Banner news

बिर्तामोडमा अमला बेच्ने कालिकोटे भन्छन् – सानो पुँजीले पनि व्यापार र परिवार चल्छ

बिर्तामोडमा अमला बेच्ने कालिकोटे भन्छन् – सानो पुँजीले पनि व्यापार र परिवार चल्छ


बिर्तामोड । गरिबी र अभावले परदेश लागेका ताप्लेजुङ फुङलिङ आगेदिमका ४८ वर्षीय हर्क बहादुर कालिकोटे ६ वर्षको बसाईपछि स्वदेश फर्किए । स्वदेश फर्किएका कालिकोटेको दैनिकी अहिले झापा बिर्तामोडस्थित भद्रपुर रोडको सडक किनारमा बित्ने गरेको छ ।

रोजगारीको सिलसिलामा साउदी अरब बसेका कालिकोटे स्वदेश फर्किएपछि निरन्तर भद्रपुर रोडको किनारमा भेटिने गरेका छन् । हिमालयन मेडिकल नजिकै सानो बोरा ओच्छ्याएर अमलाको व्यापार गर्दै आएका कालिकोटेको दैनिकी ३ वर्षदेखि त्यहाँ बितिरहेको छ । अमलाको व्यापारमा वर्षौदेखि लागेका उनी सानो पुँजीबाट पनि परिवार चलाउन सकिने बताउँछन् ।

साउदी अरबमा कमाएको पैसाले बिर्तामोड –९ मा १ कठ्ठा जमिन खरिद गरेर बसेका उनी परिवारको दैनिकी चलाउन अमलाको व्यापार नै मुख्उ स्रोत भएको बताउँछन् । अमला, चारपाटे, होक्ने, अमिलोको व्यापार गरेर परिवार धान्ने कालिकोटेले ठुलो लगानीका लागि आफूसँग उपाय नभएको बताउँछन् । ठुलो व्यापार गर्न ठुलै लगानी चाहिने रहेछ, उनी भन्छन् – सानो पुँजीबाट सानै व्यापार गर्दैछु । परिवार चलेकै छ ।

ताप्लेजुङबाट परिवारसहित झापा झरेका उनले विक्रीका लागि आवश्यक पर्ने अमला ताप्लेजुङबाटै मगाउने गरेका छन् । गाडिले बिर्तामोड नै झारिदिन्छ, उनी भन्छन् – ताप्लेजुङबाट ल्याउन नसकेको दिन झापामै खोजी गर्ने गरेको छु ।
पहिलो पटक ३ वर्ष ५ महिना र दोस्रो पटक २ वर्ष ७ महिना साउदी बसेका उनले स्वदेशमै जिवनयापन चलाउने योजना बनाएर फर्किएका थिए । विदेश जानुअघि पनि ताप्लेजुङमा अमलाको व्यापार गर्ने कालिकोटे त्यहि पुरानो व्यापार बिर्तामोडमा सुरु गरे ।

४ सन्तान र श्रीमति कुमारीसहित झापामा झरेका कालिकोटेको ३ छोराछोरीको विवाह भइसकेको छ । कान्छा छोरा पढाई छोडेर ट्याक्टरमा काम गर्न थालेका छन् । श्रीमतिको हातखुट्टा बाउडिने समस्या छ, उनले भने – अब ठुलो खर्च गरेर व्यापार गर्न सक्दिन । सानै पुँजीले पुग्ने व्यापार गरिरहन्छु ।

एक सय र पचासका दुई खाले भाग बनाएर अमला बेच्दै आएका उनले दैनिक ४ देखि ५ सय रुपैयाँ फाइदा कमाउने गरेको सुनाए । ५ केजीसम्म अमला बेच्ने उनले सँगैमा चारपाटे, होक्ने, अमिलो विक्री गर्दै आएका छन् । विक्रीका लागि कतिपय उत्पादन झापाको गरामनी, सैनिकमोड र देउनियाबाट पनि संकलन गर्ने गरेको बताउँछन् ।
विदेशमा कमाएको पैसाले ताप्लेजुङमै उनले २८ रोपनी जमिन खरिद गरेको सुनाए । पहाडमा जमिन खरिद गरेर कृषि उत्पादन गर्ने सोच बनाएका उनले जंगली जनावरको दुखले बाँझो राख्न बाध्य भएको बताएका छन् । अहिले बारीमा ढेंडु र बाँदर मात्रै छ । अरु केहि गर्न सकिएन ।

शेयर गर्नुहोस :

216
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu