Banner news

सुन किन्ने र बेच्नेलाई पहिचान गर्न राजस्व कार्यालयको आग्रह

सुन किन्ने र बेच्नेलाई पहिचान गर्न राजस्व कार्यालयको आग्रह


धुलाबारी । सुन किन्ने र बेच्नेलाई निगरानी राख्न सुन व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय झापाले सचेत गराएको छ ।

शुक्रबार धुलाबारीमा आन्तरिक राजस्व कार्यालय झापाले मेची उद्योग बाणिज्य संघको सहजीकरणमा राष्ट्रिय कर दिवसको अवसरमा सप्ताहाव्यापी करदाता शिक्षा कार्यक्रममा सुन व्यवसायी तथा उद्योगीहरूलाई सचेत गराइएको हो ।
आन्तरिक राजस्व कार्यालय झापाका कर अधिकृतद्वय गजाधर खतिवडा र मनोज न्यौपानेले मेचीनगरका सुन व्यवसायीलाई कुनै पनि शंकास्पद व्यक्ति सुन किन्न वा बिक्री गर्न आए पहिचान गर्न, परिचय पत्र लिन र राज्यलाई जानकारी गराउन अनुरोध गरेका छन् ।

सम्पत्ति सुदृढीकरण अन्तरगत उच्चस्तरीय व्यक्ति, राजनीतिज्ञ, कर्मचारी वा जो कोही छानविनमा परेका व्यक्ति शंकास्पद तरिकाले सुन किन्न वा बिक्री गर्न आउनेको पहिचान गरेर मात्र कारोवार गर्न कार्यालयले जोड दिएको छ ।

बहुमुल्य गरगहनामा सीप प्रवद्र्धन शुल्क अन्तरगत महिनाको २५ गतेभित्र विवरण बुझाउनु पर्ने, समयमा नबुझाए ०.०५ प्रतिशत वा १ हजार तथा बार्षिक २५ प्रतिशतले जरिवाना लाग्ने कार्यालयको भनाई छ । कार्यालयका अनुसार नेपाल ग्रे लिष्टमा रहेकोले कालो धनलाई सेतो पार्न खोज्नेहरूबाट सचेत नरहे भविष्यमा व्याल्कलिष्टमा पुगे आर्थिक बन्दी हुने र विदेशी सहयोग वा काहीं पनि कारोबार गर्न नसकिने अवस्था हुनेछ ।

करदाताहरूले समयमा नै कर तिरेर जरिवानाबाट जोगिन अनुरोध गरेको छ । मंसिर १ गतेदेखि सुरू राष्ट्रिय कर दिवस यही गते समापन हुँदैछ । झापामा ६९ हजार करदाता मध्ये उत्कृष्ट करदाता मेचीनगर रहेको कार्यालयको भनाई छ ।

कार्यक्रममा सुन व्यवसायीहरूले कार्यालयले सुन पसलेलाई हरेक कुरामा कडा गर्ने तर, व्यवसायीको पिरमार्का नबुझ्ने गरेको बताएका थिए । सुन व्यवसायीले राष्ट्रिय बैंकमार्फत सुन कारोवार गरिरहेका छन् । सुन व्यवसायीले राष्ट्रिय बैंकमार्फत नै ५०-१०० ग्राम वा आधा केजीसम्म सुन कारोवारलाई सहज गरिदिन राज्यलाई ध्यानाकर्षण गराएका छन् ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बाणिज्य उपाध्यक्ष सन्तोष खवासले र सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu