सम्पादकीय

आफ्नो सामाजिक सञ्जाललाई सुरक्षित बनाऔं

आफ्नो सामाजिक सञ्जाललाई सुरक्षित बनाऔं


सम्पादकीय

अहिले हरेक नागरिकको आवश्यकता बनेको सामाजिक सञ्जाल । सञ्जाल नहुने मान्छे विरलै भेट्न सकिन्छ । देश, दुनियाँ थाहा पाउनेदेखि मनोरञ्जनको माध्यम बनिरहेको छ, सामाजिक सञ्जालका माध्यमहरु । डिजिटल युगसँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । फेसबुक, म्यासेन्जर, वाट्सएप, इन्स्टाग्राम, ट्विटरजस्ता माध्यमले विश्वसँग जोडिदिएको छ । यसलाई प्रविधि युगको सुविधाका रुपमा लिन सकिन्छ । कयौं यस्ता माध्यमले मानवीय जीवनलाई सरल बनाएको छ । यसको सकारात्मक प्रयोग गर्न नसक्दा साह्रै समस्या पनि बन्दै गएको छ । प्रयोग गर्ने, सतर्कता नअपनाउने गर्दा समस्या भोग्नु परेको सयौं घटनाहरु छन् ।

सामाजिक सञ्जालले सुविधा दिएको छ । सुविधासँगै खतरा पनि बनिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जाल ह्याक हुने समस्या बढ्दो छ । ह्याक हुँदा गोप्य सामग्री चोरी हुने, फोटो भिडियो दुरुपयोग हुने गरेको छ । त्यसले आर्थिक ठगी बढ्नेजस्ता समस्या सामान्यजस्तै भएका छन् । यसले व्यक्तिगत मात्र होइन, सामाजिक सुरक्षा र मानसिक स्वास्थ्यसमेत जोखिममा पारेको छ । सुरक्षा ख्याल गर्न सर्वप्रथम सुरक्षित रुपमा सञ्जालको प्रयोग गर्नुपर्छ । सुरक्षाका सबै उपायहरु अपनाउन सक्नुपर्छ । बलियो पासवर्ड प्रयोग गर्ने, नियमित परिवर्तन गर्ने र एउटै पासवर्ड सबै सञ्जालमा नराख्ने गरियो भने सुरक्षित हुन्छ । अपरिचित लिंक, फाइल वा मेसेजमा क्लिक नगर्ने सतर्कता अपनाउन उत्तिकै आवश्यक छ । किनकि ह्याकिङ प्रायः यिनैबाट सुरु हुन्छ ।

सञ्जालमा राखिने सामग्री पनि सोचेर राख्नुपर्छ । अत्यधिक व्यक्तिगत फोटो भिडियो सार्वजनिक गर्ने प्रवृत्तिले आफूलाई नै जोखिममा पार्ने गर्छ । गोपनीयता सेटिङ नियमित जाँचिने र साथीको सूचीमा अपरिचित मान्छे नथपिने पक्षले सुरक्षा मजबुत बनाउँछ । सुरक्षा सजगता प्रविधिक अभ्यास मात्र होइन, जिम्मेवार व्यवहार पनि हो । यदि सञ्जालको दुरुपयोग वा ठगी देखिएमा तुरुन्तै रिपोर्ट गर्ने, प्रहरी वा साइबर सेलसँग सम्पर्क गर्ने गर्नुपर्छ । सामाजिक सञ्जालले अवसर नदिएको होइन । तर यसलाई सुरक्षित बनाउने जिम्मेवारी हाम्रै हो । सतर्कता, ज्ञान र सही प्रयोगका माध्यमबाट मात्र डिजिटल जीवन सुरक्षित रहन सक्छ । यसको प्रयोगमा ध्यान दिइएन भने ज्यानै असुक्षित हुन सक्छ । हिंसा बढ्न सक्छ । त्यसले यसको प्रयोगमा सबैले जिम्मेवार बन्नुपर्छ ।

शेयर गर्नुहोस :

27
Shares