सम्पादकीय
दशैंको तयारीसँगै बजारमा चहलपहल सुरु भएको छ । जेनजी आन्दोलनपछि विस्तारै बजारले लय समाउदैछ । अब चाडबाडका लागि सक्रिय हुने समय यही हो । चाडवाडमा उपभोक्ताहरुको अधिकार सुनिश्ति गर्न प्रभावकारी अनुगमन गर्नुपर्छ । यो मौकामा केही व्यापारीहरूले नक्कली, म्याद नाघेका वा गुणस्तरहीन सामान बेचेर उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने गर्छन् । त्यस प्रकारका गतिविधिहरु लुकाउन हुदैन । उपभोक्ताले नै सार्वजनिक गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ । उपभोक्ता अधिकारका लागि स्थानीय सरकारले तुरुन्तै बजार अनुगमन गर्नुपर्छ ।
चाडबाडको बेला लत्ताकपडासँगै मिठाईमा रासायनिक रंग, मासुमा अस्वच्छ प्रशोधन, म्याद नाघेका खानेकुरा वा नक्कली ब्रान्डका सामान खुलेआम बिक्री हुन सक्छ । उपभोक्तामाथि यो ठुलो अन्याय हो । यस्तो खेलबाड केवल उपभोक्ताको स्वास्थ्यमाथि आक्रमण मात्र होइन, समाजकै विश्वासमाथि धक्का हो । त्यसैले, लापरबाही गर्ने व्यापारीलाई जरिवाना मात्र गरेर छोड्ने विगतको परम्परा अब बन्द हुनुपर्छ । उनीहरूलाई कानूनी कठघरामा उभ्याएर व्यवसाय सञ्चालनमै रोक लगाउने कदम चालिनुपर्छ ।
दशैंको नाममा हुने यस्तो ठगीलाई नियमन गर्न स्थानीय सरकारले प्रशासन समेतको सहयोगमा अनुगमन सुरु गर्नुपर्छ । अनुगमनलाई देखावटी अभ्यासमा सिमित राख्न हुदैन । देखावटी मात्रै गरियो भने यसको कुनै अर्थ रहँदैन । दोषी भेटिनेबित्तिकै कडा कारबाही र कानूनी सजाय हुनुपर्छ । उपभोक्ताहरूले पनि सजगता अपनाउनुपर्छ । म्याद, लेबल, गुणस्तर जाँच नगरी सामान किन्नु आफैंलाई जोखिममा पार्नु हो । तर मुख्य जिम्मेवारी भने राज्यकै हो । उपभोक्ताको स्वास्थ्य जोगाउने, बजार नियन्त्रण गर्ने र दोषीलाई सजाय दिने जिम्मेवारीबाट भाग्न मिल्दैन । लापरबाही गर्ने व्यापारी र बेखबर प्रशासनलाई उपभोक्ताले पनि यस तर्फ ध्यान केन्द्रित गर्न अपरिहार्य छ ।







प्रतिक्रिया