सम्पादकीय
अहिले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । यो वर्षको नारा नै ‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने छ । पछिल्लो समय प्रविधिको बढ्दो दुरुपयोगले हिंसा बढिरहेको छ । सामाजिक सञ्जाल र डिजिटल प्रविधिको तीव्र विस्तारसँगै हिंसा पनि बढिरहेको छ । प्रविधिका कारण नयाँ प्रकारका हिंसाजन्य जोखिमहरू पनि तीव्र रुपमा बढिरहेका छन् । विशेषगरी, महिलामाथि अनलाइन दुव्र्यवहार, अपमान, धम्की, चरित्र हत्या, निजी तस्वीरको दुरुपयोग तथा नक्कली सामाजिक सञ्जाल खाताबाट हुने आक्रमणहरूले लैंगिक हिंसालाई बढाउने काम गरिरहेको छ ।
प्रविधिको दुरुपयोग सम्हाल्न नसकिएको अवस्थामा छ । सहरी वा ग्रामीण, युवा वा वृद्ध कोही पनि यसबाट अछुतो छैनन् । सबैले प्रयोग गरिरहेका छन् । हिंसामा पनि परिरहेका छन् । अनलाइन हिंसाका वृद्धि भएका घटना कुनै एक जनाको मात्र समस्या होइन । यो समग्र समाजको सुरक्षा, मर्यादा र मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित मुद्दा हो । नक्कली आइडीको सहज उपलब्धता र दुरुपयोग, गोपनीयता संरक्षणबारे ज्ञान नहुनु तथा रिपोर्टिङ वा कानुनी प्रक्रियाबारे अपुरो जानकारीका कारण पीडितहरू अझै पनि मौन बस्न बाध्य छन् । प्रविधिको पहुँच बढ्यो, तर यसको जिम्मेवार र सुरक्षित प्रयोगबारे आवश्यक साक्षरता अझै पनि कमजोर छ ।
हिंसा न्यूनिकरणका लागि अब डिजिटल साक्षरतालाई शिक्षा, सार्वजनिक सचेतना र नीतिगत प्राथमिकतामा राख्नुपर्छ । विद्यालयदेखि समुदायसम्म साइबर सुरक्षा, तथ्य–जाँच, अनलाइन आचरण, गोपनीयता संरक्षण र जोखिम व्यवस्थापनबारे प्रशिक्षण अनिवार्य गर्नुपर्छ । त्यस्तै, नक्कली खाताहरू नियन्त्रण गर्ने प्रभावकारी प्रणाली, सजिलो र सुरक्षित उजुरी प्रक्रिया तथा कडा कानुनी कारबाहीले दुरुपयोगकर्ताहरूलाई रोक्न मद्दत पु¥याउनेछ । प्रविधि आफैंमा बेठिक होइन । दोष यसको गलत प्रयोगमा छ । जिम्मेवार प्रयोग, पर्याप्त साक्षरता र प्रभावकारी नियमनले मात्र अनलाइन हिंसाको चपेटाबाट समाजलाई सुरक्षित बनाउन सकिन्छ । अबको अभियानमा साक्षरतालाई प्राथमिकता दिऔं ।







प्रतिक्रिया