मात्रै डाक्टर र प्राविधिक, नर्स, अहेब, अनमी र सहयोगी कर्मचारीहरु नियुक्ति गरेका छौँ । साथै नियुक्ति गर्ने तयारीमा पनि छौँ । हामीले नियुक्ति गर्दा सार्वजनिक रुपमा विज्ञापन गरेरै नियुक्ति गरेका छौँ । साथै नियुक्ति गर्नु पर्ने विषयको विज्ञ र कर्मचारीहरु सहितको समिति बनाएर निष्पक्ष परीक्षा गराएका छौँ । हामीले लिखित, मौखिक र प्राविधिक परीक्षा पछि मात्रै सर्वोउत्कृष्ट प्रतिष्पर्धीलाई नियुक्ति गर्ने गरेका छौँ ।

हामीलाई नगर प्रहरीको संख्या बढाउनु पर्ने आवश्यकता भएको छ । तर, हामीसँग नगर प्रहरीको संख्या बढाउने आवश्यक स्रोत नभएका कारण त्यो सकिरहेका छौनौं । हामीले स्रोतको व्यवस्था गर्नुपर्ने भएको छ । यसका साथै अन्य क्षेत्रहरुमा पनि कर्मचारी नियुक्ति गर्नुपर्ने भएको छ । हामी माथि कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी भएन भनेर लागेको आरोप मिथ्या हो । यदि कोही यसबारे अध्ययन गर्न चाहनुहुन्छ भने साँचो सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।

न्याय सम्पादनको अवस्था के छ ?
बिर्तामोड नगरपालिकामा मेरो नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति छ । हामीसँग उजुरी प्रशासक हुनुहुन्छ । हामीले न्यायिक समिति र नगरपालिकाका निम्ति कानूनी सल्लाहकारको पनि प्रबन्ध गरेका छौँ ।
विर्तामोडमा हाल जग्गाजमिन सम्बन्धी समस्याहरु अलिक बढि छन् । यसपछि धितो लिलामको मुद्दा पनि धेरै छ । एक व्यक्तिले निश्चित समयको भाका राखेर अर्को व्यक्तिसँग धितो राख्ने र त्यस्तो लिलामले समस्या उत्पन्न भएको छ । अहिले अन्य मुद्दाभन्दा आर्थिक लेनदेन, धितोलिलाम र जग्गाका मुद्दाहरु लामो समय लाग्ने र समस्या जटिल बन्दै जाने भइरहेको छ । समयमा मान्छे उपलब्ध नभईदिने र न्यायिक समितिलाई नागरिकहरुले अलिक हेप्ने पनि गर्नुभएको छ । यस अवस्थामा पनि हामीले काम गरिरहेका छौँ ।

उपप्रमुखको जिम्मेवारी धेरै हुने हुनाले समय व्यवस्थापन गर्न पनि गाह्रो हुने रहेछ । विहानदेखि साँझसम्म यस्तै कामहरु गरेर बेलुका योजनाहरु निर्माणको पनि काम भइरहेको छ । यसका साथै उपप्रमुखले सडक, पूर्वाधारदेखि लिएर पोल लाईटसम्मको अनुगमन गर्नुपर्ने हुन्छ । यस्ता तमाम जिम्मेवारीका कारण न्याय सम्पादनमा केही कमी कमजोरी भएको छ ।

यो आर्थिक वर्षमा हाम्रो न्यायिक समितिमा ८० वटा मुद्दा दर्ता भएका छन् भने एक सय १३ वटा मुद्दाहरु अघिल्लो आर्थिक वर्षकै सरेर आएका थिए । हामीले ३५ वटा मात्रै मुद्दाहरु फर्सौट गरेका छौँ । यसैगरी ७८ वटा मुद्दाहरु जटिल किसिमका भएकाले तिनलाई प्रक्रियामा राखिएको छ ।

अन्य दलहरुसँगको सहकार्य किन देखिन्न ?
बिर्तामोड नगरपालिकाले राजनीतिक दलहरुलाई अभिभावक ठानेको छ । नगरले आवश्यक मात्रामा दलहरुसँग छलफल गरी अविभावकीय भूमिकाको माग गरेको छ । हामीले व्यक्तिगत रुपमा दालहरुसँग सुझाव मागेका छौँ । हामीले दलहरु मात्रै हैन विभिन्न स्टेकहोल्डर, सरोकारवाला र नगर विकास चाहने आम सर्वसाधरण नागरिकहरुसँग पनि सुझाव माग्ने गरेका छौँ ।

हामीले आवश्क मात्रामा दलहरुसँग सहकार्य गरिरहेका छौँ । हामी सहकार्य गरेर विर्तामोग नगरको विकास गर्न चाहन्छौँ ।

बिर्तामोड नगरपालिकामा लागुऔषधको कारोवारी र प्रयोगकर्ता दुवै बढेको पाइएको छ । यो विषयमा सबैलाई जानकारी भएको स्थिति छ । यस विषयसँग सम्बन्धित रहेर हामीले वडास्तर र नगरस्तरबाटै विभिन्न जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरेका छौँ ।

विर्तामोडमा सुधारगृहहरुको पनि साझेदारीमा विभिन्न कार्यक्रमहरु भएका छन् । यसमा प्रहरी प्रशासनले पनि विर्तामोडमा त कारबाही गरिरहेको देखिन्छ । तर, खुल्ला नाका भएका कारण नाका छेउका पालिकाहरुबाट अलिकति ध्यान नपुको जस्तो देखिन्छ ।

