Banner news

कनकाईमा मंसिर १२ देखि राधिका फाउण्डेशनको नवाह ज्ञान महायज्ञ हुने

कनकाईमा मंसिर १२ देखि राधिका फाउण्डेशनको नवाह ज्ञान महायज्ञ हुने


बिर्तामोड । अनाथ तथा असहाय बालबालिकाको शिक्षा, संरक्षण र निर्माणाधीन भवनलाई पूर्णता दिने उद्देश्यले झापाको कनकाई नगरपालिका–६ मनसापुरमा आगामी मंसिर १२ गतेदेखि श्रीमद् भागवत नवाह धनधान्याचल ज्ञान महायज्ञ आयोजना हुने भएको छ । राधिका फाउण्डेशनको आयोजना तथा कनकाई–६ वडा कार्यालयको संयोजनमा मंसिर २१ गतेसम्म महायज्ञ सञ्चालन हुन लागेको हो ।

आज मनसापुरमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनकी संस्थापक अध्यक्ष एवं प्रमुख कथावाचक भागवत मञ्जरी राधिका दासीले स्थानीय शान्तिराज प्रसाईंले प्रदान गरेको अढाई कठ्ठा जग्गामा निर्माणाधीन भवन पूरा गर्न महायज्ञ लगाउन लागिएको जानकारी दिइन् । हाल भाडाको घरमा बसेर सुरुङ्गास्थित पशुपति अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत १७ जना अनाथ तथा असहाय बालबालिकालाई आफ्नै सुरक्षित भवनमा राखेर गुणस्तरीय शिक्षा दिनु महायज्ञको मुख्य लक्ष्य रहेको उनले बताइन् ।

कार्यक्रम संयोजक एवं कनकाई–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीका अनुसार मंसिर १२ गते कलश शोभायात्राबाट सुरु हुने महायज्ञमा मंसिर १३ देखि २१ गतेसम्म राधिका दासीको प्रमुख वाचनमा कथा प्रवचन तथा प्रत्येक साँझ गंगा आरती हुनेछ । महायज्ञमा देश–विदेशका ख्यातिप्राप्त धार्मिक गुरु, सन्तमहन्त तथा कलाकारहरूको सहभागिता रहनेछ ।

महायज्ञ सम्पन्न गर्न २२ देखि २५ लाख रुपैयाँ खर्च हुने र करिब २ करोड रुपैयाँ सहयोग संकलन हुने आयोजकको अनुमान छ । साथै, फाउण्डेशनले बाह्रदशी गाउँपालिका–७ मा गुरुकुलीय पाठशाला, गौशाला, यज्ञशाला, धर्मशाला र औषधालयसहितको बृहत् परियोजनाको गुरुयोजनासमेत अघि बढाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आर्थिक अभाव र पारिवारिक असहजताका कारण शिक्षाबाट वञ्चित बालबालिकाको भविष्य निर्माण गर्ने यस पवित्र अभियानमा तन, मन र धनले सहयोग गर्न तथा व्यापक प्रचारप्रसार गरिदिन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन एवं सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu