Banner news

ज्ञानदिल दासलाई नियाल्दा

ज्ञानदिल दासलाई नियाल्दा


“यो रुम्जाटारको कोदोको पिठो निर्मलको दाउन,
धर्म र कर्म गुरुङले गर्‍यो छक्पर्यो बाहुन।”
— सन्त कवि ज्ञानदिल दास।

“सन्त ज्ञानदिल दास जो इलाममा जन्मेर सर्वत्र उदाए।”
— प्रा. डा. नोवलकिशोर राई

नेपाली साहित्य, अध्यात्म र सामाजिक चेतनाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका सन्त कवि ज्ञानदिल दास इलामको माटोबाट उदाएका बहुआयामिक व्यक्तित्व हुन्। जोसमनी सम्प्रदायका प्रमुख प्रचारकका रूपमा मात्रै होइन, साहित्यकार, चिन्तक र सामाजिक चेतनाका अभियन्ताका रूपमा समेत उनको योगदान स्मरणीय छ। प्रा. डा. नोवलकिशोर राईले भनेझैँ, सन्त ज्ञानदिल दास जो इलाममा जन्मेर सर्वत्र उदाए।’ उनको जीवन र कर्मले यो भनाइलाई सार्थक बनाउँछ।

लामिछाने वंशदेखि ज्ञानदिल दाससम्म

गर्गाचल पर्वत, जो गर्ग ऋषिको आश्रम थियो। जहाँबाट गर्ग ऋषिका सन्ततिहरू बसाइँ सर्दै-सर्दै अनुकूल स्थान भएतिर बसोबास गर्न थाले। यसै क्रममा केही गर्गगोत्री उपाध्याय ब्राह्मणहरू नेपालको पश्चिम जुम्लाको सिंजा उपत्यकामा आएर बसोबास गर्न थालेको बुझिन्छ। पछि बसाइँ सर्ने क्रममा दैलेखको दुल्लुमा आएर बसोबास गरेको पाइन्छ। सोह्रौँ शताब्दीतिर पं. कमलापति उपाध्याय ब्राह्मणका छोरा पं. मार्कण्डेय उपाध्याय ब्राह्मणले दैलेखको दुल्लुमा लामो छानो भएको घर बनाएर बसेछन्। छरछिमेकीहरूले पं. मार्कण्डेयलाई लामोछाने पण्डित भन्न थालेछन्। यसो भन्दाभन्दै लामिछाने थर हुन पुगेछ।

पं. मार्कण्डेय उपाध्याय लामिछाने (वि. सं. १५७५) का चार भाइ छोराहरू जेठा-दामोदर (दुल्लभसिद्ध, वि. सं. १६१०), माहिला-मणिकान्त (वि. सं. १६१३), साहिँला-विजयानन्द (वि. सं. १६१७) र कान्छा-अच्युतानन्द (वि. सं. १६२१) थिए रे। विलक्षण प्रतिभाका धनी दामोदर (दुल्लभसिद्ध) गोरखा दरबारमा राम शाहकालीन समयको प्रमुख सल्लाहकारका रूपमा रही राज्यमा सामाजिक सुधार, राज्य विस्तार र व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरी गोरखा तान्द्राङ कोटमा बिर्ता प्राप्त गरी बसोबास गर्दै आए।

विजयानन्द बागलुङको ओडारचौरतिर आई बसे भने मणिकान्त र अच्युतानन्दको बसोबास थाहा लाग्न सकिरहेको छैन।

उता गोरखातिरका दुल्लभसिद्धका नौ भाइ छोराहरूमध्ये जेठा विष्णुप्रसाद (वि. सं. १६४०) का छोरा बरपति (वि. सं. १६७०) थिए। बरपतिका छोराहरू वासुदेव (वि. सं. १७०५) र बैकुण्ठ (वि. सं. १७०९) धादिङतिर आएर बसोबास गर्न थाले। वासुदेवका छोरा जनकलाल (वि. सं. १७४५) धनकुटातिर बसाइँ सरे। धनकुटामा जनकलालका पाँच भाइ छोराहरूमध्ये जेठा-अभयनन्द तेह्रथुमको अर्चलेतिर बसाइँ सरे। माहिला-भानुभक्त भोजपुरको सिस्नेरी, साहिँला-लोचन धनकुटाकै भीरगाउँ, काहिँला-रचन धनकुटाको छुम्लिङ र कान्छा-शिवानन्द (वि. सं. १७९०) धनकुटाको कुरुलेतेनुपा हुँदै ८० वर्षको उमेर काटेपछि छोरा जयनन्दसहित चार भाइ नातिहरू-जयमंगल, बर्मलाल, शशिधर र भद्रलाल साथै सपरिवार वि. सं. १८७५ मा इलाम जिल्लाको आमचोकमा बसाइँ सरी आए। केही वर्षपछि वि. सं. १८७८ साल वैशाख २९ गते जयनन्द लामिछाने र बल्लभा लामिछानेको कोखबाट कान्छा छोरा श्रीकृष्ण लामिछानेको इलामको आमचोकमा जन्म भयो। उनै श्रीकृष्ण लामिछाने पछि सन्त कवि “ज्ञानदिल दास” नामले प्रख्यात भए।

बाल्यकालदेखि नै अध्यात्मतर्फ

श्रीकृष्ण लामिछाने सानै उमेरदेखि एकान्तमा बस्न रुचाउने गर्दथे। बाल्यकालमै उनी ध्यानमग्न अवस्थामा बस्ने गरेको बताइन्छ। केही समयपछि घरबाट कसैलाई थाहै नदिई हिँडेर आमचोकका गोरेढुंगा गुफा, ढाँडबारी गुफा र लुङ्सुङदाङको चित्रे गुफामा पुगेर ध्यानमा मग्न हुने र त्यही साधनाका क्रममा दिलैदेखि केही ज्ञान प्राप्त गरेको जनश्रुति छ। उनी यसरी एकान्तमा हराउन थालेपछि परिवारले समेत खोजी गर्नुपरेको बताइन्छ। पछि पाँचथर जिल्लाको नाङ्गिन भन्ने ठाउँमा श्रीकृष्ण लामिछानेले सन्त श्यामदिल दास (भगिरथ गुरुङ) बाट दीक्षित भई “ज्ञानदिल दास”को नामले जोसमनी सम्प्रदायको परम्परामा समाहित हुँदै सो सम्प्रदायको प्रमुख प्रचारक भएर पूर्वी नेपालका विभिन्न ठाउँहरूमा घुम्ने काम हुन थाल्यो। यसै क्रममा ओखलढुंगा, रूम्जाटार हुँदै घुम्दै-फिर्दै आफ्नै जन्मथलो आमचोक आइपुग्दा त्यहाँका मुखिया सेतु खत्रीबाट सन्त ज्ञानदिल दासलाई ‘साधुले समाज भाँड्यो’ भन्ने आरोप लगाइयो। इलाम जिल्लाका तत्कालीन बडाहाकिम गजराज थापाले पक्राउ गरी प्रधानमन्त्री जंगबहादुर राणाको हाजिरीमा जिम्मा लगाए।

सन्त कवि ज्ञानदिल दासको व्यक्तित्व र तर्कशक्तिको अघि जंगबहादुर राणा समेत नतमस्तक भए भन्ने भनाई छ। बिर्ता दिने, यतै बस भन्दा ‘म फकिरलाई केही चाहिँदैन’ भनेछन्। केही दरबारिया र रणोदद्वीप सिंह ज्ञानदिल दासका चेला बन्न पुगेछन्। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले सम्मानस्वरूप शान्तिको प्रतीक सेतो निशाना र प्रचारको प्रतीक नगरा उपहार दिएर बिदाइ गरिदिए।

त्यसपछि रूम्जाटार, ओखलढुंगा हुँदै आफ्नो जन्मथलो आमचोक हुँदै इलामको फिक्कल भएर भारतको दार्जिलिङ, सिक्किमतिर लागेको बुझिन्छ। सन्तकवि ज्ञानदिल दासको चर्चा सिक्किम, आसाम र बर्मासम्म पुग्यो। अन्तमा सिक्किममा आफैँले स्थापना गरेको गेलिङ धाममा वि. सं. १९४० साल कार्तिक २५ गते सन्त ज्ञानदिल दास परमधाम गमन हुनुभयो।

सन्तकवि ज्ञानदिल दासका जेठा दाजु जयमंगल (वि. सं. १८६५) का अन्तरे छोरा, जो पंक्तिकारका हजुरबुवा धनपति (वि. सं. १९३४) पुषको पारिलो घाम लाग्ने गरेको आँगनमा सुकुलमाथि बसेर हुक्काको तमाखु तान्दै छिमेकीहरूसँग गरिएको भलाकुसारी तत्कालीन कलिलो मस्तिष्कले जतिभ्यायो त्यति बुझ्यो। त्यो सम्झना पस्कने अनुमति मागें। हजुरबाको भनाइ पस्कँदैछु। सन्तकवि ज्ञानदिल दास फिरन्ते जीवनमा कहींकतै घुम्दै गर्दा कसैले ‘तेरो जात गयो’ भनिदियो । त्यसको प्रतिवादमा बाँसको कप्टेरोको राँको बनाएर दिउँसो १२ बजे राँकेजुलुस, ३०/३५ जना समर्थकसहित ‘मेरो जात गयो रे।’ राँको बालेर खोज्न हिँडेको भनेछन्। जातीयतामा आएको पाखण्डपनलाई उछित्तो काड्ने अभियान थियो त्यो। मानवीय मूल्य र मान्यताको सन्देश प्रवाहको अविचलित यात्राको सुरुआत भन्नु पर्दछ।

गोरखा दरबारका राजा रामशाहका पालामा गोरखा राज्य सबल, सक्षम र दर्बिलो बनाउन विलक्षण प्रतिभाका धनी ज्योतिष दुल्लभसिद्ध लामिछानेका सन्तति हाल इलामको आमचोक फाकफोकथुम–३, जोरधारा, लामिछाने गाउँमा छन्। त्यहाँ जन्मेका श्रीकृष्ण लामिछाने (ज्ञानदिल दास) जोसमनी सम्प्रदायको मुख्य प्रचारक मात्र होइन, इलाम जिल्लाको साहित्यिक फाँटको पहिलो स्रष्टा पनि हुनुहुन्थ्यो। वि. सं. १९३४ मा लिखित र बनारसबाट १९३९ मा प्रकाशित “उदय लहरी” बाट प्रस्ट हुन्छ। स्रष्टा, द्रष्टा र विचारकको रूपमा सन्त कवि ज्ञानदिल दास उदाए।

हाल फाकफोकथुम गाउँपालिका वडा नं. ३, आमचोकको जोरधारा लामिछाने गाउँमा गठित ज्ञानदिल दास प्रतिष्ठानले शिव मन्दिरसहित सन्त ज्ञानदिल दासको अर्धकदको सालिक निर्माण गरेको छ, जहाँ श्रीकृष्ण लामिछानेको जन्म भएको थियो। त्यहीँ ज्ञानदिल दास साहित्यिक सम्मेलन २०८० मूल समारोह समितिद्वारा आयोजित महोत्सवमा स्थानीय सरकारको संरक्षण पाएर ज्ञानदिल दास प्रतिष्ठानले व्यवस्थापन गरेको थियो। स्थानीय सरकारको विशेष पहलमा लब्धप्रतिष्ठित साहित्यकारहरू, जोसमनी भक्तजनहरू, भारतबाट दार्जिलिङ, सिक्किम, सिलिगुडीदेखि र पाँचथर र इलामका विभिन्न ठाउँदेखि आउनुहुने साहित्यप्रेमी, भक्तजन र विभिन्न संघसंस्थाका महानुभावहरूको उपस्थिति थियो। लामिछाने बन्धु समाज, नेपालको समेत उपस्थिति थियो।

आज पनि उत्तिकै सान्दर्भिक सन्देश

स्रष्टा, द्रष्टा र विचारकको रूपमा परिचित सन्त कवि ज्ञानदिल दास झ्याउरे, टुंना, साधुकढी, भजन र निर्गुण भक्ति धारा साहित्य, “उदय लहरी” जस्ता कीर्तिसहित शुद्ध सफा भोजन गर्ने, हत्या–हिंसा नगर्ने, चिन्तन–मनन गर्ने, निर्गुण भजन गर्ने र आचरणहरूलाई व्यवहारमा उतार्ने तथा जोसमनी सम्प्रदायको परम्परा र संस्कारअनुसार आचरणहरूलाई व्यवहारमा उतार्ने, चेतनामूलक सन्देश प्रवाह गरी परिष्कृत समाजको सिर्जना गर्न उत्प्रेरित गर्ने जस्ता कार्यहरूले नेपालमा मात्र नभएर दार्जिलिङ, सिक्किम, आसाम, भुटान र बर्मासम्म प्रख्याति कमाएका थिए। आफूले प्राप्त गरेको ज्ञान र चेतनालाई व्यवहारमा उतार्नु जोसमनी सम्प्रदायको आदर्श हो। सन्त कवि ज्ञानदिल दासको व्यावहारिक सन्देशले सामाजिक चेतनाको विकास गर्ने काम आज पनि उत्तिकै महत्वपूर्ण र व्यावहारिक छ।

शेयर गर्नुहोस :

81
Shares