सम्पादकीय
झापाका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयहरुमा अहिले धमाधम निर्माणको काम चलिरहेको छ । सरसफाईसँगै निर्माणको काम भइरहेको सुरक्षा संरचनाहरु विस्तारै लयमा फर्किदैछन् । सामाजिक रुपमा सेवाको भावना भएकाहरु निर्माणका लागि सक्रिय भइरहेका छन् । जेन जी आन्दोलनमा घुसपैठ गर्ने अराजक समूहले यस प्रकारका कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए । सरकारी कार्यालय, पार्टी कार्यालयहरु र निजी घरहरुमा भएको तोडफोड जेन जीका नाममा अराजक समूहहरुले गरेका हुन् । जेन जीको आन्दोलन भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा थियो । तोडफोड र आगजनीमा उनीहरु संलग्न थिएनन् ।
भदौं २३ र २४ मा भएको आन्दोलनमा प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु विस्थापित हुन पुगे । कार्यालयहरु खरानीमा परिणत भयो । कानुनी राज्यको विरुद्धमा हुनेहरुले प्रहरी कार्यालयमाथि आक्रमण गरेका हुन् । जो पटक – पटक कानुनी कारबाहीमा परिरहेको छ, प्रहरीको निगरानीमा छ, त्यस्ताहरुले प्रहरीमाथि जाइलागे । जनताको सुरक्षामा क्रियाशिल प्रहरीमाथि भएको प्रहारले सुरक्षा जोखिम बढाएको छ । प्रहरीले अझै पनि आत्मबल बढाउन सकेको अवस्था छैन । प्रहरीहरु काममा फर्किने सहज परिस्थिति बनेको छैन । तथापि, उनीहरुलाई स्थापित गर्ने दायित्व यसै समाजको हो ।
तोडफोड र आगजनी गरिएको प्रहरी कार्यालयहरुको निर्माणमा सहयोग गर्नैपर्छ । सामाजिक रुपमा जिम्मेवार नागरिकले आफ्नो कर्तव्यको पनि पालना गर्नुपर्छ । एकका लागि एक अभियानले १० लाख रुपैयाँ सहयोग गरेको छ । यसरी सहयोग दिनेहरुको भावनालाई बुझेर निर्माणमा लाग्न अपरिहार्य छ । तर, यहि खरानीमा आफ्नो सस्तो लोकप्रियता खोज्नेहरुको पनि कम छैन । सरसफाईका लागि नयाँ कुनै संस्था चाहिदैन, नयाँ ड्रेस पनि चाहिदैन । नयाँ ड्रेस लगाउनुपर्ने, फोटो सेसन गर्नुपर्ने कुनै जरुरी छैन । अहिलको जरुरत भनेको प्रहरी कार्यालयको पुनस्थापना हो । प्रहरी कार्यालयको संरचना निर्माण हो । यस तर्फ कुनै पनि लोभलालच विना निर्माणमा लाग्नुपर्ने परिस्थितिलाई ध्यान दिनुपर्छ । तोडफोड र आगजनीमा संलग्नहरु निर्माणमा देखिए उनीहरुलाई कानुनी दायरामा ल्याउन सहयोग गरौं ।







प्रतिक्रिया