Banner news

‘देउमान थेबेलाई सभापति बनाउने सम्झौता छैन’

‘देउमान थेबेलाई सभापति बनाउने सम्झौता छैन’


बिर्तामोड । नेपाली काँग्रेस झापाको सभापति पद्का उम्मेद्वार राम कट्टेलको सचिवालयले कट्टेलको पक्षमा बहुसंख्यक कार्यकर्ता देखिन थाले पछि देउमान थेबे पक्षका नेताहरुले हुँदै नभएको सहमतिको भ्रम फैलाएको आरोप लगाएको छ ।

काँग्रेसको १३ औं महाधिवेशनका बेला देउमान थेबेलाई १४ औं महाधिवेशनमा सभापति बनाउने सहमति भएको भनेर थेबे पक्षका नेताहरुले यतिबेला प्रचार गर्न थाले पछि कट्टेलको सचिवालयले पत्रकार सम्मेलन नै गरेर त्यसको खण्डन गरेको हो । १३ औं महाधिवेशनताका गरिएको ९ बुंदे सहमति पत्र समेत सार्वजनिक गर्दै काँग्रेसका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले भने , ‘यो सहमति पत्रमा थेबेलाई भावी सभापति बनाउने कुरा कतै उल्लेख छैन र त्यस्तो कुनै मौखिक सहमति पनि त्यो बेला भएको छैन ।’
सहमतिमा ‘थेबेको राजनीतिक भुमिकालाई सम्बद्र्धन गर्ने’ उल्लेख भए बमोजिम पार्टीको भातृ संस्था समन्वय विभाग प्रमुख बनाएको र प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार समेत बनाएको सम्बाहाम्फेले स्पष्ट पारे ।

काँग्रेसका जिल्ला सदस्य तथा राम कट्टेल जिताऔं अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेतृ तथा संविधान सभा सदस्य उषा गुरुङले हुँदै नभएको सहमतिको हल्ला चलाएर कार्यकर्ताहरुलाई भ्रममा राख्न नहुने बताइन् । ‘वहाँहरुले भने जस्तो कुनै सहमति भएको छ भने त्यसको प्रमाण देखाउनु पर्यो नि’ गुरुङले भनिन् ।

महाधिवेशनको मिति नजिकिदैं जाँदा जिल्ला सभापतिमा कट्टेलको पक्षमा कार्यकर्ताहरु खुल्न थाले पछि पराजित मानसिकताले गलत हल्ला चलाएको काँग्रेस झापा क्षेत्र नं. १ का सभापति मणिकुमार उप्रेतीले बताए । ‘परिणाम राम कट्टेलको पक्षमा आउने देखे पछि गलत हल्ला चलाएको हो’ उप्रेतीले भने ‘काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा उधारो सम्झौता हुँदैन ।’ कट्टेललाई भोट हाल्ने क्षेत्रीय प्रतिनिधिहरुको संख्या धेरै भएको र त्यो सुसुप्त अवस्थामा रहेको उप्रेतीले दाबी गरे । जिल्लाका पदाधिकारीहरुको बहुमत संख्या कट्टेलको पक्षमा उभिएबाटै परिणाम कट्टेलको पक्षमा आउने निश्चित भएको काँग्रेस झापाका अर्का जिल्ला सचिव ताराबिर कटुवालले पत्रकार सम्मेलनमा बताए ।

राजनीतिक दलको अधिवेशनमा मन मिल्ने मान्छेहरु एकै ठाउँ बसेर समुह निर्माण गर्ने कुरा स्वभाविक भएको काँग्रेस झापाका प्रवक्ता तथा राम कट्टेल जिताऔं अभियानका सचिवालय सदस्य लोकराज ढकालले बताए । १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा सहमति हुन्छ भन्ने हल्ला चलिरहेको भन्ने पत्रकारको प्रश्नको उत्तर दिंदै ढकालले भने, ‘सहमति भयो भने राम कट्टेलकै नाममा सहमति हुन्छ ।’
१३ औं महाधिवेशनका लागि २०७२ फागुन २५ गते गरिएको ९ बुँदे लिखित सहमतिको सबै बुंदा पत्रकार सम्मेलनमा बाचन गरेर सुनाउँदै उक्त सहमतिमा कहिं कतै थेबेलाई भावि सभापति बनाउने भन्ने कुरा उल्लेख नभएको काँग्रेसका जिल्ला सदस्य तथा राम कट्टेल जिताऔं अभियानका सचिवालय सदस्य तेजप्रसाद चम्लागाईले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बोल्दै राम कट्टेल जिताऔं अभियानका सचिवालय संयोजक पौडेलले गलत हल्ला र भ्रममा नपरी राम कट्टेलका पक्षमा मतदान गर्न जिल्लाका सबै क्षेत्रिय प्रतिनिधि, वडा सभापति र पालिका सभापतिहरुलाई आव्हान गरेका छन् । ६ बर्ष अगाडी गरिएको ९ बुंदे सहमति पत्रमा काँग्रेसका नेताहरु विश्वप्रकाश शर्मा, गोपाल कुमार बस्नेत, डिल्ली सिटौला र सुधिरकुमार सिवाकोटीले हस्ताक्षर गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu