विवेक केशरी प्रसाई
नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने चर्चा अहिले व्यापक रूपमा भइरहेको छ । यदि यो सत्य हो भने, मेरो चिन्ता कुनै एक व्यक्तिको नाम हटाइयो भन्ने होइन । मेरो चिन्ता त हामीले विकसित गर्दै गएको एउटा गलत राजनीतिक संस्कारप्रति हो ।
नेपालमा सरकार परिवर्तन हुनासाथ अघिल्लो सरकारका निर्णय, योजना, शिलालेख, नाम र पहिचान परिवर्तन गर्ने प्रवृत्ति बिस्तारै सामान्यजस्तै बन्दै गएको छ । नयाँ सरकार आएपछि नयाँ काम गर्नुको सट्टा पुरानाको नाम मेटाउने होड चल्ने गरेको देखिन्छ । यो प्रवृत्ति कुनै एउटा दल, नेता वा सरकारसँग मात्र जोडिएको छैन । विभिन्न समयमा विभिन्न पक्षले यही अभ्यास दोहोर्याएका छन् ।

हिजो राजसंस्था अन्त्य भएपछि राजा महेन्द्र, राजा वीरेन्द्र तथा राजसंस्थासँग जोडिएका धेरै सडक, भवन, संस्था र सार्वजनिक संरचनाका नाम परिवर्तन गरिए । आज गणतन्त्रका नेताहरूसँग जोडिएका नामहरू पनि विवादमा पर्न थालेका छन् । भोलि अर्को व्यवस्था आयो भने फेरि अर्को पुस्ताले आजका नामहरू परिवर्तन गर्न सक्छ । यदि यही चक्र चलिरह्यो भने अन्ततः हामी इतिहास लेख्ने होइन, इतिहास मेटाउने राष्ट्रका रूपमा चिनिनेछौँ ।
मेरो स्पष्ट धारणा छ – देशका लागि योगदान दिएका व्यक्तिहरूको नाम इतिहासमा रहनुपर्छ । उनीहरू राजा हुन् वा राष्ट्रपति, प्रधानमन्त्री हुन् वा स्थानीय जनप्रतिनिधि, कुनै दलका हुन् वा स्वतन्त्र, हामीले उनीहरूको विचारसँग सहमत हुनैपर्छ भन्ने छैन । तर उनीहरूले गरेका योगदान, उनीहरूले नेतृत्व गरेका योजना र उनीहरूको ऐतिहासिक भूमिकालाई इतिहासबाट हटाउने अधिकार कसैसँग हुनु हुँदैन ।
इतिहास कुनै सरकारको सम्पत्ति होइन । इतिहास कुनै राजनीतिक दलको निजी दस्तावेज पनि होइन । इतिहास सम्पूर्ण राष्ट्रको साझा सम्पत्ति हो । त्यसैले सरकार बदलिँदा इतिहास बदलिनु हुँदैन । नयाँ सरकारले आफ्नो योगदान थप्नुपर्छ, अघिल्लो पुस्ताको योगदान मेटाउनु हुँदैन ।
लोकतन्त्रको सुन्दरता प्रतिशोधमा होइन, सहिष्णुतामा हुन्छ । परिपक्व लोकतन्त्रले आफ्ना विरोधीको योगदानलाई पनि स्वीकार गर्न जान्दछ । जसले देशका लागि केही गरेको छ, उसलाई इतिहासमा उचित स्थान दिन सक्नु नै सभ्य समाजको परिचय हो ।
हामीले एउटा कुरा बुझ्नैपर्छ – नामपट्टिका परिवर्तन गरेर इतिहास परिवर्तन हुँदैन । शिलालेख हटाएर योगदान समाप्त हुँदैन । कुनै नेताको नाम मेटाउँदैमा उनले गरेका काम मेटिँदैनन् र कसैको नाम राख्दैमा इतिहास आफैँ महान् पनि बन्दैन । अन्तिम निर्णय समय र इतिहासले नै गर्छ ।
हामीले आफ्ना भावी पुस्तालाई टुक्राटुक्रा इतिहास होइन, सम्पूर्ण इतिहास हस्तान्तरण गर्नुपर्छ । उनीहरूले राजा महेन्द्रको योगदान पनि पढून्, राजा वीरेन्द्रको पनि, बी.पी. कोइरालाको पनि, गणेशमान सिंहको पनि, मदन भण्डारीको पनि, गिरिजाप्रसाद कोइरालाको पनि, केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल तथा देशका लागि योगदान दिएका अन्य सबै व्यक्तित्वहरूको भूमिका पनि जानून् । इतिहासले कसैलाई देवता बनाउनु पर्दैन, कसैलाई खलनायक पनि बनाउनु पर्दैन । इतिहासले केवल सत्य बोल्नुपर्छ ।
आज हामीले अरूको इतिहास मेटाउने संस्कारलाई स्वीकार गर्यौ भने भोलि हाम्रो इतिहास पनि सुरक्षित रहनेछ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले व्यक्ति होइन, सिद्धान्तको पक्षमा उभिनुपर्छ । सरकार होइन, इतिहासको पक्षमा उभिनुपर्छ ।
राष्ट्र बलियो तब बन्छ, जब उसले आफ्नो सम्पूर्ण इतिहासलाई सम्मान गर्न सिक्छ । इतिहास चयन गरेर होइन, समेटेर लेखिन्छ । इतिहास मेटाएर होइन, जोगाएर भविष्य निर्माण गरिन्छ ।







प्रतिक्रिया