सम्पादकीय
भदौंको २३ र २४ गते भएको जेन जी आन्दोलनपछि देशभर युवा नेतृत्वको बहस चलिरहेको छ । सरकारदेखि राजनीतिक दलसम्म युवाहरुको नेतृत्व हुनुपर्ने आवाज उठिरहेको छ । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा जेनजी आन्दोलन भएको थियो । त्यो आन्दोलनले जनताबाट निर्वाचित सरकार हटाएर अन्तरिम सरकार बनाएको छ । जेनजीले सरकार बनाए पनि जेन जीहरु सरकारमा आएका छैनन् । जेन जीले सरकारमा मन्त्री बन्ने लोभ देखाएका छैनन् । जेन जीले अघि सारेका सुशासनका मागहरु पुरा गर्ने सवालमा यो सरकारले खुट्टा कमाउन हुदैन । आन्दोलनले एउटा परिवर्तनको सुरुवात गरेको छ । यसको मतलव, सबै निर्णयहरु आन्दोलनकारीहरुबाट हुनुपर्छ भन्ने होइन । देशको हितमा हुने निर्णयका लागि सबैबाट सल्लाह र सुझाव लिनैपर्छ ।
अब नेपालमा युवाहरुको नेतृत्व हुनुपर्छ भन्ने मान्यतामा विमति रहदैन । यसको मतलव, युवा उमेरले नेतृत्व गर्ने हो कि सोचले भन्ने प्रश्न पनि उब्जिएको छ । अबको परिवर्तनको मेरुदण्ड युवापुस्ता हो । यसलाई नकार्न सकिन्न । के सबै युवा पुस्ताहरु नेतृत्व गर्न लायक छन् ? त्यसैले उमेरसँगै सोच पनि युवा र समय सुहाउँदो चाहिन्छ । नेतृत्वका लागि कम्तिमा सामाजिक, राजनीतिक र अर्थशास्त्र बुझेको हुनुपर्छ । यसै बुढाहरुलाई हटाउनुपर्छ भन्नेहरु मात्र भएर पुग्दैन । याद गरौँ, नेतृत्व उमेरले होइन, सोचले हुन्छ । नयाँ विचार, नवीन दृष्टि र सकारात्मक कार्यशैली भएको युवाबाट मात्रै नेतृत्व संभव छ ।
सामाजिक एवम् राजनीतिक क्षेत्रमा मात्र होइन, सबै जसो क्षेत्रमा युवा सोचसहितको नेतृत्व चाहिन्छ । हामीले पुरानो पुस्ताका कमजोरीलाई प्रश्न गर्नैपर्छ । भ्रष्टाचार, निराशा र ढिलासुस्तीको बोझबाट नेपाली समाज उठ्न नसकेको सत्य हो । आवेश र उत्तेजनाबाट निर्णय गर्नेहरुबाट नेतृत्व अबका दिनमा संभव छैन । जसको सोच पुरानो छ, युवा भए पनि ऊ पुरानो हो । जसको सोच नयाँ छ, ऊ वृद्ध भए पनि युवा हो । युवापुस्ताले अब नेतृत्व लिने हो भने उनीहरूले केवल नारामा होइन, आचरणमा पनि सुधार ल्याउनुपर्छ । योग्यता, क्षमता हासिल गर्नुपर्छ । हिम्मत, इमानदारी, पारदर्शिता र देशलाई प्राथमिकता दिने संकल्प चाहिन्छ । नयाँ पुस्ताले विगतको अनुभवबाट सिकेर, भविष्यप्रतिको दृष्टि बोकेर, देशलाई नयाँ मार्गमा डोर्याउन स्पष्ट मार्गचित्र बोकेको बोकेको हुनुपर्छ । त्यस तर्फ ध्यान दिई नेतृत्वका लागि तयारी गरौं, तयार बनौं ।







प्रतिक्रिया