विर्तामोडमा जनसंख्या बढ्दो दरमा रह्ेको छ । यहाँभित्रका भन्दा पनि बाहिरका नागरिकहरु व्यापार व्यवसाय गर्न आउनुहुन्छ । यहाँ भारतबाट पनि सोझै यतातिर आउन सकिने भएकाले पनि लागुऔषधको कारोबार बढेको हो कि भन्ने मेरो शंका छ ।

बोर्डर नजिक र खुला भएका कारण यहाँ फरक–फरक ढंगबाट लागु औषध भित्रिरहेको छ । यसलाई भित्राउन यतैको नागरिकहरुको पनि सहयोग रहने गरेको पाइएको छ ।

हामीले लागुऔषधको प्रयोग गर्नुहुँदैन भनेर सचेतना जगाउने कार्यक्रम नै प्रभावकारी हुने ठहर गरेर हाम्रा ७७ वटै विद्यालयहरुमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । हामीले यो क्षेत्रमा निरन्तर काम गर्नुपर्ने अवस्था आएको छ । हामीले यस क्षेत्रमा निरन्तर काम गरिरहेका छौँ र थप प्रभावकारी कार्यहरु हामी गर्ने छौँ ।

अन्त्यमा, तपाईको कार्यकालमा बिर्तामोड कस्ता बन्ने छ ?
हाम्रो नेतृत्व ०७९ बैंशाख ३० गते निर्वाचित भएर आएको हो । हाम्रो नेतृत्वले तेस्रो बजेट निर्माणको तयारी गरेको छ । २ वर्ष पुरा गरेर ३ वर्ष प्रवेश गरेका छौं । हामीले नगर बिकासका लागि बिर्तामोडमा आवधिक योजना निर्माण गरेका छौं । २ वर्ष, ३ वर्ष ४, वर्ष र ५ वर्षका लागि आवधिक योजना र १० वर्ष, १५ वर्ष र २० वर्षे गुरुयोजना बनाएका छौं । आवधिक योजना यहि कार्यकालमा पुरा गर्ने हो । हाम्रो विकासको योजना घोषणा पत्रमा समावेश गरिएको थियो । त्यो बेला गरिएको घोषणा पत्रमा उल्लेख भएका कार्यक्रमहरु पुरा गर्दै जानेछौं ।

१५ शैयाको अस्पताललाई २५ शैयाको बनाउदै गरेको अवस्था छ । कतिपय योजनाहरु महत्वकांक्षी जस्तो देखिएको थियो । तर, स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने धेरै फड्को मारेको अवस्था छ । पाँचवर्षभित्र स्वास्थ्य सेवा सुलभ तथा गुणस्तरलाई प्राइभेट भन्दा राम्रो बनाउन सफल हुनेछौं । उज्यालो शहर योजना अनुसार पालिकाको सबै वडामा विजली विस्तार गर्नेछौं । स्वच्छ खानेपानीलाई पाँच वर्षभित्र सकेसम्म हरेक परिवारमा पुराउने लक्ष्यका साथ काम गरिएको छ । त्यसका लागि बजेट व्यवस्था मिलाएर काम गरेका छौं । आगामी पाँच वर्षभित्र बहुतले व्यवसायिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं । निशुल्क स्वास्थ्य वीमा र कृषि योग्य जमिनमा सिचाँई पुराउने योजना अनुसार काम गर्दै आएका छौं ।

हालसम्म ८०७ किसानलाई मोटर उपलब्ध गराएका छौं । २४ सय विगा जमिनमा सिचाईको परिवन्ध गरिएको छ । अब, १५ सय विगा कृषियोग्य जमिनमा सिचाईको व्यवस्था मिलाउनेछौं । कृषि उत्पादकलाई सहयोग गर्दै जाने कार्यक्रम जारी रहनेछ । माछा मासुमा आत्मनिर्भर हुने गरि काम गरिएको छ । ३०० भन्दा धेरै आवास निर्माणको योजना छ । सबै पालिका जोड्ने कालोपत्रे निर्माण सम्पन्न हुनेछ ।

ड्रेन, प्लम निर्माणको काम यहि कार्यकालमा लगभग सम्पन्न हुनेछ । आर्थिक मन्दीका कारण लक्ष्य अनुसार सडक निर्माण सम्पन्न हुने अवस्था छैन । तथापि, ८० किलोमिटर सडक निर्माण सम्पन्न गर्नेछौं । मन्दीका कारण कालोपत्रे र पेवर्स लगाउने काममा पछि परिन्छ जस्तो छ । पाँच वर्षभित्र कक्षा १२ सम्म निशुल्क शिक्षाको अवधारणा ल्याएका छौं । विद्यालयहरुमा सेवा शुल्क उठाउने काम भइरहेको छ । कक्षा १२ सम्म निशुल्क गर्न अघि बढेका छौं । त्यसलाई पुरा गर्ने दायित्व तर्फ नगरपालिका लागिरहेको छ । विद्यालयहरुको पूर्वाधार निर्माणमा पनि उत्तिकै काम गरिरहेको अवस्था छ । अब, कक्षा १२ सम्म नसके कक्षा १० सम्म भएपनि निशुल्क गर्ने लक्ष्य छ ।

 

शेयर गर्नुहोस :

0
Shares